२०८३, कार्तिक १३ गते शुक्रबार

संरक्षणको पर्खाइमा मुस्ताङको सेकुङ ताल

संरक्षणको पर्खाइमा मुस्ताङको सेकुङ ताल


  • मेरोभ्यूज
  • जेठ ४, २०८२ आइतबार

  • संरक्षणको पर्खाइमा मुस्ताङको सेकुङ ताल

    मुस्ताङ । यहाँको थासाङ गाउँपालिका–२ स्थित सेकुङ ताल संरक्षणको पर्खाइमा छ । ताल संरक्षणका लागि सरोकारवाला निकायले ध्यान नदिँदा सेकुङ ताल ओझेलमा परेको छ ।

    धौलागिरि हिमालको हिउँबाट बग्ने पानीको स्रोतले सेकुङ ताल बनेको छ । बेनी–जोमसोम सडकबाट १५ मिनेटमै पुग्न सकिने भएपनि तालको संरक्षण तथा आवश्यक प्रचार नहुँदा पर्यटकीय दृष्टिकोणले ओझेलमा परेको हो ।

    थासाङ गाउँपालिका–२ का वडाध्यक्ष गौतम शेरचनले सेकुङ तालमा आवश्यक स्तरोन्नती गर्नुपर्ने देखिएकाले पानीको सतह घटाइएको जानकारी दिए ।

    प्राकृतिक स्रोत साधनको संरक्षण तथा संम्वर्द्धन गर्ने पहिलो प्राथमिकता स्थानीय तहको रहेपनि गाउँपालिकाले त्यसतर्फ ध्यान नदिएको स्थानीयको गुनासो छ । केही वर्षअघि भन्दा हाल सेकुङ तालमा पानीको सतह आधा भन्दा धेरैले घटेको छ ।

    सेकुङ तालसम्म जोड्ने गरी बेनी–जोमसोम राष्ट्रिय राजमार्ग सडक निर्माण गरिएपनि कतिपय स्थानमा सडक जीर्ण हुँदा तालसम्म पुग्न सवारी साधनलाई कठिन छ । सङ्घीय सरकारले सेकुङ ताल जोड्ने कच्ची सडक विस्तार गरेपनि आवश्यक स्तरोन्नती गर्न सकेको छैन ।

    थासाङको सेकुङ ताल संरक्षणका लागि अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप)ले केही वर्ष अघि बाँध निर्माण गरेको थियो । तर, तालमा पानी जम्मा हुन सकेको छैन ।

    यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभागले सेकुङ तालको चारैतिर छप्पनी ढुङ्गा राखेर पैदल बाटो निर्माण गरेको थियो ।

    वडाध्यक्ष गौतम शेरचनले सेकुङ ताल अवलोकनका लागि आउने पर्यटकका लागि गाउँपालिकाले ठाँटी निर्माणका साथै शौचालय र खानेपानीलगायतको पूर्वाधार निर्माण गरिएको जानकारी दिए ।

    सेकुङ तालमा निलगिरि हिमालको प्रतिबिम्व देख्न सकिन्छ । सेकुङ ताल पर्यटकीय मात्रै नभएर धार्मिकरुपमा पनि महत्त्वपूर्ण रहेको सो वडाका वडाध्यक्ष गौतम शेरचनको भनाइ छ ।

    तालमा सदिँयौँदेखि स्थानीयले प्रकृति पूजा गर्दै आइरहेका छन् । बर्सेनी सेकुङ तालमा हिमपहिरोको जोखिम हुने, बाढी पहिरो र सुख्खा खडेरी हुँदा सेकुङ तालमा धार्मिक पूजा गर्ने प्रचलन विद्यमान रहेको वडाध्यक्ष शेरचनले बताए ।

    यस ताल क्षेत्र वन्यजन्तु र विभिन्न पक्षीको क्रिडास्थल पनि हो । यहाँ हिउँचितुवा, चितुवा, मृग, कस्तुरी, घोरल, थार, स्याल, बनबिरालो घोरललगायतका वन्यजन्तुको बासस्थान छ । ताल आसपासमा डाँफे, मुनाल, कस्तुरी, कालिज, च्याखुरा र ठिकुरीलगायतका चराचुरुङ्गी पाइन्छन् ।

    घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिह लालचनले सेकुङ ताल पर्यटकीय तथा प्राकृतिक सम्पदा भएकाले यसको संरक्षणमा जोड दिनुपर्ने सुझाव दिए ।

    यसको सरक्षण, सम्वर्द्धन र प्रचार-प्रसारमा ध्यान दिनसकेमा पर्यटकको सङ्ख्या वृद्धि हुने बताए ।


    प्रकाशित : आइतबार, जेठ ४ २०८२११:०५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार