२०८३, कार्तिक १३ गते शुक्रबार

अम्बे स्टिल्सलाई एक महिनामै थप बिजुली

अम्बे स्टिल्सलाई एक महिनामै थप बिजुली


  • मेरोभ्यूज
  • फाल्गुण २९, २०७८ आइतबार

  • अम्बे स्टिल्सलाई एक महिनामै थप बिजुली

    काठमाडाैं । उद्योगलाई पूर्ण क्षमतामा बिजुली उपलब्ध गराउने योजनाअनुसार नेपाल विद्युत् प्राधिकरणले आक्रामक अभियान सुरु गरेको छ । देशभित्रै खपत बढाउने लक्ष्यका साथ प्राधिकरणले ठूला उद्योग प्रतिष्ठानलाई माग अनुसार नै बिजुली दिने भएको छ ।

    सोही क्रममा बाँकेको नेपालगञ्ज क्षेत्रमा सञ्चालित अम्बे स्टिल्स उद्योगलाई एक महिनाभित्रमा ३५ मेगावाट बिजुली दिने तयारी गरेको छ । प्राधिकरणले अहिले सो स्टिल्स उद्योगलाई आठ मेगावाट विद्युत् आपूर्ति गरिरहेको छ । उद्योगले क्षमता विस्तारका लागि थप २७ मेगावाट विद्युत् माग गरेको छ ।

    प्राधिकरणले उद्योगसम्म विद्युत् पु¥याउनका लागि आवश्यक सम्पूर्ण संरचनाको निर्माण सम्पन्न गरी एक महिनाभित्रमा थप २७ मेगावाटसहित अम्बे स्टिल्सलाई ३५ मेगावाट बिजुली दिन लागेको हो । उद्योगसम्म विद्युत् पु¥याउनका लागि कोहलपुर सवस्टेशनबाट ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ ।

    उद्योगले पनि थप विद्युत् आपूर्ति लिनका लागि आफ्नो परिसरमा सवस्टेसन निर्माण र कारखानाको क्षमता विस्तारको काम अन्तिम चरणमा पु¥याएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले शनिबार मात्रै स्थलगत अवलोकन भ्रमण गरी नेपालगञ्ज तथा कोहलपुर औद्योगिक क्षेत्रमा सञ्चालित र आगामी दिनमा खुल्न सक्ने उद्योगलाई विद्युत् आपूर्ति दिन निर्माण गर्नुपर्ने विद्युतीय पूर्वाधारका विषयमा छलफल गरेको छ ।

    टोलीले नेपालगञ्ज क्षेत्रमा सबैभन्दा बढी विद्युत् खपत गर्ने अम्बे स्टिल्स्को भ्रमण गरी एक महिनाभित्र विद्युत् आपूर्ति लिने गरी आफूले गर्नुपर्ने सम्पूर्ण पूर्वतयारीका काम सक्न उद्योग व्यवस्थापनलाई आग्रह गरेको छ । “विद्युत् खपत बढाउन उद्योगलाई मागेजति बिजुली दिइरहेका छौँ, औद्योगिक करिडोरमा विद्युत् खपत बढाउन नयाँ पूर्वाधारको निर्माण र भइरहेका संरचनाको सुदृढीकरण तथा स्तरोन्नति अभियानकै रुपमा अगाडि बढाइएको छ”, कार्यकारी निर्देशक घिसिङले भने ।

    अम्बे स्टिल्सले विद्युत् जडानका लागि आफ्ना पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पु¥याएको छ । यस्तै आवश्यक तयारी पूरा गर्नासाथ विद्युत् आपूर्ति दिन सकिन्छ, प्राधिकरणको तर्फबाट कुनै समस्या नरहेको बताइएको छ । उहाँले अम्बे स्टिल्स् सञ्चालित क्षेत्रमा अन्य उद्योग पनि खुल्ने र उक्त क्षेत्र औद्योगिक करिडोरका रुपमा विकास हुन लागेकाले त्यहाँ १३२ केभीको सवस्टेसन निर्माणको प्रक्रिया अगाडि बढाइएको बताए ।

    सवस्टेशन निर्माणका लागि जग्गा अधिग्रहण सुरु गरिएको छ । त्यसका लागि एशियाली विकास बैंकसँग सहुलितपूर्ण ऋण सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ । हाल सञ्चालनमा रहेको पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनबाट करिब १० सर्किट किलोमिटर १३२ केभी लाइन बनाएर १३२ केभीको सवस्टेसनमार्फत आगामी दिनमा उद्योगलाई बिजुली दिइने छ ।


    प्रकाशित : आइतबार, फाल्गुण २९ २०७८०९:२७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार