२०८३, कार्तिक १३ गते शुक्रबार

मध्यविन्दु प्रादेशिक अस्पताल स्तरोन्नती

मध्यविन्दु प्रादेशिक अस्पताल स्तरोन्नती


  • मेरोभ्यूज
  • श्रावण १५, २०८२ बिहीबार

  • मध्यविन्दु प्रादेशिक अस्पताल स्तरोन्नती

     

    नवलपरासी । बर्दघाट–सुस्तापूर्वको कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक सय शय्यामा स्तरोन्नती भएको छ ।

    जिल्ला अस्पतालका रूपमा १५ शय्याबाट सेवा सुरु गरेको अस्पताल गण्डकी प्रदेशको प्रादेशिक अस्पतालमा परिणत भएसँगै एक सय शय्यामा स्तरोन्नती भएको आयोजित एक पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेश आचार्यका अनुसार गण्डकी प्रदेशको मन्त्रिपरिषद् निर्णयबाट सय शय्यामा स्तरोन्नती भएको अस्पतालको दरबन्दी, जनशक्ति र पूर्वाधार गण्डकी प्रदेश सरकारबाट थप हुँदै जाने सहमति भएको छ ।

    अहिले अस्पतालमा ९९ जनाको दरबन्दी रहेको भन्दै आचार्यले आगामी चार वर्षभित्र एक सय शय्यालाई आवश्यक पर्ने दरबन्दी थप गर्दै लैजाने सहमति भएको बताए ।

    अस्पतालले सुरुवाती अवस्थामा २२ विशेषज्ञ चिकित्सक र १५ मेडिकल अधिकृतको दरबन्दी पुर्याउने गरी गण्डकी प्रदेश सरकारसँग सम्झौता गरेको भन्दै डा. आचार्यले सुरुवाती अवस्थामा अप्राविधिक जनशक्ति स्थानीय स्रोतसाधनबाट राखिने बताए ।

    अस्पतालमा अहिले फिजिसियन, नाक, कान, घाँटी, आँखालगायतका विभागमा चिकित्सकको दरबन्दी रहेको भन्दै केही दिनमा छालाका चिकित्सकको दरबन्दी कायम गराउने उनले जानकारी दिए ।

    अस्पतालमा आइसीयू तथा एनेस्थेसिया विभाग नभएको भन्दै यी सुविधा थप गरिएको अवस्थामा बिरामी भएर भरतपुर जानुपर्ने अवस्थाको अन्त्य हुने डा. आचार्यले बताए ।

    अस्पतालले तीनवटा अत्याधुनिक मोडुरल अपरेसन थिएटर निर्माण गरेको भए पनि विद्युत आपूर्तिमा समस्या भएका कारण सञ्चालनमा ल्याउन नसकिएको उनले जानकारी दिए ।

    पत्रकार सम्मेलन अस्पतालका व्यवस्थापन समिति अध्यक्ष बालकृष्ण घिमिरेले अस्पतालमा ट्रमा युनिट थप गर्ने तयारी भइरहेको बताए ।

    अस्पतालको नयाँ भवन निर्माणाधिन अवस्थामा रहेको भन्दै असार मसान्तसम्म भवन निर्माण सम्पन्न गरी नयाँ भवनबाट सबै सेवासुविधा प्रवाह गर्ने तयारी भइरहेको घिमिरेले जानकारी दिए ।

    अस्पतालले दुई सिफ्टमा डायलायसिस सेवा प्रदान गरिरहेको भन्दै एक सिफ्ट थप गरेर बिरामीलाई सहजरूपमा डायलायसिस सेवा प्रदान गर्नेगरी काम अगाडि बढिरहेको अध्यक्ष घिमिरेको भनाइ छ ।

    अस्पताल सञ्चालनमा रहेको ठाउँको जमिन वनको नाममा रहेको भन्दै उनले त्यस जग्गालाई अस्पतालको नाममा ल्याउनेगरी काम भइरहेको सुनाए ।

    वन मन्त्रालयमा गएर फाइल रोकिएको भन्दै अस्पताल फैलिएको दस दशमलव ५९ हेक्टर क्षेत्रफलमध्ये सुरुमा दुई दशमलव दुई हेक्टर क्षेत्रफल अस्पतालका नाममा ल्याउने गरी काम भइरहेको अध्यक्ष घिमिरले जानकारी दिए ।

    अस्पतालको दीर्घकालीन योजना सुनाउँदै घिमिरेले आफ्नै रक्त सञ्चार केन्द्र, पालिकामा स्वास्थ्य शिविर, शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।


    प्रकाशित : बिहीबार , श्रावण १५ २०८२०९:३८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार