२०८३, कार्तिक १२ गते बिहीबार

बसाइँ सराइले रित्तिदै गाउँ

बसाइँ सराइले रित्तिदै गाउँ


  • मेरोभ्यूज
  • आश्विन ८, २०८२ बुधबार

  • बसाइँ सराइले रित्तिदै गाउँ

     

    म्याग्दी । जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र बसाइँ सराइ गरेर जाने गरेका छन् ।

    स्थानीय तहका पञ्जीकरण शाखाको अभिलेखअनुसार जिल्लाभरका पालिकामा बसाइँ सराइ गरेर आउने परिवारको सङ्ख्या भने वार्षिक एक सयको हाराहारीमा छ ।

    बढ्दो बसाइँ सराइका कारण ग्रामीण क्षेत्रको सामाजिक, सांस्कृतिक, विकास गतिविधिमा असर पर्नुका साथै विद्यालयमा विद्यार्थी अभाव हुन थालेको छ ।

    आर्थिक वर्ष २०८१/०८२ मा म्याग्दीका स्थानीय तहमा ८९ परिवार बसाइँ सराइ गरेर आउँदा दुई सय ४७ परिवारले थातथलो छाडेर अन्यत्र गएका छन् ।

    आव २०८०/०८१ मा दुई सय ५२ परिवार बसाइँ सराइ गरेर जाँदा आउने परिवारको सङ्ख्या एक सय भएको स्थानीय तहको पञ्जीकरण शाखाको अभिलेखमा उल्लेख छ ।

    गत वर्ष बसाइँ सराइ गरेर आउनेहरूको परिवार सङ्ख्या बेनी नगरपालिकामा ४५, धवलागिरिमा तीन, मालिकामा आठ, मङ्गलामा १९, रघुगङ्गामा चार र अन्नपूर्णमा दस छ ।

    बेनीबाट ६५, धवलागिरिबाट २३, मालिकाबाट ३९, मङ्गलाबाट ५५, रघुगङ्गाबाट २१ र अन्नपूर्णबाट ४४ परिवारले बसाइँ सराइ गरेर अन्यत्र गएका छन् ।

    म्याग्दी बहुमुखी क्याम्पस समाजशास्त्र विषयका प्राध्यापक गोरखबहादुर जिसीले गण्डकी प्रदेशको म्याग्दी, स्याङ्जा र पर्वत जिल्लाको बसाइँ सराइ उल्टो रहेको बताए ।

    “गाउ-गाउँमा पुगेको सडक, विद्युत्, खानेपानी, सञ्चार सुविधाले मानिसलाई रोक्न सकेको छैन”, उनले भने, “रोजगारी र आयआर्जन अवसरको खोजीमा गाउँबाट शहर र सुविधा भएको ठाउँमा मानिस बसाइँ सराइ गर्ने क्रम बढेको हो ।”

    वि.सं. २०७८ मा भएको जनगणनाको नतिजाअनुसार म्याग्दीको २५ हजार तीन सय ७४ घरमा २९ हजार दुई सय ४२ परिवारका एक लाख सात हजार तीन सय ७२ जनसङ्ख्याको बसोबास छ ।

    वि.सं. २०६८ मा म्याग्दीको कुल जनसङ्ख्या एक लाख १३ हजार छ सय ४१ जना थियो । विशेषगरेर ग्रामीण क्षेत्रमा युवा उमेर समूहका उत्पादनशील जनशक्ति नहुँदा विवाहमा जन्ती, मृत्युमा मलामी जानेहरू प्रौढ र वृद्धहरू बढी देखिन थालेको धवलागिरि गाउँपालिका–४ का चित्र पुनले बताए ।

    “खेतीबाली लगाउन अर्मपर्म गर्ने चलन हरायो”, उनले भने, “खेतीयोग्य जमिन बाँझिएको छ । आयातित खाद्यान्नमा निर्भरता बढेको छ ।”

    जन्मदर कम भएको र गाउँमा भएकोले पनि आर्थिक हैसियत बढेपछि छोराछोरी पढाउन बजार झर्ने क्रमसँगै विद्यार्थी सङ्ख्या घटेको अन्नपूर्ण गाउँपालिका–७ को टिकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रदीप पुनले जानकारी दिए । कक्षा १० सम्म पठन-पाठन हुने उक्त विद्यालयमा करिब ५० जनामात्र विद्यार्थी छन् ।

    म्याग्दीबाट कास्कीको पोखरा, हेम्जा, काठमाडौँ, चितवन, बुटवल र तनहुँमा बसाइँ सराइ गरेर जाने गरेका छन् ।

    सम्पन्नहरूले बजारमा घर-घडेरी किनेर झरेका छन् भने विपन्नहरू काम र मामका लागि बजार झर्ने क्रम देखिएको प्राध्यापक जिसीले जानकारी दिए ।

    “शिक्षालाई उत्पादन र रोजगारीमा नजोड्ने हो भने म्याग्दीको जनसङ्ख्या घट्ने र बसाइँ सराइ बढ्ने दर अझै बढ्दै जानेछ”, उनले भने, “विकासलाई रोजगारी र सम्भावनालाई आयआर्जनसँग जोड्न आवश्यक छ ।”

    बेनी नगरपालिकाका प्रमुख सुरत केसीले विकास गाउँतिर केन्द्रित भएको समयमा त्यसको उपभोग गर्ने जनसङ्ख्या भने शहरबजार झर्ने र विदेशिने अवस्था चुनौती रहेको बताए ।

    विकास आयोजनामार्फत रोजगारी सृजना, कृषि र पर्यटनमा जोड दिएको उनले जानकारी दिए ।


    प्रकाशित : बुधबार, आश्विन ८ २०८२१०:३०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार