भोजपुर । टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका दुई सय ३८ परिवारको पिउने पानी समस्या समाधान भएको छ ।
कादुरी एग्रिकल्चर एड एसोशिएसन ब्रिटिस गोर्खाजले निर्माण गरेको अन्नपूर्ण–वाख्राङ–बाहुनगाउँ खानेपानी आयोजनाले यहाँको वर्षौँदेखिको समस्याको अन्त्य भएको हो ।
छवटा मुहानको पानी सङ्कलन गरेर बस्तीभरिका घर-घरमा पुर्याइएको छ । आयोजनामा २६ हजार ९५ मिटर पाइप लाइन, १५ वटा सङ्कलन ट्याङ्की र नौवटा वितरण ट्यांकी निर्माण गरिएको जनाइएको छ ।
खानेपानी आयोजना सम्पन्न भएर घर-घरमा पानी आउन थालेपछि दैनिक जीवन सहज बनेको स्थानीय राजबहादुर राईले जानकारी दिए ।
आयोजनामा मूल्य अभिवृद्धि करसहित कुल रु. दुई करोड १२ लाख एक हजार दुई सय १२ लागत लागेको वडाध्यक्ष पूर्णप्रसाद राईले जानकारी दिए ।
आयोजनामा रु. ५२ लाख ६३ हजारबराबरको श्रमदान पनि गरिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले योजना सम्पन्न भएपछि यहाँका बासिन्दाको पुरानो समस्या अन्त्य भएको बताए । उनका अनुसार गाउँपालिकामा धेरै आवश्यकता भए पनि आन्तरिक स्रोत सीमित हुँदा सबै योजनालाई एकै पटक सम्बोधन गर्न कठिनाइ हुँदै आएको छ ।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतले स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि तथा सडक पूर्वाधारमा प्राथमिकता निर्धारण गरेर योजनाबद्धरूपमा काम भइरहेको बताए ।
भौगोलिक विकटताका कारण कतिपय ठाउँमा काम गर्न चुनौती रहेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

