२०८३, कार्तिक १३ गते शुक्रबार

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज


  • मेरोभ्यूज
  • माघ ३०, २०८१ बुधबार

  • बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

    दाङ । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम घाँसले ढाकेको छ । यहाँका किसानले बर्सिम घाँसखेती गरेर पशुपालनमा सहज भएको बताएका छन् । किसान नगदेबालीका रुपमा घाँसखेती गर्न थालेका छन् ।

    घोराही उपमहानगरपालिका-६ की सरस्वती शर्माले एउटा गाई र आठ बाख्रा पालेका छन् । घर छेउको १५ कट्ठा जमिनमा बर्सिम घाँसखेती गरेको उनले जानकारी दिए ।

    गाई र बाख्रालाई बर्सिम घाँस खुवाएर पाल्न सजिलो भएको उनले बताए । “हिउँद याममा आफ्नो १५ कट्ठा खेतमा तोरी, मसुरो र गहुँको साटोमा बर्सिम घाँस लगाउने गरेको छु”, उनले भने, “पूरै खेतमा घाँस लगाउन थालेको छ वर्ष भयो, हरियो हुँदा काटेर गाई बाख्रालाई खुवाउन पनि पाइएको छ ।”

    सुकेको डाँठलाई पनि खुवाउन पाइने र फल लाग्यो भने बिक्री गर्न पाइने यो अत्यन्तै उपयोगी घाँस भएको उनले बताए । उनले भने, “गाई बाख्राका लागि घाँस खोज्न भौतारिनुपरेको छैन, सजिलै आफ्नै खेतबारीबाट प्राप्त गर्न सकिने भएकाले समयको बचत पनि भएको छ ।”

    घोराही-६ बचाहाका बालकृष्ण खनालले १७ कट्ठा खेतमा यो घाँस लगाएका छन् । उनले व्यावसायिकरुपमा ७० बाख्रा पालेका छन् । उनले हिउँदमा बर्सिम लगाएपछि एक याममा चारदेखि पाँच पटकसम्म काटेर खुवाउनाले बाख्रापालन सजिलो भएको बताए ।

    बर्सिम घाँसखेती गर्दा मल पनि छर्न नपर्ने र धानमा हालेको मलले घाँसलाई पनि काम गर्ने भएकाले खेती गर्न सजिलो भएको उनले बताए । बीउ छरेपछि गोडमेल र स्याहार्न झन्झटिलो नभएकाले घाँसखेतीमा आकर्षण बढेको हो । गाईभैँसी, भेडा र बाख्रा सबैलाई यो घाँसले फाइदा पुर्याउँछ ।

    घोराही-१७ कर्जाहीका विकास चौधरीले दुई भैँसी र आठ बाख्रा पालेका छन् । उनले भने, “बाह्र कट्ठा खेतमा बर्सिम घाँस छरेको छु, बस्तुभाउलाई पाल्न सजिलो भएको छ ।” घरमै बीउ उत्पादन गरेर वर्षेनी घाँसखेती गर्ने गरेको उनले जानकारी दिए ।

    “एक पटक काटेर सकियो, यहाँका धेरैजसो पशुपालक किसानको घाँसखेतीमा आकर्षण बढेको छ, वर्षातको समयमा लगाएको धान काट्नुभन्दा अगाडि मसुरो छरे जस्तै गरेर यो घाँसको बीउ छर्ने गरिन्छ । घाँस उम्रँदा धान काटिसकेको हुनुपर्छ, कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेको पनि छ, हरियो र सुकेको बर्सिम घाँस गाईबस्तुलाई खुवाउन एकदमै राम्रो मानिन्छ”, उनले भने ।

    घोराही-६ का कृषकहरुले १२ देखि साढे दुई बिघामा घाँसखेती गरेको छ । अन्य बालीभन्दा धेरै फाइदा हुने भएपछि यसतर्फ किसानको आकर्षण बढेको हो । घोराही-६ को गुरुवागाउँ, गुरगै, बेरुवागाउँ, जजरागाउँ, बेरगै, फचकपुर र अघरा तथा घोराही-१७ को गैरागाउँका किसानले बर्सिम घाँसखेती गरेको छ ।

    अहिले पूरै खेतभरि हरियो बर्सिम खेती देख्न सकिन्छ । अहिले उक्त क्षेत्रमा रहेका एक सय ६० घरपरिवारले घाँसखेती गर्ने गरेको शिवशक्ति घाँस बीउ उत्पादक सङ्घका सचिव विमल अधिकारीले जानकारी दिए । लगानी कम र आम्दानी राम्रो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको अधिकारी बताए ।

    उनका अनुसार जोत्न नपर्ने, मल हाल्नु नपर्ने र धानमा हालेको मलले काम गर्ने भएकाले मलको बचत हुन्छ ।

    पटक-पटक सिँचाइ पनि गर्न नपर्ने भएकाले कृषकलाई थप सहज हुने गरेको छ । धानखेतीपछि बर्सिम घाँसखेती गर्ने गरिन्छ । यसलाई (ग्रिनगोल्ड) का नामले पनि चिनिन्छ ।

    पछिल्लो समय दाङका सबै जसो पालिकाका किसानले यो घाँसखेती गर्न थालेको छ । यो घाँस खाएका पशुले दूध उत्पादन बढाउने गरेकाले अत्यन्तै लाभकारी भएको अधिकारीले जानकारी दिए ।


    प्रकाशित : बुधबार, माघ ३० २०८११०:०९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार