२०८३, कार्तिक १२ गते बिहीबार

मेरो विचार
अब माओवादी ‘ब्राण्ड’ समातेर देशको विकास सम्भव छैन

अब माओवादी ‘ब्राण्ड’ समातेर देशको विकास सम्भव छैन

‘विश्व पूँजीवाद र क्षेत्रीय पूँजीवादसँग पदचाप मिलाएर त्यसको ‘भ्यालु चेन’सँग जोडिएर अर्थतन्त्रलाई रुपान्तरण गर्नुपर्छ’


  • डा बाबुराम भट्टराई
  • चैत्र ११, २०७८ शुक्रबार

  • अब माओवादी ‘ब्राण्ड’ समातेर देशको विकास सम्भव छैन

    करिब ४० वर्षदेखि हाम्रो अर्थतन्त्रको अवस्था उस्तै छ । हामी गरिब छौँ, आयातमा निर्भर छौँ, पूँजीको अभाव छ, भएको पूँजी खर्च गर्ने क्षमता छैन, भ्रष्टाचार बढेको छ, असमानता र विभेद छ, हामी सबैलाई थाहा छ । किन यसो भयो त ? चार/पाँच दशकदेखि आर्थिक वृद्धिदर औसत ४ प्रतिशत छ । यसबीचमा हाम्रो छिमेकी मुलुकहरुले तीव्र आर्थिक वृद्धि गरेका छन् । किन यस्तो भइरहेको छ ? संस्थागत, संरचनात्मक र वैचारिक कारण के हो ? हाम्रो प्रश्न त्यहाँ हुनुपर्छ । विश्वको अर्थतन्त्रको प्रवृत्ति के हो ? क्षेत्रीय प्रवृत्ति के हो ? त्यसको प्रभाव के परिरहेको छ ? के त्यसबाट मुक्त हुन सकिन्छ ? हो त्यसको विश्लेषणसहितको समाधान चाहिन्छ । ४० वर्षदेखि हामीले यो कुरा भनिरहेका छौँ, तर हामी कहाँ चुकिरहेका छौँ ? अझै हाम्रो चेत आइरहेकाे छैन ।

    त्यसैले मेरो पहिलो आग्रह के हो भने, यो सौदावाजी भन्ने नराखौँ, समाजवाद उन्मुख भनेको के हो ? यो शब्दको उत्पतिमा मैले ठूलो योगदान गरेको छु । संविधानमा समाजवाद उन्मुख अर्थव्यवस्था शब्द राख्न कांग्रेसका साथीहरुसँग मैले ठूलो वहस गरेको छु । त्यतिबेला हामी माओवादी निकै क्रान्तिकारी ढंगले प्रस्तुत भएका थियौँ । अहिल्यै समाजवाद चाहिन्छ भन्ने तर्क गथ्र्यौं । नेपाली कांगेस उदारवादमा जानुपर्छ भन्थ्यो । बीचको शब्द राखाैं भन्ने क्रममा समाजवाद उन्मुख शब्द राखिएको हो । यो समाजवाद होइन, समाजवादमा पुग्ने भनेको हो । अहिले नै समाजवाद समाजवाद भन्न थालियो भने त्यो आउँदा पनि आउँदैन । 

    पहिलो कुरा अहिलेको युग धेरै अगाडि बढिसकेको छ । मुख्य कुरा विचार नै हो । जुन विचारमा आधारित भएर अर्थतन्त्रलाई निर्देशित गथ्र्यौं । उदारवादी, पूँजीवाद विचार र समाजवादी साम्यवादी विचार । यी दुई वटा विचारका बीचमा दोस्रो विश्वयुद्धपछि ठूलो संघर्ष भएको हो । शीतयुद्ध यसैमा आधारित थियो । ९० को दशकसम्म पुग्दा यो समाप्त भयो भनियो, पछि २००८ सम्म आइपुग्दा यो उदारवाद होइन रहेछ भन्ने महसुस भयो । अहिले यहाँसम्म आइपुग्दा न उदारवाद, पूँजीवाद छ, न समाजवाद, साम्यवाद छ । 

    दुई वटा साँढेहरु जुधेभने सिङ फुक्लेपछि दुवै सिङ विहीन बन्छन् । उदारवाद र समाजवाद यी दुवै पहिलो शीतयुद्धमा लडेर सिङ फुक्लेर यी दुवैले आफूलाई नयाँ ढंगले अगाडि बढाउने कोशिस गरेका छन् । युरोप अमेरिकालाई हेर्नुभयो भने केहीले उदारवादको खुलेर विरोध गर्छन्, चीनमा शास्त्रीय साम्यवादको कुरा गरिन्थ्यो । हामी माओको सांस्कृतिक क्रान्ति कालको अर्थराजनीति शास्त्रको विषयमा निकै पढ्थ्यौं । त्यसलाई छाडेर चीन देङ सियाओ पिङको अवागमनपछि अर्को दिशातर्फ अगाडि गएको छ । पहिलो कुरा विचार हो । हिजोको उदारवार, पूँजीवाद र समाजवाद, साम्यवाद त्यो रुपमा छैन । अहिले विश्व एक प्रकारको विचार शून्यताको अवस्थामा पुगेको छ । 

    उदारवाद र पूँजीवादले अत्यन्त तीव्र विकास गरेका हुन् । यूरोपेली क्रान्तिपछि र अमेरिकी स्वतन्त्रता संग्रामपछि खासगरी सिभिल वारपछि तीव्र गतिले विकास गरेका हुन् । २० औँ शताब्दीमा अक्टोबर क्रान्तिपछि चीन र रुसमा तीव्र परिवर्तन आएको हो । पछिल्लो चरणमा जापान, जर्मनीलगायतले नयाँ मोडलले विकास गरेका हुन् । त्यसैले उदारवादले खुला अर्थ बजारका अधारमा बजार विस्तार गरेर औपनिवेश जमाएर छिटो विकास गरेको हो । त्यतिबेला आफ्नो मात्र बजार पर्याप्त हुँदैनथ्यो । आफ्नो सैन्य शक्तिका बलमा बाहिर गएर औपनिवेश जमाउने र त्यहाँको बजारको प्रयोग गर्ने त्यो ढंगले उदरवाद पूँजीवादले विकास गरेको हो । 

    तर पछि अक्टोबर क्रान्तिपछिको समाजवादको अवस्था आयो त्यसले फेरि पूर्णरुपमा राज्यको नियन्त्रण गरी सोभियत संघले पनि दुई अंकको आर्थिक वृद्धि हासिल गरेर अर्थतन्त्रको रुपान्तरण गरेको हो । चीनले जतिसुकै कमिकमजोरी गरेको भएपनि एउटा कालखण्डमा तीव्र विकास गरेकै हो । तर त्यो एक प्रकारको सर्वसत्तावादी प्रणालीअन्तर्गत सम्पूर्ण साधनस्रोतको प्रयोग गरेर चीनले विकास गरेको थियो । तर अहिले न उपनिवेश जमाएर उदारवादी ढंगले विकास गर्ने छुट वा सम्भावना हामीलाई दिएको छ । अहिलेको नेपाल हेर्नुहोस्, हामी पूर्वऔद्योगिकीकरणको अवस्थामा छौँ । हामीले हाम्रो अर्थतन्त्रलाई तीव्र गतिले रुपान्तरण गर्ने हो भने इतिहासले देखाएका दुईवटा बाटा छन् ।

    एउटा पूँजीवाद वा उदारवादले बाह्य बजार कब्जा गरेर त्यसमार्फत तीव्र विकास गर्ने सुविधा हामीलाई छैन । अर्को एकदलीय प्रणालीले सम्पूर्ण सत्ता, साधनस्रोत र श्रमशक्ति आफूले परिचालन गरेर तीव्र विकास गरेर उत्पादन वृद्धि बढाउने छुट र सम्भावना पनि हामीलाई छैन । यो अहिलेको नेपालको यथार्थ हो । त्यसैले हामीले पूर्वऔद्योगिकीकरणको अवस्थामा जकडिएको अर्थतन्त्रलाई तीव्रगतिमा औद्योगिक रुपान्तरण गर्ने हो भने अहिलेको विश्व परिस्थिति, छिमेक र नेपाललाई ध्यान दिएर नीति अपनाउनै पर्छ । त्यसैले पहिलो काम वैचारिक हिसाबले हामीले मुक्त बनौँ, हिजोका जुन पदार्पणको घेरामा नपरौँ । 

    अब हामीले माओवादी ब्राण्ड समातेर देशको विकास हुँदैन । जनयुद्धप्रति मलाई गर्व छ । हामीले माओवाद किन भनेका थियौँ भने, माओवादको राजनीति फौजी पक्ष थियो त्यो सफलतापूर्वक प्रयोग गरेका थियौँ । तर जहाँसम्म आर्थिक निर्माणको पक्ष छ । पूरानो सत्ता भत्काउन फौजी पक्षको आवश्यकता थियो हामीले त्यो भत्कायौँ । तर नयाँ निर्माण गर्नका निम्ति अब त अर्थराजनीति पक्ष जरुरी छ । माओको अर्थराजनीति पक्षबाट अब हुँदैन । त्यसैले अब माओवादी होइन त्यइवादी भएर मात्र आर्थिक विकास र समृद्धि ल्याउन सकिन्छ । 

    अन्य गैरकम्युनिष्टहरुले पनि लिक्युवानवादी बन्नुपर्छ । त्यो भनेको व्यवहारवाद हो । देङ सियाओ पेङले भनेका थिए– बिरालाका काम मुसा मार्ने हो, सेतो भएपनि कालो भएपनि मुसा मार्यो भने त्यो राम्रो विरोलो हो । त्यसैले हामीले छिटो उत्पादन वृद्धि गर्नुछ, दुई अंकको आर्थिक वृद्धि हासिल गर्नुछ, रोजगारी वृद्धि गर्नुछ, यो व्यापार घाटा घटाउनुछ, देशको तीव्र गतिमा आर्थिक विकास गर्नुछ भने हामीले हिजोको उदारवाद र समाजवाद मोडल भन्दा फरक ढंगले अगाडि जाने आँट गर्नुपर्छ । 

    दोस्रो, नेपाली समाजको विश्लेषण ठिक ढंगले गर्नुपर्छ । अबको विश्व भूमण्डलीकृत पूँजीवाद हो । विश्व नै पूँजीवादी भइसक्यो । हामीले साम्यवाद भनेपनि चीनले बजार समाजवाद भनेको छ । उसले विश्व व्यापार संगठनमा आबद्ध भएपछि तीव्र विकास गरेको छ । यो बीचमा ठूलो फड्को मारेको छ । अहिलेको अवस्था भनेको विश्व पूँजीवाद हो । विश्व पूँजीवादका केन्द्र र किनारा छन् । केन्द्रका देशहरु अलिबढी विकसित छन् । उनीहरुले पूँजी निर्यात गर्छन्, वित्तीय पूँजीको विभिन्न ढंगले चलखेल गर्छन्, त्यसको माध्यमबाट आफ्ना अधिपत्य जमाउँछन् । 

    हामीजस्ता किनाराका देशहरुको पूँजीवादी रुपान्तरण भएको छैन, औद्योगिकीकरण भएको छैन, अहिले पनि अर्थतन्त्रको मुख्य आधार कृषि नै छ । ६० प्रतिशत जनसंख्या कृषिमा आधारित भएको देश कहीं विकसित हुन्छ ? हाम्रो अवस्था औद्योगिकीकरण पूर्वको अवस्था हो । विकसित देशमा ५ प्रतिशतभन्दा कम जनसंख्या कृषिमा संलग्न हुन्छन् । हामी विश्व पूँजीवादी किनाराका छालभित्र परेका तर आफैँ पूँजीवादी क्रान्ति नभएका गैरपूँजीवादी पूँजीवादी पूर्वका संरचना बोकेका तर पूँजीवादी समुद्रका टापुजस्ता देश छौँ । हामीले विकासको बाटो खोज्नुपर्छ । यसमा सामन्ती अर्धऔपनिवेशिक भन्नुको कुनै अर्थ छैन । 

    हाम्रो अर्थतन्त्र आधा पूरानै प्रणालीमा जकडिएर बसेको छ । आधा पूँजीवादको छालमा डुबेर निथ्रुक्क भएको छ । त्यसैले प्रणाली यो पूँजीवादी नै हो तर औद्योगिक पूँजीवादी होइन्, उत्पादनशील पूँजीवादी होइन, खाली यो भएको अतिरिक्त श्रमिकले रेमिट्यान्समार्फत पैसा कमाएर ल्याउँछन् त्यसको चलखेल गरेर टाठोबाठो राजनीतिज्ञ, बुद्धिजीवि, व्यवसायी भन्ने तप्काले त्यसैको केही अंश उपभोग गरिराखेको छ । बहुसंख्यक किसान भएर गाउँमा बसिराखेको छ, कि त्ससैको एउटा छोराछोरी विदेशमा गएर श्रम गरेर थोरै पैसा कमाएर ल्याएको छ । 

    त्यसैले यो भनेको किनारा पूँजीवाद नै हो । यो उत्पादनशील हुँदैन । त्यसैले अब अर्थतन्त्रको नयाँ चारित्रीकरण गर्नुपर्छ, हिजोकै अवस्थाको मात्र चित्रण गरेर हुँदैन । पूँजीवादभित्रको किनाराको एउटा पूँजीवाद हो, विश्वको अर्थतन्त्रसँग जोडिएको छ, यसलाई कसरी पूरापूर अन्त्य गर्न त सकिँदैन । अब विश्व पूँजीवादी प्रणाली भित्रैबाट हामीले हाम्रो स्वत्व कसरी कायम गर्न सक्छौं ? तुलनात्मक लाभको क्षेत्र के हुन् त्यसमा केन्द्रित भएर विश्व पूँजीवाद र क्षेत्रीय पूँजीवादसँग पदचाप मिलाएर त्यसको ‘भ्यालु चेन’सँग जोडिएर हाम्रो अर्थतन्त्रलाई रुपान्तरण गर्नुपर्छ । 

    (जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौंमा आयोजना गरेको प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन–२०७८ मा व्यक्त गरेको विचारको सम्पादित अंश ।)


    प्रकाशित : शुक्रबार, चैत्र ११ २०७८११:१०
  • शेयर:


  • प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार