काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफनो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । कमलादीस्थित प्रज्ञा भवनमा आज सुरु भएको बन्दसत्रमा उनले वैचारिक एवं राजनीतिक दस्तावेज प्रस्तुत गरेका हुन् ।
प्रचण्डले वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत् गरिरहनुभएको छ । उहाँले दस्तावेजको चारवटा भाग प्रस्तुत् गरिसक्नुभएको छ । उहाँले दस्तावेज प्रस्तुत् गर्न सुरु भएको एक घण्टा ३५ मिनेट पुगेको छ । दस्तावेजको केहीं अंशमात्र बाँकी रहेको उहाँले जानकारी गराउनुभएको छ ।

उक्त प्रतिवेदन हालसम्म प्रतिनिधि तथा पर्यवेक्षकलाई वितरण गरिएको छैन । अध्यक्षको प्रतिवेदनलगत्तै नेता देवप्रसाद गुरुङले विधान संशोधन प्रस्ताव पेश गर्नेछन् ।

बन्दसत्र सञ्चालनका लागि पार्टी स्थायी समिति सदस्य कृष्णबहादुर महराको अध्यक्षतामा गिरिराजमणि पोखरेल, गणेश साह, पर्शुराम तामाङ, पूर्णाकुमारी सुवेदी, पर्शुराम रम्तेल र रुपा महर्जन सदस्य रहेको सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।

बैठकले नेता महरालाई अध्यक्ष मण्डलको अध्यक्षमा चुनेको हो । वैचारिक राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न आजै समूह विभाजन गरी छलफल सुरु गरिने कार्यक्रम छ ।

