बागलुङ । सरकारले एक सय पर्यटकीय गन्तव्यमा समावेश गरेको बागलुङको गाजादहको मध्यभागमा सिद्धबराहको २३ फिट अग्लो पूर्णकदको मूर्ति निर्माण भएको छ ।
चार महिना लगाएर मूर्तिकार कृष्णबहादुर सुनारले उक्त मूर्ति बनाएको हो । मूर्ति तयारीमा रु. वीस लाख खर्च भएको छ ।
समुद्र सतहबाट दुई हजार पाच सय मिटरको उचाइमा रहेको बागलुङको जैमिनी नगरपालिका–३ स्थित रहेको गाजादह धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै सिद्धबराहको प्रचार-प्रसार गर्ने उद्देश्यले सिद्धबराहको मूर्ति स्थापना गरिएको वडाध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिए ।
भगवान् विष्णुका दश अवतारमध्येको तेस्रो मानिने बराह अवतार झल्कनेगरी मूर्ति निर्माण स्थापना गरिएको छ ।
जैमिनी नगरपालिका र स्थानीयको अगुवाइमा ताल संरक्षण, पूर्वाधार तथा सिद्धबराहको मन्दिर निर्माणलगायतका पूर्वाधार थपिएका छन् ।
गाजादहमा आयोजित ज्ञान महायज्ञमा सङ्कलन भएको रकमबाट मूर्ति निर्माण गरिएको हो । गाजादह २४ वर्ग मिटरमा फैलिएको छ । यो धार्मिक पर्यटकका निम्ति प्रमुख गन्तव्यका रूपमा विकास भइरहेको छ ।

