२०८३, कार्तिक १३ गते शुक्रबार

मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण शुरु

मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण शुरु


  • मेरोभ्यूज
  • माघ २१, २०८२ बुधबार

  • मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण शुरु


    म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण शुरु भएको छ ।

    म्याग्दी र गुर्जाखोलाको दोभानमा धौलागिरि गाउँपालिका–४ का वडाध्यक्ष यामबहादुर घर्तीले पहुँचमार्ग निर्माण कार्यको शुरुवात गरेको हो । दोभानदेखि अर्चेको फेदीमा रहने बाँध निर्माणस्थलसम्म आठ किलोमिटर पहुँचमार्ग निर्माण गर्न थालिएको प्रवर्द्धक कम्पनी एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रचरले जनाएको छ ।

    प्रवर्द्धक कम्पनीका सम्पर्क व्यक्ति राम केसीले विद्युतगृहदेखि बाँध रहने स्थानसम्म पहुँचमार्ग पुर्याएपछि सिभिल ठेकेदारमार्फत बाँध, सुरुङ र विद्युतगृह निर्माण थालिने जानकारी दिए ।

    “पहुँचमार्ग निर्माणसँगै वित्तीय व्यवस्थापन, सिभिल र इलेक्ट्रोमेकानिकल ठेकेदार छनोटको कामलाई पनि समानान्तर हिसाबले अघि बढेको छ”, उनले भने, “सुरुङ निर्माणमा आवश्यक पर्ने विस्फोटक पदार्थ भण्डारण र सुरक्षाका लागि आयोजनास्थलमा नेपाली सेनाको पोष्ट राख्न आवश्यक पूर्वाधार निर्माण पनि शुरु गर्ने तयारी छ ।”

    अर्चेको फेदीमा बाँध, गुर्जा र म्याग्दी नदीको दोभानमा विद्युतगृह रहने आयोजनाको चार किलोमिटर सुरुङ रहनेछ । विद्युत् खरिद बिक्री सम्झौता भइसकेको आयोजनाले विद्युत् विकास विभागबाट जेनेरेशन अनुमतिपत्र पाइसकेको छ ।

    बाँध र विद्युतगृहको हेड तीन सय ३७ मिटर रहेको छ । यस आयोजनाको लागत प्रतिमेगावाट रु. १६ करोड अनुमान गरिएको केसीले जानकारी दिए ।

    रन अफ द रिभर (नदी प्रवाह)मा आधारित यस आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतमा निर्माण गरेको १३२ के.भी.ए. क्षमताको सबस्टेसनमार्फत केन्द्रीय प्रणालीमा आबद्ध गराइनेछ ।

    दोभानदेखि डाँडाखेतसम्म म्याग्दी र सहायक नदीमा निर्माणाधीन अन्य आयोजनासँग पनि साझेदारी गरेर आठ किलोमिटर लामो प्रशारण लाइन निर्माण गरिने भएको छ ।

    धौलागिरि गाउँपालिका–४ को भूगोल भएर बग्ने नदीहरूमा मुदीखोलाबाहेक ५३ दशमलव पाँच मेगावाट क्षमतको अपर म्याग्दी–१, ४६ दशमलव २५ मेगावाटको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणाधीन छन् ।

    पैँसठ्ठी मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले जेल्तुङदेखि दोभानमा रहने बाँध जोड्ने पहुँचमार्ग निर्माणको तयारी गरेको वडाध्यक्ष घर्तीले बताए ।


    प्रकाशित : बुधबार, माघ २१ २०८२०९:५९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार