२०८३, कार्तिक १२ गते बिहीबार

अकाशे पानीको भर पर्नुपर्ने बाध्यताको अन्त्य

अकाशे पानीको भर पर्नुपर्ने बाध्यताको अन्त्य


  • मेरोभ्यूज
  • श्रावण २४, २०८२ शनिबार

  • अकाशे पानीको भर पर्नुपर्ने बाध्यताको अन्त्य

     

    भोजपुर । यहाँको अरुण गाउँपालिकामा निर्माणाधिन आठवटा सिँचाइ कुलोमध्ये चारवटा सम्पन्न भइ सञ्चालनमा आएपछि किसानलाई अकाशे पानीमा भर पर्नुपर्ने बाध्यता हटेको छ ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतमान जिमीका अनुसार अरुण गाउँपालिकामा साना सिँचाइ कार्यक्रममार्फत स्थानीय, प्रदेश, केन्द्र, स्वीस सरकार र स्थानीयवासीको जनसहभागितामा सिँचाइ कुलो निर्माण भएको छ ।

    “स्वीस सरकारको ३० प्रतिशत, स्थानीय, प्रदेश, केन्द्र सरकारको २०/२० प्रतिशत र स्थानीयको १० प्रतिशत जनश्रमदानसहित साझेदारीमा सिँचाइ कुलो निर्माण भएको छ”, उनले भने, “सिँचाइका माध्यमबाट कृषिमा प्रोत्साहन गर्ने हाम्रो लक्ष्य छ । सिँचाइको व्यवस्था भएपछि धान, मकैलगायतका बालीसँगै किसानलाई तरकारी तथा फलफूलखेतीमा लाग्न सहयोग पुग्ने छ ।”

    सबै सिँचाइ कुलोमा गाउँपालिकाको २० प्रतिशत लागत साझेदारी मात्र रु. ७१ लाख रकम विनियोजन भएको अधिकृत जिमीको भनाइ छ । यहाँ पक्की कुलो निर्माण भएपछि पानीको चुहावट हुने समस्याबाट किसानमुक्त हुनेछन् ।

    अरुण गाउँपालिका–७ मा हङ्ग्रायो खोला–बाह्रसिङ्गे सिँचाइ आयोजना सम्पन्न भएर सञ्चालन आएपछि किसानलाई राहत मिलेको वडाध्यक्ष कुमार थापाले बताए ।

    यसले यहाँ सुक्खा क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको उनी बताउँछन् । वडाले सुक्खा क्षेत्रमा पानी सञ्चित पोखरी निर्माण गरेर सिँचाइ कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    हङ्ग्रायो खोला–बाह्रसिङ्गे सिँचाइ आयोजना स्वीस सरकार, तीन तहका सरकार र जनश्रमदानसहित रु. २६ लाख ७० हजार लागतमा निर्माण सम्पन्न भएको वरिष्ठ प्राविधिक सुस्मिता लाप्चाले जानकारी दिए । यो सिँचाइ आयोजनाले यहाँका एक सय रोपनी क्षेत्रमा सिँचाइ सुविधा पुग्ने जनाएको छ ।

    यसै वर्ष वडा नं. ४ मा रु. २७ लाख ८५ हजार लागतमा मामालुङ माथिल्लो कुलो, वडा नं. ६ मा रु. १४ लाख पाँच हजार लागतमा कुताङ कुलो र वडा नं. २ मा रु. ९१ लाख १९ हजार लागतमा ज्यामिरे कुलो निर्माण सम्पन्न भएको उनले जानकारी दिए ।

    यहाँ प्रशस्त मात्रामा खेतीयोग्य जमिन भए पनि सिँचाइ अभावमा समस्या भएपछि सुक्खाग्रस्त क्षेत्रमा सिँचाइ कुलो निर्माणको काम अघि बढाएको अरुण गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले जानकारी दिए ।

    सिँचाइ व्यवस्थासँगै किसानलाई व्यावसायिक खेती प्रणालीमा लाग्न गाउँपालिकाले प्रोत्साहन कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ ।


    प्रकाशित : शनिबार, श्रावण २४ २०८२०७:३८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार