२०८३, कार्तिक १२ गते बिहीबार

व्यावसायिक मौरीपालनमा किसान

व्यावसायिक मौरीपालनमा किसान


  • मेरोभ्यूज
  • कार्तिक १३, २०८२ बिहीबार

  • व्यावसायिक मौरीपालनमा किसान

     

    भोजपुर । यहाँका किसान पछिल्लो समय व्यावसायिक मौरीपालनतर्फ आकर्षित भइरहेका छन् । एक पटक लगानी गरेर सामान्य हेरचाह मात्र गरे पुग्ने, लागत कम लाग्ने र बजारमा सजिलै माग हुने भएकोले मौरीपालन किसानको रोजाइको पेसा बन्दै गएको हो ।

    परम्परागत खेतीसँगै नयाँ सम्भावना खोजिरहेका किसानले अहिले मौरीपालनलाई आय-आर्जनको प्रमुख साधन बनाउन थालेका छन् ।

    टेम्केमैयुङ, पौवादुङमा, रामप्रसाद राई गाउँपालिकासँगै प्रायःयहाँ सबै स्थानीयतहका किसानहरुले मौरीपालन गर्दै आएका छन् ।

    रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठेमा मौरीपालनको विशेष सम्भावना देखिन्छ ।

    यहाँका अधिकांश किसान अहिले व्यावसायिक मौरीपालनमा संलग्न छन् । नजिकै प्रशस्त वनजङ्गल, फूल फुल्ने वातावरण र मौरीको लागि उपयुक्त मौसम भएकोले बाक्चाखा, भामला, छापगाउँलगायत स्थानीय व्यवसायिक मौरीपालनमा लागेका छन् ।

    स्थानीय सरकारको पहलले मौरीपालन अझै सहज बनेको छ । रामप्रसाद राई गाउँपालिका–६ का अध्यक्ष एकराज आचार्यका अनुसार किसानलाई आधुनिक मौरीपालनमा प्रोत्साहित गर्न दुई चरणमा तालिम दिइएको छ ।

    तालिममा सहभागीले आधुनिक मौरी घार बनाउने, मौरीको हेरचाह गर्ने, रोग व्यवस्थापन र मह संकलन गर्ने प्रविधि सिकेका छन् ।

    “विगतमा किसानले आ-आफ्नै तरिकाले मुढेघारमा मौरी पाल्दै आएका थिए”, वडाध्यक्ष आचार्यले भने, “अहिले हामीले उनीहरूलाई प्रविधिमैत्री मौरीपालनमा लैजाँदै छौँ । यसले किसानको आम्दानी बढाउन मद्दत गर्नेछ ।”

    स्थानीय किसान शरणकुमार वोहोरा व्यावसायिक मौरीपालनमा जुट्नु भएका उदाहरणीय पात्र हुन् ।

    उनले तालिम लिएपछि आधुनिक घार निर्माण शुरु गरेको छ । अहिले उनीसँग ३५ वटा मौरीघार छन् । “पहिले मुढेघारमै मौरी पाल्थेँ, उत्पादन पनि कम हुन्थ्यो, अहिले आधुनिक घारमा मौरी राख्दा उत्पादन बढी छ । मौरीले मेरो आयआर्जनमा परिवर्तन ल्याएको छ”, उनले भने ।

    गाउँपालिका अध्यक्ष थामबहादुर राईका अनुसार मौरीपालनलाई प्रोत्साहित गर्न नीति तथा कार्यक्रममा प्राथमिकतासहित समावेश गरिएको छ ।

    “मौरीपालनसहित कृषि व्यवसायलाई आत्मनिर्भर र व्यावसायिक बनाउन योजनाबद्ध रूपमा काम भइरहेको छ।” अध्यक्ष राईले भने, “किसानलाई आवश्यक प्राविधिक ज्ञान र उपकरण उपलब्ध गराइएका छौँ । यसले गाउँमा रोजगारी सिर्जना गर्नुका साथै गाउँको अर्थतन्त्रलाई सबल बनाउनेछ ।”

    वैदेशिक रोजगारीमा जाने विकल्पभन्दा गाउँमै बस्ने वातावरण मौरीपालनले बनाएको किसानहरू बताउँछन् । बजार विस्तार, गुणस्तरीय प्याकेजिङ र ब्राण्डिङ गर्न सके भोजपुरमा उत्पादित मह देशभरि मात्र नभइ विदेशमा पनि पुर्याउन सकिने सम्भावना रहेको मौरीपालक किसानको भनाइ छ ।


    प्रकाशित : बिहीबार , कार्तिक १३ २०८२०४:०२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार