२०८३, कार्तिक १२ गते बिहीबार

आकर्षक पर्यटकीय गन्तव्य बन्दै खार्तम्छाको ‘छाँगे झरना’

आकर्षक पर्यटकीय गन्तव्य बन्दै खार्तम्छाको ‘छाँगे झरना’


  • मेरोभ्यूज
  • भाद्र २७, २०८२ शुक्रबार

  • आकर्षक पर्यटकीय गन्तव्य बन्दै खार्तम्छाको ‘छाँगे झरना’

     

    भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–३ खार्तम्छामा रहेको छाँगे झरनाको आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।

    एक सय ३९ मिटर उचाइ रहेको यो झरनाको संरक्षण गरिएसँगै पर्यटकीय गन्तव्यका रुपमा स्थापित भएको हो ।

    भोजपुरको सबैभन्दा अग्लो यो झरनाको षडानन्द नगरपालिका र कोशी प्रदेश सरकारको बजेटमा पदमार्ग निर्माणसँगै आवश्यक संरचना निर्माण गरिएको छ ।

    झरनाको संरक्षणसँगै यसको प्रचार-प्रसारमा जोड दिएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताए ।

    यो स्थानलाई एक स्थापित पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ विकासमा जोड दिएको उनको भनाइ छ ।

    “छाँगे झरनाको विकास तथा संरक्षणमा जुटेका छौँ” प्रमुख उदासले भने,“झरना हेर्न आउने पर्यटकलाई लक्षित गरेर बाटोसँगै आवश्यक संरचना निर्माण गरेका छौँ । यो झरना हाम्रो नगरको एक महत्वपूर्ण पर्यटकीयस्थल हो ।”

    यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर एकीकृत विकासमा जोड दिएको प्रमुख उदासले जानकारी दिए ।

    सतीघाटमा रहेको सती ढुङ्गाको संरक्षणबाट कुन्सालिङ डाँडा, हाँस पोखरी साउने डाँडाहुँदै, छाँगे झरना र त्यहाँबाट नेपाले डाँडाको ओमकार शक्ति पीठ, योगमायाको समाधीस्थल मजुवाबेँसीलाई समेटेर एकीकृत पर्यटकीय क्षेत्रको रुपमा वृहत्तर विकास गर्ने योजना रहेको प्रमुख उदासले जानकारी दिए ।

    यो झरना हेर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन् । देश तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन सके राम्रो आम्दानीको स्रोत बन्ने स्थानीयवासी सुरज बस्नेतले बताए ।

    झरना भएको स्थलमा खानेपानीको व्यवस्थासँगै बस्नका लागि फलैचासमेत निर्माण गरिएपछि पर्यटकलाई सहजता भएको उनले बताए ।

    “छाँगे झरनाको संरक्षण भएपछि पर्यटकको सङ्ख्या बढेको छ” बस्नेतले भने, “यसको उचित विकाससँगै देश-विदेशमा चिनाउन सकिएको छैन । यो झरना हाम्रो क्षेत्रको प्रकृतिको उपहार नै हो ।”

    माथिबाट झरेको पानीको फोहराले पर्यटकको मन लोभ्याउने गरेको छ । स्थानीयले यसलाई प्राकृतिको सुन्दर उपहारको रुपमा लिने गरेका छन् । यो स्थान पर्यटकीयसँगै धार्मिक क्षेत्र रहेकोले यसको विकासमा ध्यान दिनुपर्ने स्थानीयको माग छ ।

    ओझेलमा परेका यस्ता पर्यटकीयस्थलको महत्वलाई उजागर गर्न आवश्यक रहेको स्थानीय गणेश अधिकारीले बताए । राज्यले यस्ता ठाउँको पहिचान गरेर लगानी बढाउनुपर्ने स्थानीयबासीको भनाइ छ ।


    प्रकाशित : शुक्रबार, भाद्र २७ २०८२१०:४०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार