२०८३, कार्तिक १२ गते बिहीबार

कीर्तिपुर सधैं परिवर्तनको अग्रपंक्तिमा रहेको छ : अध्यक्ष दाहाल

कीर्तिपुर सधैं परिवर्तनको अग्रपंक्तिमा रहेको छ : अध्यक्ष दाहाल


  • मेरोभ्यूज
  • जेठ १७, २०८२ शनिबार

  • कीर्तिपुर सधैं परिवर्तनको अग्रपंक्तिमा रहेको छ : अध्यक्ष दाहाल

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कीर्तिपुरलाई सधैं परिवर्तनको पक्षमा भूमिका खेल्दै आएको बताएको छ ।

    शनिबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कीर्तिपुर नगर समितिद्वारा आयोजित पिकनिक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कीर्तिपुरले आफूलाई गणतन्त्र नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनाएको स्मरण गर्दै यहाँका नेता, कार्यकर्ता, युवा, वृद्ध र सम्पूर्ण जनसमुदायप्रति धन्यवाद व्यक्त गरे ।

    “कीर्तिपुर नजितेसम्म न त चित्त बुझ्छ, न त मनमा शान्ति हुन्छ,” दाहालले भने, “यस पटक जित्न विशेष प्रयास गर्यौं, डा. शिवशरण महर्जनलाई जिताउन सकिएन, तर तेस्रो स्थानबाट दोस्रो स्थानमा पुर्याउन सक्यौं । हामी निराश भएका छैनौं, अब केही नयाँ गर्नुपर्छ भन्ने दृढ निश्चय लिएका छौं ।”

    अध्यक्ष प्रचण्डले सरकारमा रहँदा माओवादी केन्द्रले भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा काम गरेको कारण दलाल र बिचौलिया अत्तालिएर सरकार विरुद्ध लागेको उल्लेख गरे ।

    अध्यक्ष दाहालले भने, “जनताले माओवादी नै जनताको पक्षमा काम गर्छ भन्ने विश्वास गर्न थालेका थिए, तर यही काम बिचौलियालाई मन परेन, त्यसैले अपारदर्शी ढंगले हामीलाई सरकारबाट हटाइयो ।”

    उनले पार्टी सरकारबाट बाहिरिएपछि पार्टीले आत्मसमिक्षा गर्दै देशव्यापी जनतासँग जोडिने अभियान सञ्चालन गरेको जानकारी दिए । ती अभियानअन्तर्गत तराईमा हुलाकी मार्ग केन्द्रित, पहाडमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान र अन्य अभियान सञ्चालन गरिएको उनले जानकारी दिए ।

    अध्यक्ष प्रचण्डले देशव्यापी अभियानका क्रममा जनतासँग प्रत्यक्ष संवाद भइरहेको बताउँदै भने, “हामी जनतासँगै खायौं, सँगै बस्यौं, सहिद तथा बेपत्ता परिवारसँग आत्मीय सम्बन्ध बनायौं । हामी जनतासँग एकाकार भएर अगाडि बढेका छौं । जनतामा माओवादीप्रति विश्वास र भरोसा जाग्दै गएको छ ।”

    दाहालले तराईमा झन्डै करोडभन्दा बढी जनतासँग प्रत्यक्ष संवाद भएको छ र जनताले देखाएको माया र विश्वासले थप जिम्मेवारीको बोध गराएको बताए ।

    सो अवसरमा अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले जेठ २० गतेदेखि उपत्यका जागरण अभियान सुरु गर्न लागेको जानकारी दिए । उनले नेवार समुदायलाई प्राथमिकता दिनका लागि पोखराबाट सुरु गरिएको मध्यपहाडी लोकमार्ग अभियानलाई जेठ २१ पछि सारिएको समेत जानकारी गराए ।

    नेवार संस्कृतिमा समाजवादको भ्रूण रहेको उल्लेख गर्दै उनले भने, “समाजवादी संस्कृतिको भ्रूण नेवार समुदायमा रहेको छ । समाजवादको खोजी नेपाली संस्कृति, जाति र परम्परामै गर्नुपर्छ ।”

    अध्यक्ष प्रचण्डले हुलाकी अभियानमा तराईमा आठ–नौ लाख जनताले पार्टीमा प्रवेश गरिसकेको र हालसम्म दुईवटा पार्टीसँग एकता भइसकेको जानकारी दिए । उनले मध्यपहाडी लोकमार्ग अभियान सकिएपछि थप तीनवटा पार्टीसँग निषर्त एकता गरिने जानकारीसमेत दिए ।

    “अब जनताले बुझ्न थालेका छन् माओवादी र कांग्रेस–एमाले पार्टी एउटै होइनन्, माओवादी केन्द्र नै जनताको असली प्रतिनिधि हो भन्ने कुरा जनताले बुझ्दै गएको छ,” उनले भने ।

    अध्यक्ष प्रचण्डले माओवादी केन्द्र सरकारमा जाँदा पटक-पटक कांग्रेस र एमालेसँग सहकार्य गरेको तर त्यसबाट राम्रो अनुभव नभएको उल्लेख गरे । उनले भने, “हामीले कांग्रेस र एमालेसँग सहकार्य गर्दा उनीहरूको रोग हामीमा सरेको जस्तो भयो । उनीहरूको रोग त फेरि सरुवा रोग हो । अब जनताको घर–घरमा गएर त्यसको उपचार गर्छौं । हामी अब उनीहरूसँग सहकार्य गर्दैनौं ।”

    अध्यक्ष दाहालले पार्टी व्यवहारमै रूपान्तरण हुने दिशामा अघि बढेको स्पष्ट पारे । उनले जनता माझ गएर व्यवहारबाटै माओवादीलाई सच्याएर जनताको असली पार्टीको रूपमा माओवादीलाई अगाडि बढाउने प्रतिबद्धता पनि दोहोर्याए ।


    प्रकाशित : शनिबार, जेठ १७ २०८२०७:१३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार