२०८३, कार्तिक १३ गते शुक्रबार

युवालाई आत्मनिर्भर बनाउँदै ‘चखेल’

युवालाई आत्मनिर्भर बनाउँदै ‘चखेल’


  • मेरोभ्यूज
  • कार्तिक ३०, २०८२ आइतबार

  • युवालाई आत्मनिर्भर बनाउँदै ‘चखेल’

     

    मकवानपुर । विदेशमा पसिना बगाएर मात्र जीवन बदलिन्छ भन्ने भ्रमलाई चिर्दै मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–५ चखेलका किसानले बारीमा पसिना बगाए पनि भविष्य उज्यालो हुने देखाएका छन् ।

    यही बारीले गाउँका युवालाई इन्जिनियर, नर्स, कृषि विज्ञ, प्राविधिक र आत्मनिर्भर नागरिकमा रूपान्तरण गरिरहेको छ ।

    पहाडि भू-भागका खेतबारी बाँझिन थालेको नेपालमा चखेलले भने माटोसँगको आत्मीयता पुनर्जीवित गरेको छ ।

    काठमाडौं उपत्यकाबाट आधा घण्टाको दूरीमा अवस्थित यो सानो गाउँ बिहानैदेखि कोलाहलमय हुन्छ । कोही मूला उखेल्दै छन्, कोही काउली बोकेर बजार हिँड्दै त कोही बीउ छर्ने तयारी गर्दैछन् ।

    जम्मा ३६ परिवारको मात्र बसोबास रहेको उक्त गाउँमा हरेक घरको आँगनमा हरियो बोट-बिरुवा फस्टाएका छन् ।

    यहाँका बालबालिकाले खेतीको अर्थ पढाइसँगै बुझेका छन् । उनीहरूले पसिनाबाट शिक्षा र सम्मान सम्भव हुन्छ भन्ने बुझेका छन् । विद्यालय बिदाका दिन साना बालबालिका पनि बारीमा भेटिनुले यसलाई पुष्टी गरेको छ ।

    गाउँका किसानले गर्वका साथ भन्छन्, “हाम्रो बारीले कति ईन्जिनियर पढायो, नर्स बनायो, विज्ञान पढ्ने धेरै छन्, त्यसैले हाम्रो बारीले तरकारी होइन ईन्जिनियर फलाउँछ ।”

    यहाँका धेरैजसो घरका छोरा-छोरीले बारीको आम्दानीबाट प्राविधिक शिक्षा हासिल गरेका छन् ।

    उननतीस वर्षीय सिभिल ईन्जिनियर मिलन गुरुङ भन्छन्, “म काठमाडौंको कलेजमा पढ्थेँ, तर मेरो पढाइको शुल्क यही बारीको तरकारीले तिर्यो, अहिले जब म पुल र सडक डिजाइन गर्छु, म सोच्दछु-यो मेरो बारीको माटो र बुबा-आमाको पसिनाले सम्भव गराएको हो ।”

    गुरुङलाई यो बारी र माटोमा यति लगाब छ कि चाडपर्वमा घर आउँदा पनि उनलाई बारीमा काम गर्न मन पर्छ ।

    उनि थप्छन्, “हामीलाई यो बारीले आर्थिकरूपमा सक्षम बनाएको छ, त्यसैले म बिदा हुँदा घुम्नभन्दा पनि यहीँ माटोमा पसिना बगाउन घर आउने गर्छु ।”

    गुरुङका अनुसार यस वर्ष मूलाको मूल्य राम्रो भएकोले आम्दानी पनि मनग्य भएको छ । काठमाडौंबाट छोटो दूरीमा रहेको यो गाउँ प्राकृतिकरूपमा अत्यन्तै मनोरम भए पनि यहाँका स्थानीयलाई पर्यटन व्यवसायभन्दा खेती गर्नमै आनन्द मिल्छ ।

    उनको खेतबारी मात्र होइन, त्यो एउटा विद्यालय हो, जहाँ माटोले आत्मनिर्भरता सिकाउँछ र पसिनाले गर्वको अनुभव दिन्छ ।

    मिलन मात्र होइन, गाउँका अन्य युवा अहिले नर्सिङ, कृषि विज्ञान, सिभिल ईन्जिनियरिङ र कम्प्युटर प्राविधिकजस्ता विषय पढिरहेका छन् । कतिपय जागिरमा छन् ।

    यसै कारण गाउँमा बाहिरबाट आउनेले भन्छन्, “यो त साँच्चै ईन्जिनियर बनाउने बारी रहेछ ।” यही नामले गाउँको परिचयसमेत फेरिएको छ ।

    स्थानीय बुढापाका भन्छन्, “पहिले बारी बाँझो हुन्थ्यो, अहिले बारी हराभरा छ ।” उनान्साठ्ठी वर्षीया बुद्धिमाया तामाङ चखेलकी जीवन्त उदाहरण हुन् । श्रीमान् बेपत्ता भएपछि उनका लागि बाँच्ने आधार एक टुक्रा बारी मात्र थियो । पहिले मकै लगाउँथे, जसले वर्षभरि खान पनि पुग्दैनथ्यो । तर अहिले त्यो बारीमा गोलभेँडा, काँक्रो, बन्दा र सिमी लहलहाउँछ ।

    तामाङ भन्छिन्, “पहिले मकै बाली काटेर ज्याला गर्न जान्थेँ, अहिले तरकारी बेचेर महिनामा रु. ३०/४० हजार कमाउँछु, छोराछोरी पढाइ सकेर अब आफ्नै बलमा अघि बढिरहेका छन् ।”

    तामाङ विवाह गरेर आउँदा यो गाउँमा धेरै दुःख थियो । अन्नबालीले वर्ष नधान्ने कारण ज्याला मजदूरी गर्नुपर्ने बाध्यता थियो ।

    तर समयसँगै खेती गर्ने तरिका फरक भएको र जीवन पनि बदलिएको उनको भनाइ छ । सुत्केरी हुँदासमेत खान धौधौ परेको सम्झँदै उनि भन्छिन्, “हामीले नजानेर दुःख पाएका रहेछौँ, बाटो बन्यो । हामीले तरकारी रोप्न थाल्यौँ, अनि पसिना पनि त्यही बारीमा बगायौँ, अहिले दुःख बिमार हुँदा पनि रकम साथमा हुन्छ ।”

    बारीले उनको छोराछोरी पढाउन र घर धान्न सजिलो भएको छ । हाल उनका दुई छोरी र एक छोराले कक्षा १२ पास गरिसकेका छन् । श्रीमान् बेपत्ता भएर समस्यामा परेको उनको परिवारलाई तरकारीखेतीले सहज बनाएको छ ।

    काठमाडौं र हेटौँडासम्मको यातायात सहज हुँदा किसानले बिहानै तरकारी सङ्कलन गरेर बजार पठाउँछन् । उत्पादनको राम्रो मूल्य पाइँदा गाउँमा पूँजी पनि जम्मा हुनथालेको छ ।

    सिँचाइले ल्याएको हरियाली

    ईन्द्रसरोवर गाउँपालिका-५ का वडाध्यक्ष दुतराज तितुङ भन्छन्, “हामीले सिँचाइलाई प्राथमिकता दियौँ, सामूहिक ट्याङ्की र पाइप प्रणाली बनायौँ, किसानलाई प्रविधि सिकायौँ, अहिले गाउँमा उत्पादनमा दोब्बर वृद्धि भएको छ ।”

    स्थानीय सरकारको पहलमा सामूहिक सिँचाइ प्रणाली र प्रविधिमैत्री खेतीको अभ्यासले उत्पादनमा वृद्धि भएको अध्यक्ष तितुङले बताए ।

    साथै, काठमाडौं र हेटौँडा बजारसम्म सहज यातायात पुगेकोले किसानले आफ्नो उत्पादन सजिलै बिक्री गरेर मनग्य आम्दानी गरिरहेका छन् ।

    काठमाडौं उपत्यकाको सिमाना पार गरेपछि पुगिने यो ठाउँ पर्यटकका लागि गन्तव्य बनेको छ ।

    चखेल गाउँ अहिले ‘सफा गाउँ, हरियो बारी’ अभियानमा जोडिएको अध्यक्ष तितुङ बताउँछन् ।

    जैविक तरकारी उत्पादनका लागि रासायनिक मल र विषादीको प्रयोग घटाइएको उनले बताए । यसले गाउँको वातावरणीय सन्तुलन र स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको उनको भनाइ छ ।

    कृषि ज्ञान केन्द्रले चखेललाई ‘नमूना आधुनिक कृषि क्षेत्र’ बनाउने योजना अघि सारेको अध्यक्ष तितुङले बताए । उनका अनुसार यहाँका किसानलाई जैविक मल, किट व्यवस्थापन र बजार समन्वयसम्बन्धी तालिम दिइँदैछ ।

    पर्यटन र अध्ययनको केन्द्र बन्दै चखेल

    मकवानपुरको हरियालीबीच बसेको चखेल अहिले कृषि पर्यटनका लागि पनि आकर्षण बनिरहेको छ ।

    काठमाडौं-हेटौँडा जोड्ने चन्द्रागिरि डाँडाबाट यसलाई नियाल्न सकिन्छ । यहाँ आउने पर्यटक केवल दृश्य हेर्न मात्र होइन, खेती गर्ने अनुभव लिन पनि आउँछन् ।

    धेरै शैक्षिक संस्था अध्ययन भ्रमणका लागि चखेल पुग्छन् । विद्यार्थी खेतमा काम गर्दै सिक्छन् ।

    वि.सं. २०४० तिर शुरु भएको सरकारी कृषि विस्तार कार्यक्रमपछि यहाँको स्वरूप नै फेरिएको हो । किसानले सिँचाइ नहर बनाए, जैविक मल प्रयोग गर्न थाले र बारीलाई व्यवसायका रूपमा लिए ।

    त्यसपछि गाउँको मुहार फेर्न धेरै समय लागेन । अहिले गाउँमा एउटा साझा अभियान चलिरहेको छ ‘सफा गाउँ, हरियो बारी’ ।

    हरेक घर अगाडि हरियो झ्याली, रासायनिक मलको सट्टा जैविक मल, बारीमा घ्यूको बत्ती बालेर पूजा गर्ने चलन र सामूहिक सरसफाइ कार्यक्रमले चखेलको पहिचान नै बदलेको छ । वातावरणीय सन्तुलन राम्रो भएपछि गाउँमा चराचुरुङ्गी पनि फिर्ता आएका छन् ।

    ईन्द्रसरोवर-५ उत्तरी मकवानपुरको काठमाडौं सिमानामा पर्छ । यहाँ नेवार र तामाङ समुदायको बसोबास प्रमुख छ भने क्षेत्री, ब्राह्मण, मगरहरू पनि एकआपसमा मिलेर बसेका छन् । यहाँको भालेश्वर महादेव मन्दिर र गुप्तेश्वर गुफा चर्चित तीर्थस्थल तथा पर्यटकस्थल हुन् ।

    वि.सं. २०७३ को सर्वेक्षणअनुसार वडाको जनसङ्ख्या तीन हजार छ सय ९४ छ । स्थानीयको प्रमुख पेसा कृषि हो ।


    प्रकाशित : आइतबार, कार्तिक ३० २०८२११:५८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार