खाँदबारी । सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो ।
शनिबार दिउँसो निर्माण सामग्री बाेकेको ‘लो वेट’ ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए । निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामग्री लिएर गएको तीनवटा ट्रक पुल भाँचिएपछि अरुण नदीमा खसेका छन् ।
ट्रकका चालक र सहचालक भने सकुशल नै रहेको मकालु गाउँपालिका–५ का कार्यपालिका सदस्य पुरन याम्फुले बताए । अरुण नदीको बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको छ । पुलको क्षमताभन्दा बढी सामग्री बोकेर एकै पटक तीनवटा ट्रक तर्ने क्रममा फुल भाँचिएको कार्यपालिका सदस्य याम्फुले बताए ।
तीनवटै ट्रक हाइड्रो पावरको निर्माण सामग्री लिएर वालुङतर्फ गएका थिए । पुलको मध्यभाग भाँचिएपछि पुलमा रहेका तीनवटै ट्रक नदीको बीचमा पुलमा अल्झिएको अवस्थामा रहेका छन् । चालक र सहचालकलाई भने स्थानीयले उद्धार गरेका छन् । २०७५ सालमा इप्सुवा हाइड्रपावरले अरुण नदीमा निर्माण सामग्री लैजान बेलिब्रिज निर्माण गरेको हो ।

