काठमाडौं । कोरोना–१९ महामारीमा नेपाल फर्किका चीनलगायत देशमा अध्ययनरत एमबीबीएस विद्यार्थीहरुको समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा सो प्रस्ताव पठाएको हो ।
चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायत देशमा सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टनसीपको समस्या समाधानका लागि प्रस्ताव मन्त्रिपरिषद्मा लगेको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।
यसअघि चीनलगायत देशमा गई अध्ययन पूरा गराउने विषय विभिन्न तहमा कूटनीतिक पहल गरिएको भए पनि ठोस नतिजा आउन सकेको छैन । ‘कोभिडका कारण नेपाल फर्किका (एमबीबीएस) विद्यार्थीका समस्या समाधान गर्न हामी प्रतिबद्ध छौं,’ मन्त्री पौडेलले भने, ‘प्रस्ताव मन्त्रिपरिषद्मा लगेका छौं, समितिमा छलफलभएपछि चाँडै टुंगो लाग्छ ।’
सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीको हकमा अन्तर्राष्ट्रिय मान्यतामा समेत असर नपर्ने गरी बाँकी अध्ययन र प्रयोगात्मक अभ्यास र इन्टन्सीप गराई समस्या समाधान गराउन गठित कार्यदलले सुझाव दिएको थियो ।
कोभिडका महामारीका बेला नेपाल आएका एमबीबीएस विद्यार्थी अध्ययन पूराका सोही देशबाट अनुमति पाएका छैनन् । विभिन्न मेडिकल कलेजले विद्यार्थीबाट तोकिएभन्दा बढी रकम लिएको विषयमा पनि छलफल भएको मन्त्री पौडेलले जानकारी दिए ।
विद्यार्थीबाट रकम बढी लिएका मेडिकल कलेजको अनुगमन तथा आवश्यक प्रमाणका जम्मा गर्न सचिवलाई निर्देशन दिएको उनले बताए ।

