जलेश्वर । आफू सुस्त श्रवण (बहिरा) भएकाले त्यसको पीडा भोग्दै आएकी सुधा गौतमको समाजमा उदाहरणीय कार्यको प्रशंसा हुन थालेको छ ।
शिक्षिका गौतमले आफूजस्तै अरु सुस्त श्रवण भएका बालबालिकालाई शिक्षाको ज्योति दिएर सुन्दर भविष्य कोर्दै आएकी छिन ।
महोत्तरीको बर्दिबास नगरपालिका-३ की २९ वर्षीया गौतम गौशाला नगरपालिकामा अवस्थित त्रिभुवन माध्यमिक विद्यालयमा दस वर्षदेखि शिक्षिकाको रुपमा कार्यरत छिन ।
पहिले इशारा(साङ्केतिक भाषा)बाट बहिरा बालबालिकालाई पठन-पाठन सुरु गरेकी शिक्षिका गौतम सुस्त श्रवण कक्षाका विद्यार्थीलाई निरन्तर इशारा र सङ्केतको भरमा शिक्षादीक्षा दिँदै ज्ञानको ज्योति छर्नमा व्यस्त छिन ।
भूईमै कार्पेट ओछ्याएर कक्षाभरि पलेटी मारेर पढ्न सक्ने गरी बनाइएको बेञ्चमाथि कापी, किताब, कलम, पेन्सिललगायतका शैक्षिक सामग्री राखी सबै विद्यार्थी शिक्षिका गौतमले आफ्नो हात, आँखा र अनुहारले देखाएकी विभिन्न सङ्केत र इशाराको भरमा पढ्ने गर्दछन् ।
बाल कक्षादेखि माध्यमिक स्तरसम्मको पठन-पाठनका साथै दस जोड २ र प्राविधिक क्षेत्रमा इञ्जिनीयरिङसम्मको पठन-पाठन हुने यस विद्यालयमा सुस्त श्रवण भएका विद्यार्थीका लागि पनि विशेष कक्षा सञ्चालन भइरहेको छ ।
करिब दुई हजार बढी विद्यार्थी अध्ययनरत यस विद्यालयमा एकै सिफ्टमा सबै कक्षा तथा विद्यार्थीको पठन-पाठन सम्भव नहुँदा दुई सिफ्टमा चलाउनु परेको प्रधानाध्यापक विनोद महतो बताउँछन् ।
कक्षा ११ र १२ को बिहानको अध्यापन सकेपछि दस बजेदेखि सुरु हुने माध्यमिक स्तरसम्मको पठन-पाठन हुने गर्दछ ।
विद्यालयको एउटा कक्षा कोठामा १६ जना बालबालिकालाई एक्ली बहिरा शिक्षिकाले पढाइरहेको हेर्न सकिन्छ । उनले विशेष शिक्षाअन्तर्गत साङ्केतिक भाषामा कक्षा १ देखि ४ सम्म सर्लाहीबाट र कक्षा ५ देखि १० सम्म रौतहटको चन्द्रनिगाहपुरबाट अध्ययन गरेका थिए ।
कक्षा ११ र १२ को पढाइ पोखराबाट पूरा गरेकी उनले साङ्केतिक भाषामै सिरहाबाट नेपाली भाषामा बिएडसम्मको अध्ययन गरेको हो । त्यसपछि उनले त्रिभुवन विश्व विद्यालयमा बहिरा विद्यार्थीका लागि सञ्चालित विशेष कक्षामा पढाउने करारमा जागिर पाएको हो ।
कानले राम्ररी सुन्न नसक्ने र मुखले पनि राम्ररी बोल्न नसक्ने भएकाले उनी र उनका विद्यार्थीलाई बाहिर कहाँ के भइरहेको छ भन्ने कुरामा खासै चासो रहेको पाइँदैन ।
सायद त्यसैले होला सबै विद्यार्थीहरु पठन-पाठनमा निक्कै अब्बल र मेधावी देखिएको प्रधानाध्यापक महतो बताउँछन् । बालबालिकाहरुले कसरी शिक्षिका गौतमको सबै कुरा बुझ्छन् र कसरी उनीसँग इशारा र सङ्केतमै कुराकानी गर्छन् भन्नेमा धेरैलाई अनौठो र आश्चर्य लाग्नसक्छ ।
बालबालिकाहरुले कुराकानी मात्रै नभएर उनको सङ्केत र इशाराकैभरमा आफ्नो अध्ययन अध्यापनलाई पनि अगाडि बढाएका छन् । इशारा र सङ्केतकै भरमा उनीहरु शिक्षिका गौतमले भनेको कुरा लेखेर, गृहकार्य गरेर र कक्षामा प्रस्तुत गरेर पनि देखाउँछन् ।
ती सबै विद्यार्थी कक्षा १ देखि ५ सम्म अध्ययनरत छन् । प्रत्येक वर्ष अन्य छात्रछात्राहरु सरह बहिरा बालबालिकाले पनि परीक्षा दिने र उत्तीर्ण भएर नयाँ कक्षामा जाने गरेको शिक्षिका गौतम बताउँछन् ।
कक्षाकोठाको चारैतिरको भित्तामा विभिन्न सन्देशमूलक र बालबालिकालाई अध्ययनको लागि उपयोगी हुने चित्र र सङ्केतहरु कोरिएको छ । विद्यार्थीहरुले ती चित्र र सङ्केतहरु र आ-आफ्नो कापी किताबको माध्यमले अध्ययन गर्ने गर्दछन् ।
आफूजस्तै फरक क्षमता भएका विद्यार्थीलाई पढाउन पाउँदा आफू निक्कै खुसी भएको बताउँदै शिक्षिका गौतमले शिक्षाको ज्योतिले आफू जस्तै बालबालिकालाई आफूजस्तै संसार हेर्ने र बुझ्ने बनाउन पाउँदा निकै खुसी लागेको त्यहाँ पुगेका सञ्चारकर्मीलाई लेखेर देखाए ।
उनले बहिरा बालबालिकालाई पठन-पाठन गराउँदा देखिएका चुनौतीको बारेमा सोध्दा उनी भन्छिन, ‘‘सुस्त श्रवण(फरक क्षमता)भएका छात्रछात्राहरु सामान्य मानिसभन्दा अलिक फरक हुन्छन् ।"
त्यस्ता क्षमता भएका बालबालिकाहरु सामान्य विद्यार्थीभन्दा बढी जिद्धी, झगडालु, चाँडै रिसाउने र भाग्न खोज्ने प्रवृतिको हुने गरेकोले उनीहरुलाई सम्हाल्न निक्कै समस्या र कठिनाइ हुने गरेको उनले बताइन ।
अन्य कक्षा जस्तो वैकल्पिक शिक्षिक, शिक्षिका नहुँदा एक्लैले दिनभर पढाउनु पर्दा आफू र विद्यार्थीहरु पनि थकित हुने गरेको उनको गुनासो छ ।
शिक्षिका गौतमले अरु शिक्षक, शिक्षिका सरह सामान्य परिस्थितिमा बिदा पनि पाउन्न । बिरामी वा अन्य कारणले उनी विद्यालय आउन नसकेको दिन ती विद्यार्थीले राम्ररी पढ्न पाउँदैनन् । आफू विद्यालय आउन नसक्ने दिन आफैँले विकल्पको रुपमा अरु शिक्षक ल्याउनु पर्ने र विद्यार्थीलाई पनि सम्झाइबुझाइ जानु पर्ने बाध्यता रहेको उनले बताइन ।
शिक्षिका गौतमले विद्यार्थीहरु त आफूजस्तै भएकाले उनीहरुसँग बस्न, पठन-पाठन गर्न कुनै समस्या नभएको तर विद्यालयमा बाहिरबाट आएका आगन्तुक, अतिथि र अन्य व्यक्तिहरुसँगको सम्वादको लागि विद्यालयमा बहिरा विद्यार्थी र आफ्नै लागि पनि दोभासेको व्यवस्थापन गरिनु पर्ने माग गरिन ।
शिक्षिका गौतम फरक क्षमताका बालबालिकाहरु देशभर नै रहेकाले उनीहरुलाई पढ्ने वातावरण निर्माण गर्न तीनै तहका सरकारले गम्भीरता देखाउनु पर्ने बताउँछिन ।
प्रत्येक गाउँबस्तीमा रहेका सुस्त श्रवण भएका बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् र सामान्य नागरिक जस्तो बोल्न र सुन्न नसके पनि शिक्षाको माध्यमले ज्ञानको ज्योतिको साहारामा यस संसारमा सम्मानित जीवनयापन गर्न सकुन् भने उनको धारणा रहेको छ ।
उनले फरक क्षमता भएकाहरुका लागि जिल्ला, प्रदेश र सङ्घमा रहेका विभिन्न सङ् सस्थाहरुमा समेत आवद्ध छन् । हाल उनी महोत्तरी जिल्ला बहिरा सङ्घको अध्यक्ष हुन् भने राष्ट्रिय बहिरा महासङ्घ मधेश प्रदेशको सचिव छिन ।
त्यसैगरी राष्ट्रिय बहिरा महासङ्घको केन्द्रीय सदस्य र राष्ट्रिय अपाङ्ग महासङ्घको मधेश प्रदेश सदस्यको रुपमा समेत शिक्षिका गौतम कार्यरत रहेकी छिन । फरक क्षमताका सवालहरुमा देश विदेशमा आयोजना हुने सभासमारोहमा पनि उनको प्रतिनिधित्व रहने गर्दछ ।
प्रधानाध्यापक महतोका अनुसार त्यस विद्यालयमा वीस वर्षदेखि विशेष कक्षा (सुस्त श्रवण कक्षा) सञ्चालन हुँदै आएको छ । उनले अहिलेसम्म यस विद्यालयबाट थुप्रै विद्यार्थीले प्राथमिक शिक्षा पाएर यहाँबाट गइसकेको बताए ।
यहाँबाट उत्तीर्ण भएका विद्यार्थी सिरहा र सर्लाहीसहितका जिल्लामा जाने गर्दछन् । शिक्षिका गौतम जस्तै थप शिक्षक, सुस्त श्रवण भएका विद्यार्थी र शिक्षकलाई बाहिरी व्यक्तिसँगको सम्वादका लागि दोभासे र उनीहरुको समूचित व्यवस्थापनका लागि आफूले पटक-पटक सम्बन्धित निकायमा लिखित र मौखिक रुपमा माग गर्दै पत्राचार गर्दै आएको प्रधानाध्यापक महतोले बताए ।
विशेष कक्षा सञ्चालनका लागि यस विद्यालयमा शिक्षा मन्त्रालयबाट प्रत्येक वर्ष प्रतिविद्यार्थी रु चार हजारका दरले प्राप्त हुने गरेको र त्यसै रकमबाट विद्यालयले उनीहरुको आवास, खानपिन, लत्ताकपडादेखि शैक्षिक सामग्रीको व्यवस्थापन हुँदै आएको छ ।

