२०८३, कार्तिक १३ गते शुक्रबार

दाङको धारापानी पर्यटकीय गन्तव्य बन्दै

दाङको धारापानी पर्यटकीय गन्तव्य बन्दै


  • मेरोभ्यूज
  • मंसिर ६, २०८१ बिहीबार

  • दाङको धारापानी पर्यटकीय गन्तव्य बन्दै

    देउखुरी, दाङ । घोराही उपमहानगरपालिका-५ धर्नामा रहेको धारापानीमा चहल-पहल बढेको छ । धारापानी स्थानीय र बाह्य पर्यटकको घुमघामको रोजाइको स्थान बन्दै गएको छ ।

    बाँके बैजापुरका सुरेश चौधरी साथीहरुसँग छुट्टीमा धारापानीमा घुम्न आएको भेटिए । उनले कक्षा १० मा अध्ययन गरिरहेको छ । धारापानीको चर्चा धेरै सुनेकाले आफैँले देख्न मन लागेर आएको उनले बताए । यहाँको मनोरम दृश्यले रमाइलो लागेको उनले बताए ।

    “त्रिशूल र ॐपोखरी मन्दिरभित्र रहेको पार्कमा बिसाउँदा आनन्द आयो, फोटो पनि खिचेका छौँ, गाउँमा सबैलाई देखाउँछौँ र घुम्न जानु भन्छौँ”, उनले भने । धारापानीको जलाशयमा डुङ्गामा सयर गर्दा झन् धेरै रमाइलो लागेको उनले बताए ।

    बर्दिया नगरपालिका-३ राजापुरका सबिना केसी साथीहरुसँग वनभोजका लागि धारापानी पुगेको थियो । धारापानीको पर्यटकीयस्थलको कुरा मात्रै सुनेको अवलोकन गर्ने मौका नमिलेका कारण यस पटक धारापानीलाई गन्तव्य बनाएको उनले बताए ।

    उनका अनुसार अरूले भनेको सुनेको र आफूले देखेकामा फरक हुँदोरैछ । पर्यटकीयस्थलका रुपमा विकास भएको यो मन्दिर धेरै विकास भएको उनले बताए । पछिल्लो समय पार्कसहितको पोखरीले झनै राम्रो भएको बताए ।

    घोराही बजारदेखि नौ किलोमिटर दक्षिण भागमा पर्ने धारापानी मन्दिर निजी सवारी साधन वा बस, अटोरिक्साबाट सजिलै पुग्न सकिने र सो स्थानसम्म सडक पक्की भएकाले स्थानीय तथा बाह्य पर्यटकहरुको उपस्थितिले चहल-पहल भएको हो ।

    धारपानीमा ५५ दशमलव पाँच फिट उचाइको पञ्चधातुको त्रिशूल निर्माण भएपछि धेरै जिल्लाका पर्यटकहरुको गन्तव्य बनेको हो ।

    पछिल्लो समयमा बिदाको दिन परिवारसँग र साथीभाइ मिलेर घुम्न आउने तथा मङ्सिर महिना सुरु भएदेखि वनभोज खान आउने नागरिकको सङ्ख्या धेरै रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले बताउनुभयो । अघिल्लो शनिबार २२ समूह वनभोजका लागि आएको उनले बताए ।

    दाङलगायत छिमेकी जिल्ला रुकुम, रोल्पा, सल्यान, प्यूठानसँगै, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, कपिलवस्तु, रुपन्देही, पाल्पा, सुर्खेत, जुम्ला, जाजरकोटलगायत अन्य जिल्लाबाट पर्यटक आउने गरेको उनले बताए ।

    मन्दिरमा जिल्लाभित्रका पर्यटक मात्रै नभई छिमेकी देश भारतबाट पनि प्रशस्त भक्तजन आउन थालेका छन् । यातायातको सुविधा र घोराही बजारको नजिकै भएका कारण पनि पर्यटकको रोजाइको विषय बनेको हो ।

    “दाङ आएका मानिस धारापानी नपुगेर फर्केको छैन जस्तो लाग्छ”, उनले भने । वनभोजका लागि प्रायः सबैजसो महिना भीडभाड हुने गर्छ ।

    विश्वको सबैभन्दा अग्लो त्रिशूल, १०८ शिवलिङ्ग, १०८ वरपीपल जोडी, १०८ समीका वृक्ष, ॐकुण्ड, पाण्डव शयन शिला, विभिन्न देवीदेवताका मन्दिर, वनजङ्गल त्यहाँ पुग्ने पर्यटकको रोजाइ बन्ने गरेको छ ।

    नजिकै सरयू गङ्गा बबई नदी र वरपर हरियाली वातावरण भएका कारण पनि दैनिक हजारौँको सङ्ख्यामा बाह्य र आन्तरिक पर्यटकको मनै लोभ्याउँछ ।

    मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले मन्दिर प्रवेशगेट निर्माण र गेटदेखि मन्दिरसम्मको बाटोमा इँटा बिछ्याएर सबैलाई सहज पुग्न सक्ने व्यवस्था गरेको बताए ।

    “गाडी पार्किङको व्यवस्था, सिमसार क्षेत्रलाई संरक्षण गरेर तलाउ निर्माण गरेका छौँ अहिले दुईवटा डुङ्गा सञ्चालनमा रहेका छन्”, उनले भने । गुरुयोजना, दाता र राज्यको लगानीमा अगाडि बढेको आचार्यले बताए ।

    धारापानी मन्दिरको शिरान सुनकोटमा देवीको मन्दिर तयार भइसकेको र भक्तजनको उपस्थिति पनि रहने गरेको उनले जानकारी दिए ।

    धारापानी धामलाई धार्मिक र पर्यटकीय ग्रामका रुपमा विकसित गर्नका लागि दुईवटा खाजा घर, १२ पूजा सामग्री पसल र एउटा कोसेली घर सञ्चालनमा रहेको सचिव आचार्यले जानकारी दिए ।

    कोसेली घर स्थापना उपमहानगरपालिकाको आर्थिक सहयोगमा धारापानीमा कोसेली घर स्थापना भएको छ । कोसेली घरमा स्थानीय उत्पादन राखिएको छ । स्थानीयस्तरमा उत्पादन भएका वस्तुलाई बिक्री गर्ने उद्देश्यले कोसेली घरको स्थापना गरेको मन्दिर व्यवस्थापन समिति कोषाध्यक्ष बोधिप्रसाद अधिकारीले जानकारी दिए ।

    दाङमा उत्पादन भएका माटोका भाडा, बाँसका सामग्री, दाल, मसौरा, सिन्की (गुन्द्रुक), सिमठारो चामल जस्ता उत्पादनले दाङको पहिचान दिने भएकाले यस्ता वस्तु बिक्रीका लागि कोसेली घर निर्माण गरिएको उनले बताए ।

    आन्तरिक र बाह्य पर्यटकलाई स्थानीय उत्पादन चिनाउने तथा स्थानीयले उत्पादन गरेको वस्तु बिक्री केन्द्र गर्ने माध्यम भएको उनले बताए ।

    जलाशयले थप्यो रौनकता घोराही-५ धारापानी मन्दिरमा पर्यटकको आकर्षणका लागि जलाशयले रौनकता थपेको छ ।

    पाण्डवेश्वर धार्मिक क्षेत्रको बृहत् पर्या-पर्यटन आयोजनाअन्तर्गत लुम्बिनी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट विनियोजन भएको रु एक करोडको लागतमा बृहत् जलाशय निर्माण गरिएको हो ।

    चार बिघा क्षेत्रफलमा फैलिएको जलाशय अहिले यहाँ आउने पर्यटकका लागि आकर्षणको केन्द्र बनेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले जानकारी दिए । यहाँ आउने भक्तजन र पर्यटकलाई जलाशयको डुङ्गा सयर गर्दा थप आकर्षण भएको उनले जानकारी दिए ।


    प्रकाशित : बिहीबार , मंसिर ६ २०८१०२:५०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार