भोजपुर । ‘ग्रेटर मुन्दुम पदमार्ग’ निर्माणले तीव्रता पाएको छ । जिल्लाका दक्षिणी क्षेत्रका तीन स्थानीय तहमा पदमार्ग निर्माणले गति लिएको हो ।
सुनसरीको कोशी टप्पु, उदयपुरको बेलका नगरपालिकाको मैनामैनी, भोजपुर हतुवागढीको माइबेनी हसनपुर हुँदै सेल्मे, तावाभञ्ज्याङसम्म पदमार्ग जोड्ने लक्ष्यका साथ ग्रेटर मुन्दुम पदमार्ग निर्माण भइरहेको छ ।
भोजपुरको हतुवागढी, आमचोक र रामप्रसादराई गाउँपालिकामा पदमार्ग निर्माणको काम तीव्र रुपमा अघि बढेको छ ।
हतुवागढी गाउँपालिका–९ हसनपुरको होम्पुवा भञ्ज्याङबाट पदमार्ग निर्माण भइरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए ।
पदमार्गको शून्य विन्दु माइबेनी भए पनि हाललाई होम्बुवाबाट काम अघि बढेको उनले जानकारी दिए ।
यहाँ स्वीस सरकारसँगको साझेदारीमा करिब रु. ३२ लाखको लागतमा पदमार्ग निर्माण भइरहेको छ ।
हतुवागढी–३ सिन्द्राङमा सङ्घीय सरकारको रु. १८ लाख लागतमा पदमार्ग निर्माण भइरहेको अध्यक्ष राईको भनाइ छ ।
तोसिखोमबाट सङ्खाम जोर आहालसम्म पदमार्ग निर्माण गरिनेछ । रामप्रसादराई गाउँपालिकामा चालु आर्थिक वर्षमा एक हजार तीन सय मिटर पदमार्ग निर्माण गरिनेछ ।
यहाँ वडा नं. ६ मा पर्ने थाम डाँडा, गोल्मे राजा, गोल्मे रानी आसपासमा काम भइरहेको उनले जानकारी दिए ।
हालसम्म करिब दुई सय मिटर पदमार्ग निर्माण सम्पन्न भएको छ । रामप्रसादराई गाउँपालिकामा पहिलो चरणमा करिब रु. तीस लाखको लागतमा पदमार्ग निर्माण भइरहेको छ ।
त्यस्तै आमचोक गाउँपालिकामा करिब दुई किलोमिटर पदमार्ग निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । यहाँ दाबुराङबाट थाम डाँडासम्म पदमार्ग निर्माण हुने छ ।
चार वर्षसम्म निर्माण हुने ग्रेटर मुन्दुम पदमार्ग निर्माणमा स्वीस सरकारको ५५ प्रतिशत, प्रदेश सरकारको १९ प्रतिशत, स्थानीय सरकारको १८ प्रतिशत तथा सङ्घीय सरकारको ८ प्रतिशत लागत साझेदारी हुने बताइएको छ ।
ग्रेटर मुन्दुम पदमार्ग सुनसरीको कोशी टप्पुबाट सुरु भएर उदयपुरको मैनामैनी भोजपुर हतुवागढीको माइबेनी, शिलासुत्केरी, सङ्खामचुली, आमचोक गाउँपालिकाको बयाङ, यूँ, रामप्रसादराई–६ थामडाँडा, गोल्मे भिर, सुच्चागुफा नागछाँगा, वडा नं. २ को पाप्माखाम गढी, बतासे र वडा नं. १ ओख्रेहुँदै टेम्केमैयुङ–९ को कपासे भञ्ज्याङसम्म विस्तार हुने रामप्रसादराई–६ वैकुण्ठेका वडाध्यक्ष एकराज आचर्यले जानकारी दिए ।
तावाभञ्ज्याङमा यसअघि निर्माण भएको मुन्दुम पदमार्गसँग जोडिएसँगै भोजपुर साल्पासिलिचुङसम्म पुग्दा यो पदमार्गको लम्बाइ करिब एक सय ६८ किलोमिटर हुने छ । यो कार्यक्रम २०८५ सालसम्म सञ्चालन हुने छ । पदमार्गमा आधारित पर्यटन विकास परियोजना विराटनगरअन्तर्गत काम भइरहेको छ ।

