२०८३, कार्तिक १२ गते बिहीबार

सिमान्तकृतलाई आयआर्जन कार्यक्रम

सिमान्तकृतलाई आयआर्जन कार्यक्रम


  • मेरोभ्यूज
  • आश्विन २५, २०८२ शनिबार

  • सिमान्तकृतलाई आयआर्जन कार्यक्रम

     

    गुल्मी । जिल्लामा सिमान्तकृत वर्गका लागि आयआर्जन कार्यक्रम सञ्चालन गरिएको छ ।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा चन्द्रकोट गाउँपालिका र सत्यवती गाउँपालिकामा दलित तथा सिमान्तकृत वर्गका नागरिकको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

    लुम्बिनी प्रदेश सरकारअन्तर्गत कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्रालयको सहयोगमा दलित तथा सिमान्तकृत वर्गका लागि रु. वीस लाख अनुदान रकम उपलब्ध गराइएको छ ।

    प्रदेश सरकारले सत्यवती र चन्द्रकोटमा लक्षित समुदायका परिवारको आयआर्जमा वृद्धि गर्दै उनीहरूको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रम सञ्चालन गरेको हो ।

    समुदाय विशेष आयआर्जन कार्यक्रमअन्तर्गत सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेक र चन्द्रकोट गाउँपालिका–७ स्थित बोटेगाउँमा आर्थिकरूपमा विपन्न समुदायलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख हुमनाथ पाण्डेले जानकारी दिएको छ ।

    उनले सत्यवती गाउँपालिकामा दलित समुदायका २२ घरपरिवारलाई रु. दस लाख र चन्द्रकोटमा सिमान्तकृत समुदायका लागि रु. दस लाख अनुदान उपलब्ध गराइसकेको बताए ।

    उक्त अनुदानबाट लक्षित वर्गका किसानले सत्यवतीमा २२ वटा उन्नत जातका मुर्रा भैँसीका पाडी र चन्द्रकोटमा वीस घरपरिवारले उन्नत जातका बाख्रापालन गरिरहेको सत्यवती गाउँपालिका–३ का वडाध्यक्ष जितबहादुर तरामु मगरले जानकारी दिए ।

    भेटेरिनरी कार्यालयबाट त्यस समुदायका किसानका लागि गोठ सुधार, औषधि उपचार एवं पशुपालनसम्बन्धी तालिम उपलब्ध गराउँदै आएको छ ।

    सिमान्तकृत वर्गअन्तर्गत बोटेमाझीका वीस घरलाई प्रतिपरिवार रु. ५० हजार र सत्यवतीमा दलित समुदायका २२ परिवारका लागि रु. ४५ हजारका दरले अनुदान उपलब्ध गराएको छ । उक्त अनुदान रकमले त्यहाँका समुदायले यतिबेला भैँसी र बाख्रापालन गरेर आयआर्जन गर्न थालेका छन् ।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट बाख्रापालनका लागि आधुनिक किसिमको खोर निर्माण, बीउबोका वितरण, घाँसका बिरुवा, जुकाको औषधि र भिटामिन उपलब्ध गराउनुका अतिरिक्त किसानलाई तालिमसमेत उपलब्ध गराएको छ ।

    सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले लक्षित वर्गलाई प्रमुख प्राथमिकतामा राखेर सञ्चालन गरेका यस्ता प्रकारका कार्यक्रमले दलित तथा सिमान्तकृत समुदायको आर्थिक अवस्था सुधारमा सहयोग पुग्ने बताए ।

    कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्तर्गत जिल्लामा पहिलो पटक उक्त कार्यक्रम सञ्चालन गरेको हो ।


    प्रकाशित : शनिबार, आश्विन २५ २०८२१०:२४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार