काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नो दस्तावेजलाई परिमार्जन गर्न सहयोग पुग्ने ढंगले नै फरक मत र विचार आएको बताएका छन् । बिहीबार महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै प्र्रचण्डले बन्दसत्रमा आफ्नो दस्तावेजलाई सहयोग नै पुग्नेगरि सुझाव आएको र कुनै विवाद नभएको भन्दै भ्रममा नपर्न आग्रह गरे ।
उनले आफ्नो दस्तावेजलाई परिमार्जन गर्न सहयोग पुग्ने ढंगले नै फरक मत र बिचार आएको जिकिर गरे । लेखनाथ न्यौपानेको फरक मत पनि आफुले हेरेको र आफुलाई सहयोग पुग्नेगरिनै सुझाव आएको उनको भनाइ छ ।
समूहगत छलफलका सबै समूहले आफ्नो प्रस्तावलाई समर्थन गर्दै केहि परिमार्जन गर्न सुझाव दिएको उनले बताए । उनले शुक्रबार उठेका प्रश्नको जवाफ दिएर केन्द्रीय समितिको निर्वाचन हुने र त्यसपछि पदाधिकारीको निर्वाचन हुने जानकारी दिए । प्रचण्डले महाधिवेशन व्यवस्थित र अनुशासित रुपमा अघि बढिरहेको पनि बताए ।

