काठमाडौं । राज्यका तर्फबाट नवदुर्गाको पूजाआराधना गरिने हनुमानढोका दरबारको दसैँ घरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ ।
गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र त्यहाँबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले जानकारी दिए ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरू, नेपाली सेना गुर्जुको पल्टन, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहित लावालस्करका साथमा फूलपाती ल्याइएको हो ।
फूलपाती भित्र्याउने कार्यक्रममा शार्दूलजङ्ग गुल्म, गुरुजुको पल्टन, सशस्त्र प्रहरीको समूह, मङ्गल धुन गाउने मङ्गलिनी समूहको पनि सहभागिता रहेको उनले बताए ।
हनुमानढोका दरबारको नासलचोकमा पूजा, मूलचोकमा बलिसहित पूजा गरेपछि दसैँ घरमा फूलपाती भित्र्याइएको हो ।
फूलपाती भित्र्याउने क्रममा राजतन्त्रकालमा राज्यप्रमुख र गणतन्त्र स्थापनापछि सरकारका प्रतिनिधिको उपस्थिति रहने गरेको हनुमानढोका दरबार सङ्ंग्रहालय विकास समितिले जनाएको छ ।
यस वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, सहसचिव मुकेश डङ्गोल र पर्यटन विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मी सहभागी भएको छ ।

