महोत्तरी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीले अघि बढाएको तराई-मधेस जागरण अभियानले दक्षिण नेपालका लाखौं जनतामा नयाँ भरोसा जगाउँदै लगेको बताएको छ ।
जनतासँग माओवादी, तराई-मधेस जागरण अभियानको क्रममा महोत्तरीको मटिहानीमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेको हो ।
अध्यक्ष प्रचण्डले झापाबाट सुरु गरेर मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषाहुँदै महोत्तरीसम्म आउँदा लाखौं जनतामा उत्साह सिर्जना गरेको र कन्चनपुरसम्म पुग्दा दशौं लाख जनतामा नयाँ विश्वास र भरोसा जागृत गरेको बताए ।
उनले पार्टीको अभियानले तराई-मधेसमा सिर्जना गरेको जनलहरले अन्य राजनीतिक दलहरुमा आतंक सिर्जना सुरु भएको बताए ।
आफूलाई ठूला भन्ने दल र आफूलाई मधेसी समुदायको मसिहा ठान्ने दलहरु माओवादीको यो अभियानबाट आत्तिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसबाट जनतामा भने जागरणको लहर सिर्जना गरेको बताए ।
लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ मा प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारु गरेपछि योजना अघि बढेको जानकारी दिए ।
उनले नेपालमा तीन सय वर्षअघि संस्थागतरुपमा शिक्षाको सुरु भएको र महत्त्वपूर्ण मठ मन्दिर रहेको महोत्तरीको मटिहानी महत्त्वपूर्ण रहेको बताए ।
सो क्रममा माओवादी केन्द्रमा प्रवेश गर्ने जसपा नेपालका नेता नवीनकुमार महतोलाई अध्यक्ष प्रचण्डले स्वागत गरेको थियो । भोलि दिनभरि अभियान महोत्तरीको हुलाकी मार्ग आसपासका पालिकाहरुमा केन्द्रित हुने छ ।

