२०८३, कार्तिक १३ गते शुक्रबार

‘अचम्मै पो भो ! हिउँ नै परेन’

‘अचम्मै पो भो ! हिउँ नै परेन’


  • मेरोभ्यूज
  • पौष १७, २०८१ बुधबार

  • ‘अचम्मै पो भो ! हिउँ नै परेन’

    मनाङ । हिउँदयाम लागेसँगै देशभर क्रमशः चिसो बढ्दै छ । हिमाली जिल्ला मनाङलगायत क्षेत्रमा त अत्यधिक चिसो बढिसकेको छ । यहाँका नदी, खोला, धाराका पानी जम्न थालेका छन् तर यसपटक हिउँ भने परेको छैन । मुख्य समयमै हिउँ नपरेपछि स्थानीय चकित छन् ।

    स्थानीय हिमपात हुनुपर्ने समयमा हिउँ नै नपर्दा नियमित चक्र बिथोलिने र कृषि उत्पादन घट्ने चिन्तामा छन् ।

    मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका याङदुङ गुरुङ भन्छन, “हामी खेती किसानी र पशुपालन गरेर जीविकोपार्जन गर्ने मान्छेलाई समस्या भएको छ । हिउँ नपरेपछि पानी हुँदैन, पानी नभए खेती । खै, के भएर होला ! आजकल समयमा हिउँ पर्न छोड्यो ।”

    समयमा हिउँ नपर्दा सिँचाइको अभावमा मुख्यगरी किसानलाई समस्या भएको गुरुङको भनाइ छ । “हिउँ परेको भए खेती पनि सप्रिन्थ्यो, त पानी नै पुग्दैन । किसानलाई त प्रकृतिले पनि ठग्न थाल्यो”, उनले सुस्केरा हाल्दै भने ।

    केही वर्ष पहिलेसम्म हिउँ परेर यहाँका हिमाल सेताम्मे हुन्थे । पर्याप्त पानी हुँदा किसान ‘मानो रोपी मुरी उब्जाउने’ काममा व्यस्त हुन्थे । अचेल भने न हिमाल सेता छन् न त किसानले सजहरूपमा कृषि कर्म गर्न पाएका छन् ।

    प्रमुख जिल्ला अधिकारी मातृका आचार्य पनि पुस लागिसक्दासमेत हिउँ नपरेपछि चकित हुन्छ । हिउँ नपरी चिसो अत्यधिक बढेकाले उनलाई प्राकृतिक नियम नै फेरिएजस्तो महशुस भइरहेको छ ।

    “जिल्लाका अधिकांश ठाउँमा चिसोका कारण पिउने पानीसमेत जमेका छन् तर हिउँ भने परेको छैन । जसले प्रकृतिको भरमा खेती गर्नुपर्ने किसान निराश छन् । अरु मानिस नियमित प्राकृतिक चक्र नै बिथोलिन थालेकामा चिन्तित छौँ”, आचार्यले भने ।

    पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङ विगत केही वर्षदेखि हिउँ पर्ने समय बदलिँदै गएको बताउछ । यसले उत्पादन घट्दै गएको र खेतीबाली नै परिवर्तन गर्नुपर्ने अवस्था आउन थालेको उनको अनुभव छ ।

    “हिउँकै पानीले सिँचाइ हुने यहाँ हिउँ नै नपरेपछि पानीको अभाव देखिने नै भयो । प्राकृतिक स्वभाव फेरियो, अब हामीले पो कसरी फेरिने होला ? यस्तो अवस्थासँग कसरी अनुकूलित हुने होला !”, उनले जिज्ञासा राखे ।

    स्थानीय फुर्वा छिरिङ लामाले पनि यहाँको हावापानीमा परिवर्तन भएको अनुभव गरेको छ । उनले भने, “यतिबेला हिउँले सेताम्मे भएर घर बाहिर निस्कन वा कामकाज गर्नै सकस हुन्थ्यो । खै ! अचेल त हिउँ नै नपरी चिसो मात्रै बढ्छ । यो त अचम्मै भयो ।”


    प्रकाशित : बुधबार, पौष १७ २०८११०:२९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार