काठमाडौं । मेडिकल कलेजको व्यवस्थापन गर्नुपर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मेडिकल माफियाको अगाडि निकम्मा देखिएको छ । एमबीबीएस अध्ययनरत विद्यार्थीसँग बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाही गर्न नसकेर शिक्षा मन्त्री देवेन्द्र पौडेलले गृहमन्त्रीसँग गुहार मागेका छन् ।
संयुक्त विद्यार्थी संगठनका नेताको दबाबपछि उनले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा बढी शुल्क लिने मेडिकल कलेजका सञ्चालकलाई कारबाही गर्न गृह मन्त्री बालकृष्ण खाणसँग सहयोग मागेका छन् । गृहमन्त्रीसँगको टेलिफोन सम्पर्कमा मन्त्री पौडेलले भने, ‘म विद्यार्थीको पक्षमा छु राज्य निरीह भयो भन्ने छ भोलि नै कदम चाल्नुहोस् ।’
२०७५ मा बनेको चिकित्सा शिक्षा ऐनले विद्यार्थी ठगी गर्ने कलेजलाई कारबाही गर्ने अधिकार गृह मन्त्रालयलाई दिएको बताउँदै विद्यार्थीहरुले कलेज सञ्चालकले लिएको अतिरिक्त पैसाको प्रमाण गृह मन्त्रालय दिएको बताएका छन् ।

