२०८३, कार्तिक १३ गते शुक्रबार

नदै गुफा प्रवर्द्धन गरिँदै

नदै गुफा प्रवर्द्धन गरिँदै


  • मेरोभ्यूज
  • मंसिर १०, २०८१ सोमबार

  • नदै गुफा प्रवर्द्धन गरिँदै

    जुम्ला । जुम्लाको तिला गाउँपालिका–९ स्थित ऐतिहासिक धार्मिक पर्यटकीयस्थल नदै गुफालाई पर्यटन प्रवर्द्धन गरिने भएको छ ।

    वडाध्यक्ष धनबहादुर रावतले गुफालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक संरचना निर्माणका लागि पालिकाले रु ८१ लाख २६ हजारको बोलपत्र आह्वान गरेको जानकारी दिए ।

    गुफा परिसरमा मन्दिर पुनःनिर्माण तथा संरक्षणका लागि सङ्घीय सरकारबाट प्राप्त ससर्त अनुदानमार्फत सो बजेट विनियोजन भएको उनले बताए ।

    सङ्घीय सरकारबाट प्राप्त बजेटबाट धर्मशाला, सडकबत्ती, रेलिङ्ग र गुफाको तस्वीरलगायत भौतिक संरचना निर्माण गरिनेछ । वडाध्यक्ष रावतका अनुसार गुफासम्म सडक सञ्जाल जोड्नका लागिसमेत सङ्घीय सरकारबाट बजेट व्यस्थापन भएको छ ।

    “अलपत्रमा रहेको नदै गुफालाई संरक्षण गरी पूर्वाधार निर्माण गरेमा यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्नेछ । यहाँ दुई सय मिटर लामो धार्मिक गुफा छ । परम्परागतरुपमा गाईको दूधको थुनजस्तो आकार भएको उक्त गुफाबाट पानी निरन्तर बग्ने गरेको देख्न सकिन्छ”,उनले भने,“यसको संरक्षण र प्रवर्द्धन गर्न सके स्थानीयको आयस्तरमा सुधार हुँदै जानेछ । साथै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ ।”

    गुफा ऐतिहासिकरुपमा महत्वपूर्ण मानिए पनि प्रचार-प्रसारको अभावमा ओझेलमा परेको स्थानीयवासीको गुनासो रहेको छ । उक्त गुफासम्म पुग्नका लागि मोटर बाटो सहज छैन ।

    प्राकृतिक गुफाको प्रचार-प्रसार र प्रवर्द्धन गर्न सके बाह्य तथा आन्तरिक पर्यटक आवागमन बढ्ने र त्यसबाट स्थानीय नागरिक प्रत्यक्ष लाभान्वित हुने स्थानीयवासी समिर बोहोराको भनाइ छ ।

    तिला–९ का हेमराज रावतले गुफाको विकासमा स्थानीय सरकारले ध्यान नदिँदा त्यस क्षेत्रमा आउने आन्तरिक पर्यटकको सङ्ख्यासमेत बढ्न सकेको छैन । यसको विकासमा ध्यान दिन सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने र त्यसले गाउँको मुहार फेरिने उनको विश्वास छ ।

    वडाध्यक्ष रावत भने स्वदेश तथा विदेशसम्म गुफाको प्रचार-प्रसार गर्ने उद्देश्यले यसै वर्ष सम्मेलनसमेत गर्ने तयारी भएको जानकारी दिए ।

    “पूर्वाधार निर्माणका साथै प्रचार-प्रसारका लागि सम्मेलन गर्ने योजना छ । त्यसले स्थानीयको चिन्ता सम्बोधन र हाम्रो चाहना पूरा गर्न सघाउ पुग्नेछ”, उनले जानकारी दिए ।


    प्रकाशित : सोमबार, मंसिर १० २०८१११:१०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार