२०८३, कार्तिक १३ गते शुक्रबार

घट्टेखोलामा चौँरी मेला

घट्टेखोलामा चौँरी मेला


  • मेरोभ्यूज
  • जेठ २, २०८२ शुक्रबार

  • घट्टेखोलामा चौँरी मेला

    मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ घट्टेखोलामा चौँरी मेला सुरु भएको छ ।

    मेलामा हिमाली लेकमा पाइने बहुमूल्य जडीबुटी खाएका चौँरीको आलो रगत खाने चलन रहेको छ ।

    यार्सागुम्बा, पाँचऔँले, निरमसी, कुटुकी, बुकी घाँस खाएर हुर्केका चौँरीको आलो रगत खाँदा विभिन्न रोग निको हुने जनविश्वास रहेको छ ।

    हिमालयन याक नाक पालन उपसमिति मुस्ताङको आयोजनामा सुरु भएको मेला परम्परादेखि नै चल्दै आएको छ ।

    यस पटक आन्तरिक तथा बाह्य पर्यटकको ध्यानाकर्षित गर्न मेला दस दिनसम्म सञ्चालन गर्ने आयोजकको योजना छ ।

    उपसमितिका अध्यक्ष बुद्धिरत्न तुलाचनले स्थानीय व्यापार/व्यवसायको प्रवर्द्धन र कृषकको मेहनतलाई थप टेवा पुग्ने हिसाबले बर्सेनी मेला आयोजना गर्ने गरिएको बताए ।

    अध्यक्ष तुलाचनका अनुसार मेलामा गण्डकी प्रदेशका धेरै जिल्ला र विशेषगरी म्याग्दीबाट मानिस आउने गरेका छन् । मेलामा एक गिलास चौँरीको रगतको मूल्य रु. तीन सय तोकिएको छ ।

    मेलाको पहिलो दिन करिब दुई सय बढी मानिसले चौँरीको रगत पिएको आयोजकले जनाएको छ ।

    यसको सेवनले शरीरमा हुने विभिन्न किसिमका रोग निको हुने जनविश्वासका कारण पनि यसको महत्व बढ्दै गएको तुलाचनको ठम्याइ छ ।

    “मेलालाई परम्परागतरूपमा अगडि बढाइ स्थानीय कृषकको व्यापार/व्यवसायमा पनि थप मद्दत गर्नेछौँ । यहाँ आउने बिरामी, अशक्त र पाहुनाका लागि खान र बस्नको कुनै पनि समस्या छैन”, उनले भने ।

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङका देउबहादुर गर्बुजाले विगत छ वर्षदेखि नियमितरूपमा मेलामा सहभागी भइ चौँरीको रगत पिउँदै आएको र यसले ग्यास्ट्रिक, गानो दुख्ने र हाडजोर्नीलगायत समस्या निको भएको सुनाए ।

    मुस्ताङको थासाङ गाउँपालिका–३ धम्पु निवासी बिसन पुर्जाले पनि नियमितरुपमा चौँरीको आलो रगत पिउँदै आएको बताए ।

    उनले भने, “चौँरीको आलो रगत पिउने कार्य पुरानो जनविश्वास रहे पनि यसको सेवनपश्चात् आफूलाई धेरै राम्रो गरेको छ ।”

    मुस्ताङको थासाङ गाउँपालिकाअन्तर्गतका लेकहरू मुलि, ह्याङ्देन, खल्क्यु, बतासेडाँडा, सानुसरेपहाड, छाक्ताङ, मार्चे र नुप्साङमा हुर्के बढेका याक नाक/चौँरीहरूको पालैपालो रगत निकालेर बिक्री गरिनेछ । उपसमितिअन्तर्गतका दस जना कृषक समूहमा करिब सात सय चौँरी रहेका छन् ।


    प्रकाशित : शुक्रबार, जेठ २ २०८२०९:००
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार