२०८३, कार्तिक १२ गते बिहीबार

लामो समयदेखि रौतहटमा जङ्गली हात्तीको उपद्रोबाट स्थानीय त्रसित

लामो समयदेखि रौतहटमा जङ्गली हात्तीको उपद्रोबाट स्थानीय त्रसित


  • मेरोभ्यूज
  • माघ १८, २०८१ शुक्रबार

  • लामो समयदेखि रौतहटमा जङ्गली हात्तीको उपद्रोबाट स्थानीय त्रसित

    रौतहट । लामो समयदेखि रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आएका जङ्गली हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित बनेका छन् ।

    हात्तीले रौतहटको चन्द्रपुर, गुजरा, बृन्दावन र फतुवा विजयपुर नगरपालिकाको विभिन्न वडामा दिनहुँजसो उपद्रो मच्चाइरहेका छन् ।

    विगत वर्षमा केही दिन आएर बसेर जाने जङ्गली हात्ती यस वर्ष भने असारदेखि नै यसै क्षेत्रमा बसेर उपद्रो मच्चाइरहेको स्थानीयले बताएका छन् ।

    हात्तीले मकै बारी, केरा बारी, आलु बारी, गहुँ बारीका साथै घर नै भत्काउन थालेका छन् । हात्तीले बढीजसो केरा बारी नष्ट गरेको पाइएको छ ।

    हात्तीको बथानले रौतहटको चन्द्रपुर-३ गैँडाटार र जुडिबेलामा लगाइएको केरा खेतीमा क्षति पुर्याएको छ ।

    हात्तीले पटक-पटक गरेर करिब एक बिघामा लगाएको केरा खेती नष्ट गरेको चन्द्रपुर-३ गैँडाटारका किसान लालबाहादुर दोङले जानकारी दिए ।

    फल्ने बेला भएको करिब सात सय केराको बो नष्ट गरेको उनको गुनासो छ । दोङले चन्द्रपुर-२ जुडिबेलामा जमिन भाडामा लिएर केरा खेती गर्दै आएको छ ।

    केरा खेतीको बीमा नहुँदा समस्या भएको उनको भनाइ छ । जुडिबेलामा उनीसहित हर्क घिसिङ, चमेली मायालगायतको बिघौबिघा जमिनमा लगाएको केरा बारी हात्तीले नष्ट गरेको छ ।

    यसैगरी चन्द्रपुर-३ गैँडाटारमा पनि हात्तीले केरा बारीमा विध्वंस मच्चाएको छ । सो गाउँका हरिशरण गौतमको १३ कट्ठामा लगाएको चार सय बोट, दीपक गौतमको ८५ बोट, सम्पूर्ण चौहानको दुई सय ५० बोट र अनिल भण्डारीको ५० बोट केरा नष्ट गरेको स्थानीय दीपक गौतमले जानकारी दिए ।

    गौतमका अनुसार खडानन्द गौतमको पाँच कट्ठाको मकै, सोमप्रसाद गौतमको तीन कट्ठाको मकै र बाबु योञ्जनको चार कट्ठाको मकै खेतीमा हात्तीले क्षति पुर्याएको छ ।

    हात्तीको बथानले चन्द्रपुर नगरपालिकामा आठ र फतुवा विजयपुर नगरपालिका-११ मा चार घर भत्काएको छ ।

    हात्तीले चन्द्रपुर-३ गैँडाटारमा सात र वडा नं २ जुडिबेलामा एउटा घर भत्काएको स्थानीयले जानकारी दिएका छन् ।

    गैँडाटारमा सन्तबहादुर रुम्बा, मीना राई, छेनामसिंह लोप्चन, बली माया लोप्तन, बोम्जन साइँला, सुबास ठोकर र साइँला गोलेको घर हात्तीले भत्काएको स्थानीय राजु धामीले जानकारी दिए ।

    यसैगरी कालापानी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा निर्माण गरेको उद्यान र पानीघट्टमा पनि हात्तीले क्षति पुर्याएको छ ।

    फतुवा विजयपुर नगरपालिका-११ भैसही र बुटवा बस्तीमा हात्तीले चार घर भत्काएको छ । स्थानीय विजय चौधरीका अनुसार उदय चौधरी, मिलन मगर, हरिशरण मैनालीलगायत स्थानीयको घरमा हात्तीले क्षति पुर्याएको हो ।

    हात्ती नियन्त्रण गर्न डिभिजन वन कार्यालयका प्रमुख हेमन्तप्रसाद साहले ‘इनालाइजर’ (वन्यजन्तुलाई हल्का झट्का दिने उपकरण) प्रयोग गर्नुपर्ने बताएको छ ।

    हात्तीले उपद्रो मच्चाउन थालेपछि रोकथामका लागि सो उपकरण प्रयोग गर्नुपर्ने उनले बताए ।

    पर्सा राष्ट्रिय निकुञ्ज अमलेशगञ्जका प्रमुख रामचन्द्र खतिवडासँग परामर्श गरेर सो ‘इनालाइजर’ प्रयोग गर्नु नै हात्ती रोक्ने मुख्य उपाय भएको उनले बताए ।

    ‘इनालाइजर’ खरिद गर्न चन्द्रपुर र फतुवा विजयपुर नगरपालिकामा सहयोगका लागि आफूले पत्राचार गरेको प्रमुख साहले जानकारी दिए ।

    हात्तीले क्षति पुर्याएका व्यक्तिलाई डिभिजन वन कार्यालयले क्षतिपूर्ति दिने भएको छ । हात्तीको आक्रमणबाट ज्यान गुमाएका, घाइते भएका, घर भत्काएका, बालीमा क्षति भएको यकिन गरेर क्षतिपूर्ति दिने प्रावधान रहेको प्रमुख साहले बताए ।


    प्रकाशित : शुक्रबार, माघ १८ २०८११०:२२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार