२०८३, कार्तिक १२ गते बिहीबार

हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया

हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया


  • मेरोभ्यूज
  • पौष ८, २०८१ सोमबार

  • हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया

    कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वनहराका ७० वर्षीय मुखिया राना एकाबिहानै साइकल चढेर बजार र गाउँ पुगेर फलामका औजारमा धार(सान) लगाउने कार्य गर्छ ।

    चालिस किलोमिटर साइकल चढेर दैनिकजसो गाउँ, सहरबजार पुगेर यस्तो काम गर्नु उनको दिनचर्या नै हो । यही कामबाट आफ्नो घरखर्च सहजरूपमा चल्दै आएको उनले बताए ।

    साइकलको डण्डीमा जडान गरिएको सान (धार) लगाउने पत्थरमा चक्कु, खुकुरी, चुलेसी, कैँची, बञ्चरो, तरवारलाई घोटेर उनले धारिलो बनाउछ । तरकारी, मासु, काठ काट्ने फलामका औजारमा धार लगायवापत रानाले दैनिक करिब रु एक हजार जति आम्दानी हुने गरेको सुनाए ।

    “बिहानको नास्ता गरेर घरबाट निस्किन्छु । साँझ अबेर मात्रै घर फर्कने गरेको छु, दिउँसोको खाना बजार क्षेत्रमै खाने गर्छु”, उनले भने । रानाले कहिलेकाही धनगढीदेखि महेन्द्रनगर बजारसम्म पुगेर यस्तो कार्य गर्ने गरेको बताए ।

    खाना खर्च कटाएर दैनिक रु सात सय जति बचत हुने गरेको उनले बताए । सान लगाउने कार्य रानाले वीस वर्षकै उमेरदेखि गर्दै आएको हो । पहिले रानाले भारतमा यही काम गरेर घर खर्च चलाउने गरेको समेत बताए ।

    स्वदेश फर्केर बिवाह गरेपछि यसै कार्यलाई निरन्तरता दिएको र यसैबाट आउने आम्दानीबाट पाँच छोराछोरीको लालनपालन गरिरहेको रानाको भनाइ छ ।

    “घरखर्च यसैबाट आएको कमाईले धानिदै आएको छ । मुक्त कमैया पुनःस्थापना कार्यक्रमअन्र्तगत पाइएको घरबासको जग्गा मात्रै छ । अन्न, लुगाफाटो, औषधोपचार यसबाटै आएको कमाइले गरिरहेको छु”, उनले भने,“पछिल्लो समय त छोराले ज्यालामजदूरी गरेर सघाइरहेका छन् । हामी सबैको आम्दानी घर खर्चमै सकिन्छ ।”

    विसं २०५८ सालमा श्रीमतीको देहावसान भएपछि आमाको भूमिकासहित आफैँले एकल अभिभावकत्व निर्वाह गर्नुपरेको रानाले बताए । “कमाई गर्ने माध्यम थिएन, पर्याप्त अन्न फल्ने खेत पनि छैन, पहिलेदेखि नै सिकेको सीप भएकाले यसैलाई निरन्तरता दिँदै आएको छु”, उनले भने,“अहिले छोरा पनि कमाउने भएकाले केही सहज भएको छ ।

    बुढेसकाल लागे पनि पहिलेदेखि नै काम गरिरहेकाले ग्राहकले पनि रुचाउने गरेका छन् । हतियारमा धार लगाएपछि पैसा दिन कसैले पनि कन्जुस्याइँ गर्दैनन् । बरु बुढेसकालमा पनि मेहनत गरेर खाने बड्डा भनेर थपेरै दिन्छन ।”

    रानाले चक्कु, हसिया, चुलेसीलगायतमा धार लगायवाफत रु वीस, खुकुरी, बञ्चरोमा धार लगायवापत रु ५० र तरवारको रु एक सय रुपैयाँ ज्याला लिने गरेको छ ।

    पहिला महिनाको रु ३० हजारसम्म पनि कमाइ हुने गरे पनि साइकल टाढासम्म चलाउन नसक्ने भएकाले रु १५ हजारदेखि २० हजारसम्म कमाई हुने गरेको उनले जानकारी दिए ।

    “बसेरभन्दा गरेर खाँदाको आनन्द बेग्लै हुन्छ । छोरा बुहारीसँग हात फैलाएर माग्नु परेको छैन, बरु उनीहरूलाई सहयोग गर्छु”, रानाले खुसी हुँदै भने ।


    प्रकाशित : सोमबार, पौष ८ २०८१११:२१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार