बाँके । नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा तलाउबीच भागमा रहेको जुङ्गे महादेवको मन्दिर पनुःनिर्माण गरेको छ । मन्दिर पुन:निर्माण भएपछि यहाँ भक्तजनको चहल-पहल बढेको छ ।
साँघुरो र जीर्ण अवस्थामा रहेको जुङ्गे महादेवको मन्दिर र पुललाई नेपालगञ्ज उपमहानगरपालिकाले पुनःनिमाण गरेको हो ।
अहिले मन्दिरमा पूजाआजा गर्न आउने भक्तजनको सङ्ख्या बढ्दै गएको छ । यहाँ साँघुरो पुललाई फराकिलोसमेत बनाएको छ ।
अब फराकिलो पुल बनेका कारणसमेत दर्शन गर्न सजिलो भएको नेपालगञ्ज-२१ फुल्टेक्राकी सिर्जना थापाले बताइन् ।
उनले भनिन्, “पहिला पूजा गर्न लामो समय लाइन लाग्नु पर्थ्यो अब त्यो समस्या हटेको छ ।” पहिला साँघुरो र कमजोर भइसकेको पुल हुँदै मन्दिर पुग्नु पर्ने अवस्था थियो । अहिले धेरै भक्तजनले एकै पटक दर्शन गर्न पाएका छन् ।
अहिले बागेश्वरी मन्दिर आउने भक्तजनले जुङ्गे महादेवको समेत दर्शन गर्न थालेका बागेश्वरी मन्दिरका मूल महन्त चन्दननाथ योगीले जानकारी दिए ।
आकर्षक शैलीको जुङ्गे महादेवको मन्दिरमा अहिले भक्तजनको चहल-पहल बढेको उनको भनाइ छ ।
दर्शनार्थीलाई आउने र जाने गरी डोरी बाँधेर अलग-अलग बाटो बनाएको छ ।
बागेश्वरी मन्दिरमा दैनिक भक्तजनको घुइँचो लाग्छ । पहिला सीमित व्यक्तिलाई मात्रै जान दिएर जुङ्गे महादेवको पूर्जा गर्न दिने गरेका थिए ।
वि.सं. २०७८ साउनमा पुल जोखिमपूर्ण बनेको भन्दै मन्दिरको प्रवेशद्वारमा पूजाआजाको व्यवस्था मिलाइ महादेवको मूर्तिसम्म पुग्न रोक लगाएका थिए ।
भक्तजनको पुल पुन:निर्माण हुनुपर्ने मागलाई ध्यानमा राखेर २०७९ सालदेखि निर्माणको काम शुरु गरेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बताए ।
उनका अनुसार, करिव रु. एक करोड नौ लाखको लागतमा मन्दिर पुन:निर्माण गरेको हो ।

