२०८३, कार्तिक १२ गते बिहीबार

पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै


  • मेरोभ्यूज
  • आश्विन १९, २०८२ आइतबार

  • पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

     

    बागलुङ । एकदशक अघिसम्म ढोरपाटनवासीले बजारबाट सामान ढुवानी गर्न र यात्रा गर्न घोडा खच्चडको प्रयोग गर्दथे । ढोरपाटनमा सडक विस्तार भएर मोटर गुड्न थालेपछि घोडा खच्चड कामविहीन भएका थिए ।

    कामविहीन भएपछि धेरैले घोडा खच्चड पाल्न छोडे भने पाल्दै आएका किसानलाई पनि बेच्न पाए हुन्थ्यो भन्ने लागेको बताउँछन् ।

    बेकामे बनेका घोडा खच्चड बिक्री नहुँदा चिन्तित भएका किसान पछिल्लो समय ढोरपाटनमा पर्यटक बढ्न थालेपछि घोडा व्यवसाय फस्टाउँदै छ ।

    ढोरपाटनमा आउने पर्यटकले घोडामा सवार गर्न, तस्बिर तथा भिडियो खिच्नका लागि घोडा सवार गर्न थालेपछि पहिले बिक्री गरेका किसानले अहिले धमाधम किन्न थालेका छन् । पहिले बेकामे बनेका घोडा अहिले आम्दानीको स्रोत बन्न थालेका व्यवसायीको भनाइ छ ।

    पर्यटकको चाप बढ्दै गएपछि अहिले घोडा व्यवसाय पनि फस्टाउन थालेको ढोरपाटन नगरपालिका-९ का खिमबहादुर विकले बताए ।

    उपत्यकाबाट बुकीपाटनसम्म जानआउन रु. चार हजारदेखि पाँच हजारसम्म लिने गरेको उनको भनाइ छ । घोडा चढेर चौरमा फोटो तथा भिडियो खिचेको रु. ५० देखि रु. एक सय ५० लिने जनाउँदै अहिले ढोरपाटनमा धेरैले घोडा किन्न थालेको उनले बताए ।

    “करिब १०-१५ वर्ष अगाडि ढोरपाटनमा घोडा खच्चड नहुने कोही थिएनन्, धेरैले सामान ढुवानी गरेर जीविकोपार्जन गर्थे, टाढा-टाढाबाट अप्ठ्यारो बाटोमा घोडा खच्चडले भारी बोकेर ल्याउने/पुर्याउने गर्थे”, उनले भने, “केही वर्ष घोडा खच्चड पाले पनि आम्दानी नभएपछि पाल्न छोडेका थिए । अहिले दुई-चार जना पर्यटक बोके पनि कमाइ हुन्छ ।”

    ढोरपाटन पुग्ने पर्यटकले उपत्यकासहित बुकीपाटन, निसेलढोर र जलजलासम्म घोडामा जाने गर्छन् । पहिले ढोरपाटनमा उत्पादन भएको आलु, स्याउ, सिमीलगायत वस्तु बजार पुर्याउने र बजारबाट अन्य खाद्यान्न ल्याउने घोडा खच्चडले अहिले पर्यटक बोक्न थालेको घोडा व्यवसायी धनराम विकले जानकारी दिए ।

    अहिले गाडीमार्फत सामान ढुवानी गरे पनि गाडी नपुग्ने स्थानमा घोडाको प्रयोग हुने विकको भनाइ छ । उनका अनुसार पहिले एउटै किसानले दुई दर्जन बढीसम्म घोडा पाल्ने गरे पनि अहिले भने कम पाल्न थालेका छन् ।

    व्यवसायीले घोडा चढाएबापत बढी शुल्क लिने गरेको गुनासो पनि आउने गरेको छ । घोडामा चढेर एक पटक फोटो खिच्दा रु. तीन सय तिर्नु परेको ढोरपाटन घुम्न आएका कुलदीप तामाङले बताए ।

    शुरुमा रु. एक सय भने पनि व्यवसायीले अन्तिममा रु. तीन सय मागेको उनको गुनासो छ । पर्यटकबाट बढी शुल्क असुल्ने व्यवसायीलाई कारबाही गर्नु पर्नेमा तामाङले जोड दिए ।

    ढोरपाटनमा पछिल्लो समय दैनिक दुई सय बढी पर्यटक पुग्ने गरेका छन् ।

    बर्खामा वनफूलसँग रमाउने र हिउँडमा हिउँ खेल्न ढोरपाटन आउने पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।

    ढोरपाटन शिकार आरक्ष कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा १५ हजार पाच सय ७३ पर्यटक ढोरपाटन पुगेकोमा आ.व. २०८१/०८२ मा पर्यटकको सङ्ख्या आठ हजारले बढेर २३ हजार छ सय ९२ पुगेको छ ।


    प्रकाशित : आइतबार, आश्विन १९ २०८२१०:०६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार