२०८३, कार्तिक १२ गते बिहीबार

पाण्डवले चिनाएको पचभैयामा पर्यटक

पाण्डवले चिनाएको पचभैयामा पर्यटक


  • मेरोभ्यूज
  • आश्विन २०, २०८२ सोमबार

  • पाण्डवले चिनाएको पचभैयामा पर्यटक

     

    गण्डकी । सात तालको बगैँचा शहरका रुपमा चर्चा कमाएको लेखनाथमा अवस्थित बेगनास र रुपा तालका बीचमा अवस्थित रमणीय ठाउँ हो, पचभैया । प्राकृतिकरुपमा मात्र यसको महत्व नभइ धार्मिक र ऐतिहासिकरुपमा पनि उत्तिकै छ ।

    महाभारतकालीन समयमा पाण्डवले पचभैयामा एक रात बिताएको विश्वास छ ।

    गुप्तवासका क्रममा पाण्डवहरु यहाँस्थित पचभैया कोट देउराली क्षेत्रमा बास बसेको जनविश्वासका कारण यो धार्मिक हिसाबले महत्वपूर्ण रहेको पचभैया कोट देउराली संरक्षण तथा व्यवस्थापन समितिका पूर्वअध्यक्ष दिनानाथ ढकालले जानकारी दिए ।

    किंवदन्तीअनुसार गुप्तवासका क्रममा यही स्थानमा पाण्डवहरूले यहाँस्थित देउराली देवीको शक्ति प्राप्त गरेका थिए । सोही विश्वासकै कारण पचभैया कोट देउराली मन्दिरमा यस आसपासका दर्शनार्थीहरू अत्यन्त श्रद्धा विश्वासका साथ पूजाआजा गर्न आउने गरेको उनको भनाइ छ ।

    साढे दुई दशक अघिसम्म देउरालीको थानका रुपमा सामान्य ढुङ्गाको शिला मात्र रहेकोमा स्थानीयको सक्रियताका कारण यहाँ मन्दिर निर्माण गरिएको हो ।

    नजिकै रहेको कोट मन्दिरसमेतलाई समेट्दै यहाँको संरक्षण र विकास थालिएको हो ।

    मन्दिर निर्माणका लागि वि.सं. २०६० मा महायज्ञ गरी त्यहाँबाट सङ्कलित झण्डै रु. ५० लाखको सङ्कलन गरिएको थियो । मन्दिर परिसरमा हवनकुण्ड, पूजारी आवास र कार्यालय छन् । मन्दिरभित्र प्राचीनकालदेखि कै शिला राखिएको छ ।

    किंवदन्तीअनुसार पाण्डव एक वर्षे गुप्तवासका क्रममा हिमालयमा तपस्या गर्न पुगे । तपस्याबाट फर्कने क्रममा पचभैयामा एक रात बिताएछन् । त्यस क्रममा उनीहरूले देवीको आराधना गरेको र उक्त स्थानमा देवी उत्पति भइ उनीहरूलाई शक्ति प्रदान गरेको विश्वास छ ।

    पूर्वअध्यक्ष ढकालका अनुसार पाण्डव बसेको स्थान भएका कारण उक्त समयदेखि यस स्थानलाई पञ्चभैया भन्न थालियो । पछि अपभ्रंश हुँदै यस स्थानको नाम पचभैया हुन गएको हो ।

    यहाँबाट विश्वका आठ हजार मिटरभन्दा बढी उचाइका अन्नपूर्ण, धवलागिरी र मनास्लु हिम श्रृङ्खलालाई एक साथ अवलोकन गर्न सकिन्छ । यहाँबाट बेगनास र रुपा ताल पनि हेर्न सकिने होटेल तथा रेष्टुरेण्ट एशोसिएशन लेखनाथका पूर्वअध्यक्ष एवं सल्लाहकार दामोदरभक्त थापाले जानकारी दिए ।

    बेगनास तालदेखि करिब डेढ किलोमिटर दूरीमा पर्ने पचभैया क्षेत्रबाट देखिने रमणीय हिमाली दृश्यका साथै तालतलैयाले यहाँको पर्यटकीय महत्वलाई अझै बढाएको उनको भनाइ छ ।

    यहाँ पछिल्लो समयमा होटेल तथा रेष्टुरेण्टलगायतका पूर्वाधार निर्माण भइरहेको छ । हाल यस क्षेत्रमा १४ वटा घरवास (होमस्टे) सञ्चालनमा आइसकेका छन् भने केही होटल पनि छन् ।

    जल पर्यटनसहित पर्यापर्यटनको पनि उत्तिकै सम्भावना रहेको यसै क्षेत्रमा निर्मित पचभैया प्राणी उद्यान केन्द्र यहाँको अर्को आकर्षण हो ।

    बृहत पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रूपमा लेखनाथ क्षेत्रका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर निर्माण गरिएको प्राणी उद्यान केन्द्र पछिल्लो समयमा यहाँको पर्यटकीय गन्तव्यका रुपमा विकास भएको पचभैया प्राणी उद्यान केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दिनानाथ ढकालले जानकारी दिए ।

    गण्डकी प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालय कास्कीले हेर्ने गरी स्थानीयवासी, वन उपभोक्ता समितिका प्रतिनिधि र युनाइटेड क्लबका प्रतिनिधिसहितको सहभागितामा व्यवस्थापन समितिसमेत गठन गर्दै केन्द्र सञ्चालनमा ल्याइएको हो ।

    खुला चिडियाखानाको अवधारणासहित सञ्चालनमा आएको केन्द्र सर्वसाधारणका लागि खुला गरिएको छ ।

    केन्द्रमा आउने पर्यटकले चितुवा, निलगाई, रतुवा मृग, चित्तल, चरीबाग, वन बिरालो, स्याल, अजिङ्गर, सेता गिद्ध, लाटोकोसेरो, मयूर, कछुवा आदि गरी विभिन्न २२-२३ प्रजातिका वन्यजन्तु तथा पंक्षी अवलोकन गर्न पाउँछन् ।

    यस क्षेत्रमा चिडियाखाना स्थापना गर्ने सोच अनुरुप युनाइटेड क्लबले वि.सं. २०६७ देखि अभियान नै शुरु गरेको थियो । केन्द्र परिसर एवं रुपा ताल क्षेत्रमा चार सय ५० प्रजातिका जीवजन्तु तथा वनस्पति पाइन्छ । रुपा तालमा २४ प्रजातिका माछाका साथै विभिन्न ३६ प्रजातिका चरा पाइन्छन् ।

    स्थानीय सचेतना अभिवृद्धिका लागि यहाँ सञ्चालित सिड फाउण्डेशन नेपालमार्फत विभिन्न कार्यक्रम गर्दै आइएको संस्थापक अध्यक्ष दामोदरभक्त थापाको भनाइ छ ।

    पचभैया क्षेत्रको भौगोलिक अवस्थिति एवं यहाँबाट देखिने मनोरम दृश्यकै कारण यो पर्यटकीयरुपमा आकर्षक गन्तव्यका रुपमा विकास भइरहेको हिमालय फरेष्ट रिसोर्ट पचभैयाका सञ्चालक प्रमोद भण्डारीले जानकरी दिए ।


    प्रकाशित : सोमबार, आश्विन २० २०८२०७:३३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार