झापा । मुलुकको होचो गाउँपालिकाका रूपमा रहेको कचनकवल-५ पाठामारीस्थित मेची नदीमा निर्मित झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । सङ्घीय सरकारको रु. चार करोड १२ लाख २९ हजार लागतमा बनेको उक्त पुलको लम्बाइ चार सय ४२ दशमलव ४० मिटर रहेको छ ।
कचनकवल-५ का वडाध्यक्ष नूर आलमले भारतीय सीमा नजिक बनेको झोलुङ्गे पुल सञ्चालनमा आएपछि दुवै मुलुकका पर्यटक घुम्न आउन थालेका बताउँदै पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको उल्लेख गरे ।
“मेची नदी पार गर्न दुवै मुलुकका नागरिकलाई अब सहज भएको छ”, उनले भने, “साथै नदीमाथि बनेको लामो झोलुङ्गे पुल पर्यटकीय आकर्षणको केन्द्र बन्न थालेको छ ।”
वि.सं. २०७३ मङ्सिर १७ गते नीलगिरि महावीर जेभीसँग निर्माणको सम्झौता भए पनि बजेट अभावले पुल सम्पन्न हुन समय लागेको हो । यसअघि यहाँ पुल नहुँदा स्थानीय बर्खायाममा दुई घण्टा पालो कुरेर काठको डुङ्गाबाट मेची नदी पार गर्दै आएका थिए ।
स्थानीय झट्टु हलुवाईंले मेचीमा पुल तरेर आवत-जावत गर्ने कचनकवलबासीको वर्षौंदेखिको चाहना अहिले पूरा भएको बताए ।
उनले भने, “सीमा क्षेत्रका बासिन्दाले अनेक कामका लागि एक देशबाट अर्को देशमा आउजाउ गर्नुपर्ने हुन्छ । मेचीमा पुल बनोस् भन्ने धेरै वर्षदेखिको चाहना थियो । बल्ल अहिले साकार भयो ।”
मेची नदीमाथि बनेको उक्त पुलको दुवैतर्फ नेपाली भू–भाग पर्दछ । मेची नदी पारी पुलको पूर्वी भागमा ३० बिघाभन्दा बढी क्षेत्रफल जग्गा नेपालको हो ।
भारततिर पाठामारी भन्ने बजार छ, भने पुलको पूर्वी भागलाई धोबीभिट्टा भन्ने गरिएको हलुवाईंले जानकारी दिए ।
चाडपर्व लक्षित गर्दै स्थानीयबासीलाई वारिपारी गर्न सहज होस् भनेर गत भदौ ३१ गते पुल सञ्चालनमा ल्याइएको वडाध्यक्ष आलमले बताए । पुलको दुवै किनारामा पहुँच मार्गको स्तरोन्नती गर्न बाँकी रहेको जनाउँदै उनले हाल पैदल र साइकल यात्रीलाई मात्र आवत-जावत गर्न दिइएको उल्लेख गरे ।
एक महिनापछि मोटरसाइकल ओहोर-दोहोर गर्न मिल्नेगरी पहुँच मार्गको स्तरोन्नती गरिने वडाध्यक्ष आलमले बताए । उनका अनुसार नेपालको होचो भू–भाग भएकोले कचनकवल क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बन्दै आएको छ ।
यहाँका पोखरी, गन्धर्व बस्तीसँगै झोलुङ्गे पुलको प्रचार-प्रसार गरी पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए ।

