२०८३, कार्तिक १२ गते बिहीबार

च्याउ खेतीबाट वार्षिक रु. १५ लाख आम्दानी

च्याउ खेतीबाट वार्षिक रु. १५ लाख आम्दानी


  • मेरोभ्यूज
  • आश्विन १८, २०८२ शनिबार

  • च्याउ खेतीबाट वार्षिक रु. १५ लाख आम्दानी

     

    सुनसरी । वैदेशिक रोजगारीबाट फर्किएर च्याउ खेती शुरु गरेका बराहक्षेत्र नगरपालिका-११ मधुवनका रोशन गुप्ताले च्याउ खेतीबाट वार्षिक रु. १५ लाख आम्दानी गर्दै आएको छ ।

    वि.सं. २०७७ देखि व्यावसायिक च्याउ खेती शुरु गरेका उनले सबै खर्च कटाएर वार्षिक रु. १२ लाख बचत गर्दै आएको हो ।

    भाइ भरत गुप्तासँगको सहकार्यमा रु. ५० हजार लगानी गरी व्यावसायिक च्याउ खेती शुरु गरेको गुप्ताले जानकारी दिए ।

    सात वर्षसम्म वैदेशिक रोजगारीमा रहेर स्वदेश फर्किएका गुप्ताले विदेशमा कमाएको रकम लगानी गर्ने निर्णय गरेसँगै शुरुमा रु. ५० हजारबाट खेती शुरु गरेको बताए । अहिले लाखौँ रुपैयाँ लगानी भइसकेको उनको भनाइ छ ।

    गुप्ताले भने, “शुरुका वर्षहरूमा घाटा खेप्नुपरे पनि पछिल्लो समयमा प्रशस्त आम्दानी भइरहेको छ । सबै खर्च कटाएर वार्षिक रु. १२ लाखभन्दा बढी बचत हुने गरेको छ ।” उनका अनुसार अहिले पाँचवटा टनेलमा पाते जातको च्याउ खेती भइरहेको छ ।

    बजारमा अहिले प्रतिकिलो रु. एक सय ८० देखि रु. एक सय ९० र फार्ममा किन्न आउने व्यापारीलाई रु. एक सय ५० मा च्याउ बिक्री गरिरहेको गुप्ताले जानकारी दिए ।

    “गत वर्षको तुलनामा यस वर्ष खेती बढाएको छु । उत्पादन र मूल्य दुवैमा वृद्धि भएको छ”, उनले भने, “गत वर्ष यही समयमा प्रतिकिलो रु. एक सय २० मा बिक्री भएको च्याउ अहिले रु. एक सय ८० सम्म पुगेको छ । हिउँद याममा रु. दुई सय वीससम्म पुग्छ ।”

    विदेश गएर पसिना बगाउँदा आम्दानी भए पनि खर्च र परिश्रम बढी हुने गुप्ताको अनुभव छ । स्वदेशमा पसिना बगाउँदा आम्दानीसँगै सम्मान पनि पाइने उनले बताए ।

    च्याउ बिक्रीका लागि बजारको कमी नभएको बताउँदै गुप्ताले धरान, इटहरी, इनरुवा, दुहबी, गाईघाट, राजविराज, कल्याणपुरसहित बराहक्षेत्र, चतरा, स्थानीय बजार कालाबजारसम्म उत्पादन पुग्ने गरेको जानकारी दिए ।

    खेती विस्तारसँगै परिवारका सदस्यले काम पाएको भन्दै दुई जनालाई मासिक तलबमा र सात जनालाई दैनिक ज्यालादारीमा रोजगारी दिएको उनले उल्लेख गरे ।

    “व्यवसाय भएकोले घाटानाफा हुन्छ । तर कम जग्गामा पनि च्याउ खेती गर्न सकिन्छ, यसका लागि मेहनत र स्याहार आवश्यक पर्दछ”, गुप्ताले भने ।

    उनका अनुसार चैतमा लगाएको च्याउ वैशाख अन्तिमदेखि टिप्न योग्य हुन्छ भने वर्षमा करिब नौ महिना उत्पादन दिन्छ ।

    शुरुमा कृषिसम्बन्धी ज्ञान र प्रविधिको कमीले समस्या खेप्नुपरेको बताउँदै गुप्ताले अहिले अनुभव बढ्दै जाँदा उत्पादन र आम्दानी दुवै बढेको उल्लेख गरे ।

    “शुरुमा सबै परीक्षणजस्तो लाग्थ्यो, अहिले सिप विकाससँगै व्यावसायिक बन्दै गएपछि प्रशस्त सम्भावना देखिएको छ”, उनले भने ।

    च्याउ खेतीका लागि पराल, चून, बाँस, खर र प्लास्टिक आवश्यक पर्ने उनले बताए ।

    विषादी प्रयोग नहुने भएकोले यो स्वास्थ्यका लागि लाभदायी हुने भन्दै उनले ‘अर्ग्यानिक’ च्याउको माग निरन्तर बढ्दै गएको धारणा राखे ।

    उनका अनुसार च्याउ भदौ-असोजमा बढी बिक्री हुन्छ । गुप्ताले वि.सं. २०८० मा सुनसरी कृषि ज्ञान केन्द्रबाट रु. एक लाख, बराहक्षेत्र नगरपालिकाबाट गत वर्ष रु. ९० हजार अनुदान पाएको थियो । यस वर्ष नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा मिनिट्याक्टर पाएपछि खेती गर्न थप सहज भएको उनको भनाइ छ ।


    प्रकाशित : शनिबार, आश्विन १८ २०८२०९:३०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार