२०८३, कार्तिक १२ गते बिहीबार

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान


  • मेरोभ्यूज
  • फाल्गुण १५, २०८२ शुक्रबार

  • मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान

     

    म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण भएको छ ।

    बेनी नगरपालिकाको सहयोगमा स्थानीयवासीले मङ्गलाघाट बजारको शीरमा रहेको सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका हुन् ।

    डोजर लगाएर सम्याइएको खेलमैदानको डिलतर्फ पर्खाल बनाएर फराकिलो पारिएको छ ।

    खेलमैदान निर्माण भएपछि बस्तीमाथिको पाखोबाट आउने बाढी रोकथामका साथै स्थानीय बालबालिका र युवा-युवतीलाई खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्न सहज भएको उपभोक्ता समितिका अध्यक्ष हिक्मत शेरचनले बताए ।

    “खेलमैदानको संरचनाले बराहपाखोबाट आउने बाढीलाई सिधै मङ्गलाघाटको बस्तीमा आउन रोकेको छ”, उनले भने, “खेलमैदान नहुँदा बालबालिका र युवा-युवती सडकमै खेल्दा हुने दुर्घटनाको जोखिम पनि घटेको छ ।”

    यो खेलमैदानमा भलिबल, बास्केटबल, ब्याडमिन्टन र तारोखेल सञ्चालन गर्न सकिन्छ । यसअघि खेलमैदान अभावमा बालबालिका सडकमै खेल्दा दुर्घटनाको जोखिम थियो ।

    चालु आर्थिक वर्षमा बेनी नगरपालिकाको रु. १३ लाख सहयोगमा उपभोक्ता समितिले बेनी–दरवाङ सडकदेखि खेलमैदान पुग्ने पैदलमार्ग, तारजाली, घेराबार र प्यारापिट बनाएका छन् ।

    यसअघिका वर्षमा पनि वार्षिक रु. एक लाख ५० हजारदेखि दुई लाखको हाराहारीमा बजेट विनियोजन गरेर खेलमैदान सम्याउने काम गरिँदै आएको थियो ।

    मङ्गलाघाटका दिपबहादुर शेरचन र निगम राजभण्डारीले मूल सडकदेखि खेलमैदान जाने बाटोमा पर्ने जग्गा उपलब्ध गराएको छ ।

    जिल्ला भलिबल सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँले मङ्गलाघाटको खेलमैदानलाई विशेष गरेर भलिबल खेल अभ्यासका लागि प्रयोग गर्न थालिएको बताए ।

    “खुलामञ्च खेलमैदानमा फुटबल र क्रिकेटसँगै विभिन्न सभा, समारोह, मेलामहोत्सव हुने हुँदा खेलकूद गतिविधि सञ्चालन गर्न वैकल्पिक ठाउँको खोजीमा थियौँ”, उनले भने, “बेनीमा भलिबलको छुट्टै खेलमैदान नहुँदासम्मका लागि अस्थायी र वैकल्पिक हिसाबले मङ्गलाघाटको खेलमैदान प्रयोग गर्न थालेका छौँ ।”


    प्रकाशित : शुक्रबार, फाल्गुण १५ २०८२१०:१०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार