२०८३, कार्तिक १३ गते शुक्रबार

बेनी बजारमा जोगी नाच प्रदर्शन

बेनी बजारमा जोगी नाच प्रदर्शन


  • मेरोभ्यूज
  • भाद्र २७, २०८१ बिहीबार

  • बेनी बजारमा जोगी नाच प्रदर्शन

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा जोगी नाच प्रदर्शन गरिएको छ । बेनीको सांस्कृतिक पहिचान बनेको एकमहिने वर्षे नाचअन्तर्गत जोगी नाच देखाइएको हो ।

    नेवार समुदायको साझा संस्था नेपाल भाषा मंकाः खलःअन्तर्गतको युवाहरुको समूह ल्याम्हः पुचःको नेतृत्वमा बेनी बजार र मङ्गलाघाट बजारमा दिनभर जोगीनाच प्रदर्शन गरिएको थियो ।

    करिब ३० जना बढी युवा र बालक सहभागी भएर शिव, पार्वतीको भेषमा सजिएर परम्परागत जोगी नाच देखाइएको जोगी नाचका संयोजक सुशीलकुमार श्रेष्ठले बताए ।

    उनका अनुसार नयाँ कलाकारलाई तालिम दिएर जोगी नाचमा सहभागी गराइएको थियो । युवाको समूह नाचगानसहित बजारमा निस्किएपछि दिनभर सर्वसाधारणले रुचिपूर्वक नाच अवलोकन गरेका थिए ।

    बजारमा जोगी नाच प्रदर्शन गर्नुअघि लक्ष्मीनारायण मन्दिर परिसरमा महादेव र पार्वतीको पूजागरी उनीहरूलाई खुसी पार्न ताण्डव नृत्यसहित युवालाई जोगी बनाएर बजारमा नचाउने प्रचलन रहेको नेपाल भाषा मंकाःखलःका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए ।

    नृत्यका साथै घरघरमा पुगेर भिक्षास्वरुप सहयोग जुटाउने चलन पनि छ । भिक्षामा सङ्कलन हुने रकमलाई वर्षे नाचको व्यवस्थापन तथा संरक्षणमा खर्च गरिन्छ । बेनी बजारमा बस्ती बसेदेखि नै यो नाच देखाउन थालिएको हो ।

    यस वर्ष लाखे नाच, घोडा नाच, जोगी नाच, नागनागिनी नाचसहित श्रीकृष्ण रथयात्रालगायत कार्यक्रम समावेश गरिएको ल्याम्हः पुचः का अध्यक्ष जेनेश श्रेष्ठले बताए ।


    प्रकाशित : बिहीबार , भाद्र २७ २०८१११:४७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार