२०८३, कार्तिक १२ गते बिहीबार

नाङ्लो बिक्रीबाट मनग्य आम्दानी गर्दै ‘होम्ताङवासी’

नाङ्लो बिक्रीबाट मनग्य आम्दानी गर्दै ‘होम्ताङवासी’


  • मेरोभ्यूज
  • आश्विन २०, २०८२ सोमबार

  • नाङ्लो बिक्रीबाट मनग्य आम्दानी गर्दै ‘होम्ताङवासी’

     

    भोजपुर । हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । परम्परागत पुर्ख्यौली नाङ्लो बुन्ने पेसा होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै बनेको छ ।

    होम्ताङका अधिकांश स्थानीयले नाङ्लो बुन्दै आएका छन् । स्थानीयले बुनेर तयार गरेर नाङ्लो घरबाट नै ठेकेदारले लैजाने गरेका छन् ।

    अन्य समयको तुलनामा विषेशगरी नाङ्लो भदौ, असोज र कात्तिकमा सबैभन्दा बढी उत्पादन हुने गरेको छ । दसैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा तराईमा नाङ्लोको बढी माग हुने स्थानीयको भनाइ छ ।

    यो ठाउँका महिला, पुरुष दुवै पक्षले नाङ्लो बुन्ने गरेका छन् । नाङ्लो बुनेर घरखर्च चलाउने गरेको स्थानीय पूजा राईले बताइन् ।

    आफ्ना घरका सबै परिवार नै नाङ्लो बुन्ने गरेको उनी बताउँछिन । एक महिनामा एक सय ५० वटासम्म नाङ्लो बुन्ने गरेको उनले बताइन् । नाङ्लो बिक्रीबाट वार्षिक रु. दुईदेखि तीन लाखसम्म आम्दानी लिने गरेको उनको भनाइ छ ।

    बुनेको नाङ्लो घरबाट नै प्रतिगोटा रु. एक सय दसदेखि एक सय वीससम्म बिक्री हुने उनले बताइन् ।

    “नाङ्लो हाम्रो क्षेत्रको राम्रो आम्दानीको स्रोत हो, घरका सबै परिवारका सदस्य मिलेर नाङ्लो बुन्छौँ । नाङ्लो घरबाट नै बिक्री हुन्छ ।

    यसको बिक्रीबाट वार्षिक रु. दुईदेखि तीन लाखसम्म आम्दानी हुन्छ । हाम्रो क्षेत्रका प्रायः सबैले व्यावसायिकरूपमा नाङ्लो बुन्दै आएका छौँ”, उनले भनिन् ।

    हतुवागढी-६ होम्ताङको साविक-१ लङ्खाका करिब ७५ घर, साविक-२ विथाराका एक सय ६५ घर, साविक-३ लुम्बुवाका एक सय ३५ घर र हालको हतुवागढी-५ साविक-४ सोयागाउँका करिब ४० घर परिवारले व्यावसायिकरूपमा नाङ्लो बुन्दै आएको हतुवागढी–६ का स्थानीय नाङ्लो व्यवसायी राजेन्द्र राईले जानकारी दिए ।

    राईका अनुसार व्यापारीले भारतसँगै पश्चिम नेपालका विभिन्न ठाउँमा पठाउने गरेको उनको भनाइ छ ।

    होम्ताङका स्थानीयको राम्रो आम्दानीको स्रोतका रुपमा नाङ्लो बुन्ने व्यवसाय रहेको उनको भनाइ छ ।

    यहाँका अधिकांश स्थानीय यो पेसामा आबद्ध रहेकोले राज्यले प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको स्थानीय नाङ्लो व्यवसायी प्रकाश राईले बताए ।

    यसको थप विकास तथा विस्तार गरेर यसमा थप व्यावसायिकता ल्याउन आवश्यक रहेको उनको भनाइ छ ।

    “हाम्रो क्षेत्रका अधिकांश नागरिकले नाङ्लो बुन्ने गर्दछन्”, उनले भने, “यसबाट गाउँघरमा मनग्य पैसा पनि भित्रिँदै गरेको छ । यसलाई थप व्यावसायिकता दिनका लागि स्थानीय सरकारले ध्यान दिन आवश्यक छ ।”


    प्रकाशित : सोमबार, आश्विन २० २०८२०९:२१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार