२०८३, कार्तिक १३ गते शुक्रबार

पसगाउँका प्रकृति र संस्कृतिलाई पदयात्रा

पसगाउँका प्रकृति र संस्कृतिलाई पदयात्रा


  • मेरोभ्यूज
  • आषाढ ३२, २०८२ बुधबार

  • पसगाउँका प्रकृति र संस्कृतिलाई पदयात्रा

    गण्डकी । सिस्नोको तरकारी, कोदोको सेल, निगुरो, गिठ्ठा आदिका परिकारका कारण लमजुङको क्होलासोँथर गाउँपालिका–६ स्थित पसगाउँले पर्यटक लोभ्याउने गरेको छ ।

    प्राकृतिक सुन्दरतासँगै परम्परागत संस्कार र संस्कृतिलाई जोगाएर राखेको यो गाउँ गुरुङ संस्कार र संस्कृतिका लागि आफैँमा जीवन्त सङ्ग्रहालयजस्तै देखिन्छ ।

    समुन्द्री सतहबाट एक हजार छ सय ५० मिटरको उचाइमा रहेको यस गाउँको प्राचीन मौलिकतालाई स्थानीयले जोगाएर राखेका छन् ।

    संस्कृतिहरूको पुस्तान्तरण गरिएको यस गाउँमा अहिले पनि गुरुङ समुदायको कृष्ण चरित्र नृत्य, सारङ्गी नृत्य, झ्याउरे नाच, सति घाटु नाचलगायत लोपोन्मुख संस्कृतिलाई प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।

    गाउँको प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ यस गाउँमा २०६० सालदेखि घरबास (होमस्टे) सञ्चालन गरिएको पसगाउँ सामूहिक होमस्टेका सचिव रतनसिंह गुरुङले जानकारी दिए ।

    गाउँको पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ गाउँका २२ घरमा होमस्टे सञ्चालन भइरहेको उनले बताए ।

    साथै प्राचीन मौलिकतालाई जोगाउँदै बढ्दो बसाइँसराइँ रोक्दै गाउँमा नै पर्यटनका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्ने दीर्घकालीन लक्ष्य रहेको उनले बताए ।

    वि.सं. २०६० देखि स्थापित भए पनि २०७४ सालदेखि औपचारिक दर्ता भइ सञ्चालनमा आएको होमस्टेमा दैनिक एक सय जनासम्म राख्न सक्ने क्षमता रहेको उनको भनाइ छ । सुरुमा तीनवटा घरबाट यहाँ होमस्टे सुरु गरिएको थियो ।

    गाउँमा स्थानीय मौलिकतालाई जोगाउनका लागि ढुङ्गाले छाएका घरलाई संरक्षण गरिएको छ भने गाउँका चोक तथा बाटो छपक्क ढुङ्गाले छापिएको छ ।

    गाउँभित्रै ठाउँ-ठाउँमा रहेका परम्परागत घुमाउने घरले यहाँको सौन्दर्यलाई अझै उजगार गरेको छ ।

    यहाँका एक सय ५३ घरमध्ये अधिकांशका छाना ढुङ्गाबाटै छाएका छन् ।

    गाउँको शिरमा रहेको क्होंमे्रडाँडामा भ्यूटावरसँगै अन्य विभिन्न संरचना निर्माण गरिएको छ ।

    गाउँको पुछारमा अचम्मका प्रकृतिले कुँदिएका शिला अनि फुक्दा भ्वाँ-भ्वाँ बज्ने प्राकृतिक बाजा आदिले पनि यहाँको सौन्दर्यता र महत्वलाई अझै बढाएका छन् ।

    त्यस्तै कैलाश पर्वतजस्तै देखिने शिलाका साथै विभिन्न देवी-देवताका आकृतिका शिलाले यहाँको धार्मिक महत्वलाई अझै उजागर गरिरहेको स्थानीयवासी बताउँछन् ।

    शिला रहेको क्षेत्रस्थित सेतो भिरमा प्राचीनकालदेखि लामा बस्ने विश्वाससमेत रहेको छ ।

    यहाँस्थित ठूलो शिलाको फेदमा रहेको देवीको प्राकृतिक मूर्तिलाई स्थानीयले अत्यन्त श्रद्धाविश्वासका साथ पूजा-आजा गर्ने गरेका छन् ।

    यहाँको घरबासलाई गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्गअन्तर्गत समेट्ने गरी प्रवर्द्धनका कार्यक्रम पनि सुरु गरेको छ ।

    सङ्घले पसगाउँलगायत प्राचीन गुरुङ गाउँहरूलाई गुरुङ सम्पदा पदमार्गमा समेट्दै प्रवर्द्धन र विकासका कार्यक्रम थालेको सङ्घका संस्थापक अध्यक्ष एवं गुरुङ सम्पदा पदमार्ग कार्यक्रमका संयोजक बोबरजङ्ग गुरुङले बताए ।

    सङ्घकै सक्रियतामा कास्की, लमजुङ र मनाङका विभिन्न भू-भाग समेट्दै सम्पदा पदमार्ग घोषणा गरिएकामा यसलाई सन् २०२६ देखि पूर्णरूपमा सञ्चालनमा ल्याउने योजनाका साथ चरणबद्धरूपमा अध्ययन, अनुसन्धानका कार्यक्रम सञ्चालन गरिएको सङ्घका अध्यक्ष किसमकुमारी गुरुङले जानकारी दिए ।

    उनका अनुसार सङ्घले तेस्रो चरणको कार्यक्रमअन्तर्गत पोखराबाट सिङ्दी, पसगाउँलगायत गाउँ समेट्दै दूधपोखरी, गुरुङ देउरालीलगायत स्थानसम्म अन्वेषणात्मक पदयात्रा सञ्चालन गरेको छ ।

    पसगाउँलाई पदयात्रासँग जोड्ने गरी कार्यक्रमहरू सञ्चालन हुनुलाई आफूहरूले अर्थपूर्णरूपमा लिएको होमस्टे सञ्चालक सदस्य मायादेवी गुरुङले बताइन ।

    पसगाउँ आएका पर्यटकलाई यहीँका स्थानीय उत्पादन खुवाउने गरिएको बताउँदै उनले पर्यटक फर्कँदा खुसी भएर फर्कने गरेको अनुभव सुनाइन ।

    पदयात्रासँगै जोडिएपछि यहाँको प्रकृति र संस्कृति पर्यटन बजारमा पुग्ने उनले विश्वास व्यक्त गरे ।

    पसगाउँमा आउने चाहने पर्यटकका लागि विभिन्न बैकल्पिक मार्ग पनि छन् ।

    लमजुङको बेँसीसहरबाट घलेगाउँ, भुजुङ हुँदै यहाँ आउन सकिन्छ भने बेँसीसहरबाटै मालिङ, साल्मे भञ्ज्याङ हुँदै पनि आउन सकिन्छ ।

    पोखराबाट कालिका हुँदै, रामबजार कर्पुटार हुँदै यहाँ आउने सवारीसाधन सञ्चालन भइरहेका छन् ।

    पोखराहुँदै यहाँ आउनका लागि कास्कीको मादीतर्फको बाटो अझै व्यवस्थित भइ नसक्दा पनि यात्रीले समस्या भोग्दै आएको स्थानीयवासीको गुनासो छ ।

    गुरुङ सम्पदा पदमार्गको नक्शाङ्कनमा समेटिएका पसगाउँलगायत गाउँको प्रवर्द्धन र विकासका लागि पनि स्थानीयवासीको उत्तिकै जागरुकता आवश्यक हुने गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका महासचिव तुल गुरुङले बताए ।

    प्रकृति र संस्कृतिको उपयोगसँगै पर्यटकलाई प्रदान गरिने आतिथ्यताका लागिसमेत सबैको सामूहिक प्रयास आवश्यक हुने उनको भनाइ छ ।


    प्रकाशित : बुधबार, आषाढ ३२ २०८२११:२५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार