काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक (एमडी) का लागि तीन जनाको नाम सिफारिस भएको छ ।
कार्यकारी निर्देशकका लागि गठित छनोट तथा सिफारिस समितिले कार्यकारी निर्देशकका लागि आवेदन परेका १७ जनाबाट तीन जनाको नाम छनोट गरेको हो ।
सबैभन्दा बढी अंक प्राप्त गर्ने अंग्रेजी वर्णानुक्रमका आधारमा तीन जनाको नाम सिफारिस गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गत गठित छनोट तथा सिफारिस समितिले चण्डिकाप्रसाद भट्ट, जीवनप्रकाश सिटौला र उमेशप्रसाद थानीको नाम सिफारिस गरेको हो ।
समितिले सिफारिस गरेका भट्ट यसअघि निगमको कार्यकारी निर्देशक भइसकेका छन् । उनी हाल विशेष आर्थिक क्षेत्र (सेज) मा कार्यकारी निर्देशकको रुपमा कार्यरत छन् । सिटौला उद्योग विभागका पूर्वमहानिर्देशक र थानी सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का अध्यक्ष हुन् ।
समितिले मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी निर्देशिका, २०७८ बमोजिम तीन जनाको नाम सिफारिस गरिएको जनाएको छ । समितिले गरेको सिफारिसको आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई आगामी तीनवर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशकको रुपमा नियुक्त गर्नेछ ।
निगमको रिक्त कार्यकारी पदका लागि आपूर्ति मन्त्रालयले गत पुस २५ मा सूचना प्रकाशित गर्दै २१ दिनभित्र आवेदन दिन भनेको थियो । उक्त पदका लागि १७ जनाले आवेदन दिएका थिए । कार्यकारी निर्देशकका लागि सिफारिस गरिएको तीन जनासँगै विष्णुबाबु मिश्र, हरिभक्त शाही, प्राध्यापक डा लक्ष्मण पौडेल, लोकबहादुर खड्का, लोकराज पाठक, कृष्णप्रसाद यादव, तारानाथ पौडेल र चित्तरन्जन दास, रामदेव यादव, चण्डिकाप्रसाद भट्ट, पंकजकुमार दास, हरिवशं आचार्य, आनन्दप्रसाद चन्द, भुपेन्द्रप्रसाद अर्याल, सन्जय कुमारले दरखास्त पेश गरेका थिए ।
कार्यकारी निर्देशकका लागि गठित छनोट तथा सिफारिस समितिले निगमको एमडी हुनका लागि निगमको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानून विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको तथा कुनै पनि संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तिमा पाँच वर्षको अनुभव माग गर्दै दरखास्त आह्वान गरेको थियो ।

