सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारमा जाने बारे आफ्नो पार्टीको कुनै रुचि नभएको बताएको छ ।
सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो धारणा राखेको हो ।
नीतिगत रुपमा हेर्दा यो सरकारको आयु लामो नभए पनि आफूहरुले सरकार बदल्न खोजेको भन्ने बुझाइ चाहिँ सही नभएको अध्यक्ष दाहालले स्पष्ट पारे ।
यो सरकार बन्नेबेलादेखि नै आफ्नो पार्टीले भन्दै आएजस्तो सरकार भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा लिप्त रहेको उल्लेख गर्दै उनले यति हुँदा पनि आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको प्रस्ट पारे ।
देशको राजनीति सहज नदेखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको क्रियाकलापका कारण एमालेभित्र पनि निकै उकुसमुकुस रहेको बताए ।
सरकारले गलत तरिकाले अध्यादेश ल्याएर शासन गर्न खोजिएको भन्दै उनले विरोध जनाए । संसदमा प्रवेश गरिसकेका र समितिमा छलफल भइरहेको विधेयकलाई प्रक्रियागत ढंगले फिर्ता लिनुको सट्टा संवैधानिक तथा लोकतान्त्रिक बिधिलाई मिचेर मन्त्रिपरिषदबाट नमिल्ने काम गरी दुस्साहस भएको भन्दै अध्यक्ष प्रचण्डले विरोध गरे ।
सरकारले संसद अधिवेशन आह्वान गर्नुको सट्टा अध्यादेशमा बल गरेपछि विपक्षी दलहरुले विशेष अधिवेशनको माग गर्ने तयारी गरेपछि सरकारले बाध्य भएर संसद आह्वान गरेको बताए ।
अब विपक्षी दलहरुले संसदमा जनताका एजेन्डा प्रभावकारीरुपमा र आवश्यक कानून निर्माणमा जोड दिने जानकारी पनि अध्यक्ष प्रचण्डले गराए ।
यसैबीच अध्यक्ष प्रचण्डले सुर्खेत भेरीगंगाको छिन्चुमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै देशव्यापी पार्टीको पक्षमा जनलहर सिर्जना भएकोले मेहनतका साथ लाग्न निर्देशन दिए ।
अब पार्टी निरन्तर अभियानमा लाग्ने केन्द्रीय समिति बैठकले निर्णय गरेको जानकारी दिंदै उनले फागुनदेखि सिरु जनतासँग माओवादी अभियानलाई प्रभावकारी बनाउन कार्यकर्तालाई निर्देशन दिए ।
त्यस्तै अध्यक्ष प्रचण्डले बर्दियाको बबई पुल क्षेत्रका जनतासित भेटघाट गर्दै मध्यवर्ती क्षेत्रका जनताको समस्या समाधानका लागि संसदमा आवाज उठाउने र आवश्यक कानून परिमार्जन गरेर जानुपर्ने बताए ।

