कैलाली । कृषिलाई प्रविधिसँग जोडेर विकास तथा विस्तारमा नलागे केही वर्षमै देशमा खाद्य सङ्कट उत्पन्न हुन सक्ने भन्दै कैलालीका किसानले चिन्ता व्यक्त गरेका छन् ।
‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २१औँ धान दिवस मनाइरहँदा यहाँका किसानले सरकारले कृषक र कृषि क्षेत्रलाई उपेक्षा गरिरहेको गुनासासमेत गरे ।
कृषि उद्यमी सूर्यबहादुर थापाले कृषि क्षेत्रलाई प्रवर्द्धन गर्न सरकारले ठोस योजना र कार्यक्रम नल्याउँदा कृषि क्षेत्रमा भविष्य देखेका युवा पनि विदेश पलायन भएका र उब्जा जमिन पनि बाँझो रहेका बताए ।
कृषि उद्यमी थापाले भने, “तराईको खेतीयोग्य जमिन कित्ताकाट गरेर घरबासमा परिणत हुँदैछ ।
किसानलाई प्रोत्साहन र प्रविधि सहयोग नीतिको अभावमा बाँकी जग्गा पनि बाँझो रहँदैछन्, यसले मेहनत पनि खेर गइरहेको भन्दै धेरैजना पलायन भइसके । यसतर्फ सरकारले ध्यान दिनुपर्छ ।”
उनले तीनै तहका सरकार मिलेर कृषि क्षेत्रको विकासमा लाग्नु पर्ने सुझाव दिए । “तराईका उर्वरभूमि घरबासमा परिणत हुने, पहाड तथा हिमाली जिल्लाबाट निरन्तर बसाइँसराइ गर्ने र कृषिमै सम्भावना देखेका युवा पनि रोजगारीका लागि विदेशिनुले थप समस्या निम्त्याउँदै गएको छ ।
त्यसैले तीनै तहका सरकारले कृषिलाई प्राथमिकतामा राखेर काम नगर्ने हो भने निकट भविष्यमै खाद्य सङ्कट निम्तिनसक्छ ।
”कैलालीको लम्कीका किसान बखतबहादुर बिष्टले परम्परागत खेतीबाट आम्दानीभन्दा खर्च बढी हुन थालेपछि धेरै किसान उर्वर जमिन बाँझो राख्न बाध्य भएको बताए ।
किसानमा आधुनिक प्रविधिको सहज पहुँच नहुँदा, माटो परीक्षण बिना अत्यधिक रासायनिक मलको प्रयोगले उत्पादनमा ह्रास आउन थालेको किसान बिष्टको बुझाइ छ ।
“सरकारले असार १५ गतेलाई औपचारिकताका लागि धान दिवस मनाउने गरेको छ । सिँचाइ, मलखाद, कृषिको आधुनिकीकरण तथा औद्योगिकरणका लागि काम गर्न सकिएको छैन ।
कृषि क्षेत्रलाई औपचारिकतामा मात्रै सम्झिने र सम्बोधन गर्ने परिपाटीले अबका समस्या समाधान गर्न कठिन छ, किसान बिष्ट भने ।
विगतमा तीन विघाभन्दा बढी जमिनमा धानखेती गर्दै आएका जानकी गाउँपालिका-८ मटेराका मक्कुलाल चौधरी उत्पादनभन्दा लागत बढी हुने भएकाले अहिले केही जमिनमा औपचारिकताका लागि मात्र खेती गर्ने गरेको बताए ।
अहिले छोराछोरी खेती किसानी गर्न मान्दैनन् । ज्याला, मजदुरीमा अरूबाट काम गराउँदा पनि लागतअनुसार उब्जनी हुँदैन, घरमा हुँदाहुँदै किन बाँझो राख्नु भनेर केही जमिनमा जेनतेन धान रोपाइँ गरिरहेका छौँ, किसान बिष्टले भने, न जवान केटाकेटीले सहयोग गर्छन्, यहाँ लगाउने श्रम अरू ठाउँमा लगाए फाइदा छ भन्छन् ।
सरकारले पनि न खेती गर्ने समयमा मल, बीउमा राहत दिन्छ न त उत्पादनअनुसारको मूल्य, अनि कसरी किसान कृषिमा आकर्षित हुन्छन् ।
स्थानीय भक्तबहादुर थापाले कृषि क्षेत्रको विकासमा सरकारले स्पष्ट नीति ल्याउनु पर्ने सुझाव दिए ।
तीन तहका सरकार भए पनि किसानको जीवनस्तर र पेसामा सुधार हुन नसक्नु नै कृषक पलायनका कारण भएका उनको भनाइ छ ।
लम्कीचुहा नगरपालिकाका उपप्रमुख जुना चौधरी देशको अर्थतन्त्र बलियो बनाउन कृषि क्षेत्रलाई मजबुद बनाउनु आवश्यक रहेको बताए ।
लम्कीचुहा नगरपालिकाले कृषि क्षेत्रमा थुप्रै कार्यक्रमहरु ल्याए पनि अझै त्यो बजेट लक्षित वर्गसम्म नपुगेको गुनासा आउँछन् ।
अब हामी पनि गम्भीर भएर अगाडि बढ्नु पर्ने महसुस भएको, उनले भने । धान दिवसका अवसरमा देशभर जस्तै कैलालीमा पनि स्थानीय पालिका, विभिन्न सङ्घसंस्था तथा राजनीतिक पार्टीले सामूहिक रोपाइँ गरे ।
‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिनसम्म कैलालीको पूर्वी क्षेत्रमा ५० प्रतिशत बढी किसानले धान रोपेर सकेका छन् ।
सिँचाइको सहज पहँुच र रानी जमरा, कुलरिया सिँचाइ आयोजनाले समयमै पानी छाडेका कारण यस वर्ष समयमै रोपाइँ भएको मटेराका मङ्गलबहादुर चौधरीले सुनाए ।

