गोलबजार, सिरहा । सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमा काठको अस्थायी पुल निर्माण गरिएको छ ।
कमला नदीको पुल भत्केपछि नदी पार गर्न समस्या भएपछि सिरहा नगरपालिकाले उक्त पुल निर्माण गरेको हो ।
नदी पार गर्न साइकल यात्रुबाट शुल्क नलिए पनि मोटरसाइकल चालकबाट भने रु वीस शुल्क लिने गरिएको सिरहा–६ का वडाध्यक्ष ईन्द्रजित यादवले बताए ।
सिरहा नगरपालिकाले पुलको दुवैतर्फ नगरपालिकाका कर्मचारी खटाएको छ । यसअघि व्यक्तिगतरुपमा पुल निर्माण गरी रकम लिने गरेकोमा अब भने नगरपालिकाले यसबाट राजश्व सङ्कलन गर्ने उनले बताए ।
“सङ्कलन भएको रकमबाट पुल मर्मत सम्भार गरिने छ”, वडाध्यक्ष यादवले जानकारी दिए ।
हुलाकी सडकअन्तर्गत सप्तरी–सिरहाखण्डमा सडक कालोपत्र गरिए पनि कमला नदीमा पक्की पुल नबन्दा समस्या भएको छ ।
यसअघि निर्माण गरिएको कमला नदीको पक्की पुल २०७८ असार १७ गतेको बाढीले भाँसिएको थियो । त्यसयता उक्त पुल पुनःनिर्माण हुन नसकेको वडाध्यक्ष यादवले बताए ।

