२०८३, कार्तिक १३ गते शुक्रबार

बाँकेमा बाघ आतङ्क: तीन महिनामा तीन जनाको लियो ज्यान

बाँकेमा बाघ आतङ्क: तीन महिनामा तीन जनाको लियो ज्यान


  • मेरोभ्यूज
  • पौष २३, २०७८ शुक्रबार

  • बाँकेमा बाघ आतङ्क: तीन महिनामा तीन जनाको लियो ज्यान

    नेपालगञ्ज । बाँकेको निकुञ्ज वरिपरिको वन क्षेत्रमा बाघले आतङ्क मच्चाएको छ । पछिल्ला तीन महिनामा मात्रै बाघले तीन जनाको ज्यान लिएको छ । बाघको आक्रमणबाट बिहीबार पनि राप्तीसोनारी गाउँपालिका–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको मृत्यु भएको छ ।

    यसअघि बाँके निकुञ्जको गाभर र नरैनापुरमा दुई जनाको बाघको आक्रमणबाट मृत्यु भइसकेको छ । बाँके निकुञ्जमा बाघको सङ्ख्या बढ्दा छेउछाउका सामुदायिक वनमा बाघ देखिने गरेको बताइएको छ ।

    बुधबारमात्रै राप्तीसोनारी–४ बैजापुरकी ३० वर्षीया दुर्गा थारूलाई बाघले आक्रमण गरेको थियो । बाघको पञ्जाबाट उम्किएर बच्न सफल उनको शरीरका विभिन्न ठाउँमा बाघको नङ्ग्राले चोट लागेकोे छ । केही दिनअघि राप्तीसोनारीका वडा नं ५ र ६ को जङ्गलमा मोटरसाइकलमा सवार एक शिक्षकलाई बाघले झम्टेको थियो ।

    बिहीबार राप्तीसोनारी–४ स्थित स्थानीय जलहन सामुदायिक वनको तीनपाने भन्ने ठाउँमा घाँस काट्न गएका तीन जनामध्ये विष्टलाई बाघले आक्रमण गरेको थियो । विष्टलाई बाघले आक्रमण गरेपछि भागेर आएका दुई जनाले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा जाँदा बाघले विष्टलाई खाइरहेको अवस्थामा भेटिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

    उनका अनुसार प्रहरी घटनास्थल पुग्दा बाघले मान्छेलाई खाइरहेको थियो । होहल्ला गर्दा पनि नभागेको बाघलाई प्रहरीले दुई राउण्ड फायर गरेर अलिकति टाढा भगाएर शव लिएर आएको थियो ।

    राप्तीसोनारी–४ को क्षेत्रमा केही दिनदेखि बाघको आक्रमण बढेको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले शुक्रबारदेखि नै त्यस क्षेत्रमा हात्तीसहितको टोली पठाएर बाघलाई लखेट्ने बताए । उनले स्थानीयवासीलाई पनि सचेत गराउने कार्यक्रम रहेको जानकारी दिए ।

    बाघको सङ्ख्या बढाउनकै लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा यतिबेला बाघको गणना गर्ने कार्य भइरेहेको छ । पछिल्लो गणनाअनुसार बाँकेमा २१ बाघ रहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले बताए ।


    प्रकाशित : शुक्रबार, पौष २३ २०७८०९:४०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार