२०८३, कार्तिक १२ गते बिहीबार

धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर

धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर


  • मेरोभ्यूज
  • कार्तिक २७, २०८१ मंगलबार

  • धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर

    गण्डकी । पोखरा महानगरपालिका–३३ आँपु कसेरीस्थित मनिथान मन्दिर दुुई सय वर्षअघिदेखिको इतिहासको साक्षी हो । यस क्षेत्रमा बस्ती विकास हुँदादेखि नै स्थापित यस मन्दिरमा प्रत्येक वर्षको फागुपूर्णिमामा विशेष पूजा हुन्छ भने अन्य समयमा पनि भाकलका साथै सामान्य पूजाआजा हुने गरेको छ ।

    फागुपूर्णिमामा स्थानीयले सामूहिक रूपमा पञ्चबलिसहित विशेष पूजा गर्ने गरेका छन् । यहाँबाट देखिने पोखरा र लेखनाथ क्षेत्रका ताल तथा पोखरा उपत्यका क्षेत्रको सुन्दर दृष्यले जोकोहीलाई लोभ्याउने गरेको मनिथान संरक्षण समितिका सल्लाहकार शिवबहादुर थापाले बताए ।

    मन्दिर परिसरबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायत आधा दर्जन हिमाल एकैसाथ अवलोकन गर्न सकिने उनले जानकारी दिए । यहाँ आसपास क्षेत्रका चण्डी देउराली, कोटभैरव, कण्ठदेवी मन्दिर पनि धार्मिक महत्वका तीर्थस्थल हुन् । पृथ्वी राजमार्गका विभिन्न स्थानका साथै सेती नदी, रुपाकोट, पुम्दी तथा नवलपुरका देवचुली, बरचुलीलगायत मनोरम दृश्य यहाँबाट देख्न सकिन्छ ।

    त्यस्तै लामेआहाल, कालिका मन्दिर, हेल्मेट डाँडालगायत स्थानका दृश्य पनि यहाँबाट अवलोकन गर्न सकिन्छ । मन्दिर वरपरको करिब ३० रोपनी क्षेत्रफलमा विभिन्न पर्यटकीय पूर्वाधार निर्माण गरिएका छन् । मनिथानको पुरानो मन्दिर नजिकै दुई वर्षअघि नयाँ मन्दिर स्थापना गरिएको छ । यहाँस्थित पुरानो मन्दिरमा शिलाका साथै मौलामा नै पूजा गर्ने गरिएको र नयाँ मन्दिरमा मुक्तिनाथकै स्वरूपमा भगवान् विष्णु एवं लक्ष्मीको मूर्ति स्थापना गरिएको थापाले जानकारी दिए ।

    उनका अनुसार मन्दिर परिसरमा तीन वटा वनभोज स्थल(पिकनिक स्पोर्ट), खेल मैदान, शौचालय, प्रतिक्षालयलगायत संरचना निर्माण गरिएका छन् । यी संरचना निर्माणमा स्थानीय सरकारसँगै चन्दादाता तथा सहयोगीबाट प्राप्त करिब रु ५० लाख खर्च भएको सल्लाहकार थापाले बताए ।

    “अब यहाँको धार्मिक पर्यटकीय महत्वलाई प्रचार-प्रसार, मन्दिरसम्म पुग्ने बाटोलाई थप व्यवस्थित एवं खानेपानीको सुविधालाई सहज बनाउन सबैको साथ र सहयोग आवश्यक छ”, उनले भने ।

    मन्दिरको संरक्षणमा यहाँका गुरुङ समुदायले विशेष सक्रियता देखाएका छन् भने अन्य स्थानीय जनसमुदायले पनि यसको प्रवर्द्धन र विकासमा योगदान गर्दै आएका छन् ।

    उच्च भू-भाग भएकाले यहाँ लालीगुराँस, विभिन्न प्रजातिका वनस्पति तथा जडीबुटीहरूसमेत पाइन्छन् । मोटरबाटोमार्फत मन्दिरसम्म पुग्नका लागि छप्ल्याङ, ठूलोपाखा, मुहानखोला स्कुल, जौबारी, देउराली डाँडा, चिसापानी, कसेरी, आँपु हुँदै मनिथान पुग्ने बाटो रहेको छ भने अर्को लामगादीबाट आँपुभञ्ज्याङ हुँदै पनि यहाँ आउन सकिन्छ ।

    एकदिवसीय हाइकिङका लागि पनि उपयुक्त गन्तव्यका रुपमा विकास गर्न सकिने यो ठाउँ छोटो दूरीमा हिँड्न चाहनेका लागि रोजाइमा पर्नसक्ने भएकाले प्रचार-प्रसारमा जोड दिनुपर्ने पोखरा महानगरपालिका–३२ बेलबुटेका युवा हरिष्चन्द्र पौडेल बताए ।

    “यो मन्दिर प्राचीन इतिहासको साक्षी पनि हो । त्यसैले यहाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पर्यटन पूर्वाधार विकासमा जोड दिन आवश्यक छ । यसका लागि स्थानीयवासी, तीनवटै तहका सरकारको सामूहिक प्रयास गर्नुपर्छ”, उनले भने ।

    यहाँको लामेआहालको झोलुङ्गे पुलहुँदै पुणिटार–लामगादी सडकको लामगादीबाट भालुढुङ्गा खेत, सामुदायिक बनको सालघारी बाटो, चिसापानी, मन्दलीको थान, कसेरी गाउँ हुँदै मनिथानसम्म पदयात्रामार्फत पुग्न सकिन्छ ।

    स्थानीय नवराज घिमिरेले पोखराको व्यस्त दैनिकीबाट केही समयका लागि मुक्ति चाहनेहरूले करिब चार घण्टाको पैदल यात्रामै यहाँ पुगेर दृश्यावलोकन गर्न सक्ने अनुभव सुनाए ।

    “हामीले हालै दसैँ बिदाको अवसर पारेर उक्त क्षेत्रमा एकदिने हाइकिङ सम्पन्न गरेका छौँ”, उनले भने, “हिमाली दृश्यावलोकनसहित पोखरा र आसपासको एकसाथ अवलोकन गर्नका लागि पनि यो महत्वपूर्ण गन्तव्यका रूपमा विकास हुन सक्ने सम्भावना छ ।”

    पोखरा पर्यटन राजधानी घोषणा भइसकेको अवस्थामा बृहत् पोखराको अवधारणाका साथ आसपासका गन्तव्य प्रवर्द्धन र विकास गर्नसकेमा पर्यटकको बसाइँ अवधि लम्ब्याउन सकिने घिमिरेले बताए ।

    “धार्मिक पर्यटनका सम्भावनायुक्त गन्तव्यको प्रवर्द्धन र विकास गर्नसकेमा त्यसले बढ्ने पर्यटकीय गतिविधिले स्थानीयवासीको आयआर्जनमा समेत टेवा पुग्नेछ ।

    मनिथानजस्ता ऐतिहासिकस्थलको महत्वलाई उजागर गर्दै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु अपरिहार्य छ । यसमा सबै तहका सरकारले लगानी गरे झनै राम्रो हुन्थ्यो”, उनले अगाडि भने ।


    प्रकाशित : मंगलबार, कार्तिक २७ २०८१०९:३१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार