२०८३, कार्तिक १३ गते शुक्रबार

मादी नदीको ‘आर्क डिजाइन

मादी नदीको ‘आर्क डिजाइन


  • मेरोभ्यूज
  • मंसिर १७, २०८१ सोमबार

  • मादी नदीको ‘आर्क डिजाइन

    दमौली, तनहुँ । निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको आर्क डिजाइनको पुलको ४५ प्रतिशत काम सकिएको छ ।

    व्यास नगरपालिका ४ र ५ जोड्ने मादी नदीमा निर्माणलाई तीव्रता दिइएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जानकारी दिएको छ ।

    आयोजनाका पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार उक्त पुलको छ वटा ‘स्पान’ हुनेछ । तीन सय १५ मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सन् २०२२ अगष्ट ११ मा रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो । उक्त पुलको ठेक्का जेडआइष्ट अन्नक जेभीले पाएको छ । पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ ।

    हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय ७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ । निर्माण कम्पनीका प्रतिनिधि दिनेश श्रेष्ठले अहिलेकै गतिमा काम अगाडि बढे समयभन्दा अगाडि नै सम्पन्न हुने विश्वास व्यक्त गरे ।

    पुल निर्माणका लागि राति र दिउँसो दुई ‘सिफ्ट’मा काम भइरहेको छ । मुग्लिन-पोखरा सडक योजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् ।

    ठूला पुलमध्ये दमौलीको मादी नदी, बुल्दी खोला, बन्दीपुरको नाला र आँबुखैरेनीको खानी खोलामा पुल निर्माण जारी छ । पूर्वी खण्डअन्तर्गत सडकको काम भने ६८ प्रतिशत सकिएको छ ।

    पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।


    प्रकाशित : सोमबार, मंसिर १७ २०८१११:४२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार