काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरी बललाई सुदृढ सङ्गठनका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । २३ औँ सशस्त्र प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सङ्गठनको सर्वाङ्गीण विकास तथा स्तरोन्नतिका लागि विद्यमान कानुनको समसामयिक पुनरावलोकन गर्न सशस्त्र प्रहरी ऐन निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिए ।
सीमा सुरक्षा तथा सीमास्तम्भ मर्मतसम्भार, सीमापार अवैध चोरीपैठारी, मानव बेचविखन तथा लागुपदार्थको ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरी विशेष फौजका रुपमा परिचालित भएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सशस्त्र प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउन क्रियाशील रहेको बताए ।
सीमा क्षेत्रमा रहेको सुरक्षा पोस्टलाई हातहतियार, बन्दोवस्ती, पूर्वाधार र जनशक्तियुक्त तुल्याइ अन्य सुरक्षा निकाय सरह बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै उनले सीमा क्षेत्रका वासिन्दाको मन जितेर काम गर्न निर्देशन दिए । भूकम्प, आगलागी, बाढीपहिरोलगायत विपद्का समयमा गरेका कामको सरहाना गर्दै उनले सशस्त्र प्रहरीको उद्धार क्षमता थप प्रभावकारी बनाउन आवश्यक स्रोत साधनको व्यवस्था गरिने बताए ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राज्यले सुम्पेको जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्दै आएको उल्लेख गर्दै राज्यका सामु आइपरेका सुरक्षा चुनौतीलाई पररास्त गर्न हरसम्भव प्रयास गरिएको बताए । उनले जनअपेक्षित सुरक्षालाई सङ्गठनको सरोकार रुपमा ग्रहण गरी राज्यको जिम्मेवार र व्यावसायिक सुरक्षा निकायका रुपमा परिचय बनाउँदै जन र मनमा स्थान जमाउन सफल भएको दाबी गरे ।
समारोहमा प्रमुख अतिथी पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र प्रहरी बलले प्रकाशन गरेको वर्ष पुस्तकको विमोचन गरेका थिए । कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सीमाविद् बुद्धिनारायण श्रेष्ठ र प्राडा रमेशराज कुँवरलाई एपिएफ सम्मान प्रदान गरेका थिए ।
सो अवसरमा प्रधानमन्त्री दाहालले अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक दिलीपकुमार श्रेष्ठलाई एपिएफ लाइफटाइम अवार्ड प्रदान गरेका थिए । समारोहमा सशस्त्र प्रहरीका कलाकारले विविध सांस्कृतिक प्रस्तुति र बलले निर्वाह गर्दै आएको जिम्मेवारीसम्बन्धी प्रहसन प्रस्तुत गरेका थिए ।

