२०८३, कार्तिक १३ गते शुक्रबार

रोकाको खेतमा माओवादी कार्यकर्ताको श्रमदान

रोकाको खेतमा माओवादी कार्यकर्ताको श्रमदान


  • मेरोभ्यूज
  • मंसिर १२, २०८१ बुधबार

  • रोकाको खेतमा माओवादी कार्यकर्ताको श्रमदान

    खोटाङ । सहर छाडेर गाउँ फर्किएका अर्थशास्त्री तथा राजनीतिक विश्लेषक हरि रोकाको खेतमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङका नेता तथा कार्यकर्ताले श्रमदान गरेका छन् ।

    काठमाडौँ छाडेर ४० वर्षपछि विसं २०७९ मा सपरिवार गाउँ फर्किएका रोकाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित खेतमा पुगेर उनीहरुले श्रमदान गरेका हुन् ।

    गाउँ छाडेर सहर जानेको सङ्ख्या वृद्धि भइरहेको बेला गाउँ फर्किएर खेती किसानी गरिरहेका रोकाको सम्मानस्वरुप धान काट्न सहयोग गरिएको नेकपा (माओवादी केन्द्र)का प्रदेश समिति सचिवालय सदस्य होमकाजी आचार्यले बताए ।

    “पार्टीले आयोजना गरेको जनश्रमदान अभियानअन्तर्गत हरि रोकाको खेतमा पुगेर श्रमदान गरेका छौँ । पछिल्लो समय गाउँ छाडेर सहर जानेको ताँती लाग्न थालेको छ । यो अवस्थामा सहरबाट गाउँ फर्किनुभइ कृषि पेशामा लाग्नुभएका अर्थशास्त्री एवं, राजनीतिक विश्लेषक रोकाको सम्मानका लागि श्रमदान गरिएको हो”, उनले भने ।

    संविधानसभा सदस्यसमेत रहेका रोका गाउँ फर्किएर खेती किसानीमा लाग्नुले सकारात्मक प्रेरणा दिएको स्थानीयको भनाइ छ ।

    धान काट्ने श्रमदानमा पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’, पार्टीका जिल्ला संयोजक दीपक पाण्डे, प्रदेश समिति सचिवालय सदस्य आचार्य, पालिका समिति अध्यक्ष राजेन्द्रकुमार राई, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव रविन खम्बूलगायत सहभागी थिए ।

    सर्वसाधारणको खेतमा श्रमदान गर्ने योजना भए पनि सहरबाट फर्किएर गाउँमै सम्भावना देखाउन सङ्घर्ष गरिरहेका रोकाको हौसलाका लागि श्रमदान गरिएको माओवादी केन्द्रले जनाएको छ ।


    प्रकाशित : बुधबार, मंसिर १२ २०८११०:३६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार