२०८३, कार्तिक १३ गते शुक्रबार

गलपासाे एमसिसी
माओवादी अध्यक्ष प्रचण्ड भन्छन्- यथास्थितिमा एमसिसी टेबल भए सरकार छाड्छाैं

माओवादी अध्यक्ष प्रचण्ड भन्छन्- यथास्थितिमा एमसिसी टेबल भए सरकार छाड्छाैं

‘ग्यारेन्टीका साथ गठबन्धन टुट्दैन भनेर शतप्रतिशत भन्न अप्ठ्यारो छ’


  • मेरोभ्यूज
  • माघ २९, २०७८ शनिबार

  • माओवादी अध्यक्ष प्रचण्ड भन्छन्- यथास्थितिमा एमसिसी टेबल भए सरकार छाड्छाैं

    काठमाडाैं । आसन्न संसद् बैठकमा यथास्थितिमै एमसीसी सम्झौता टेबल भएमा नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिने भएको छ । राताेपाटी अनलाइनसँग कुराकानी गर्दै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संशोधन वा परिमार्जन नगरी सम्झौता टेबल गरिए सरकारमा बस्न नैतिकरुपमा नमिल्ने  स्पष्ट पारेका छन् ।

    प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच  एमसीसी संसदमा टेबल गर्ने–नगर्नेबारे छलफल भएको थियो । प्रधानमन्त्री देउवाले आगामी बैठकमा एमसीसी टेबल गर्ने अडान राखेका थिए भने प्रचण्ड र नेपालले यथास्थितिमा टेबल नगर्न प्रधानमन्त्रीलाई भनेका थिए ।

    अध्यक्ष प्रचण्डले राताेपाटीसँग भनेका छन्, ‘परिमार्जन र संशोधनविना, राष्ट्रिय समझदारी र सहमतिको वातावरण नबनाइकन यसलाई अगाडि लान हुँदैन भन्ने अडान कायम छ । तर, अब सरकारले लाने नै भयो भने त सरकारले त्यो अधिकार राख्छ ।’

    सरकारले परिमार्जनविनै टेबल गर्ने अवस्थामा माओवादी पार्टीलाई सरकारमा बस्न नैतिकताले नदिने स्पष्ट पार्दै प्रचण्डले भनेका छन्, ‘त्यो अवस्थामा सरकारले प्रस्ताव लाने, भोटिङ हुने, त्यही सरकारभित्रको पार्टीलेचाहिँ विरोध गर्ने स्थिति बन्यो भने सरकारमा बस्न नैतिकरुपले मिल्दैन ।’

    एमसीसीका सम्बन्धमा नेकपा एमालेले खेलेको भूमिकाको पनि प्रचण्डले कडा शब्दमा आलोचना गरेका छन् । एमसीसीको समस्या योरुपमा गिजोलिनुमा एमाले नेतृत्व जिम्मेवार रहेको प्रचण्डले आरोप लगाएका छन् । आपसी सम्वादका क्रममा केपी ओलीको विचार बुझ्दा एमालेले एमसीसीको पक्षमा मतदान नगर्ने आफूलाई लागेको प्रचण्डकाे भनाइ छ । 

    प्रचण्डले आफू वर्तमान सत्ता गठबन्धनलाई जोगाएरै अघि बढ्ने प्रयासमा रहेको बताए । तर, एमसीसीका कारण गठबन्धन टुट्दै टुट्दैन भनेर ग्यारेन्टी गर्न नसक्ने उनले स्पष्ट पारेका छन् । प्रचण्डले राताेपाटीसँग भनेका छन्, मैले इमान्दारितासाथ के भन्नुपर्छ भने विभिन्न शक्तिहरू, राजनीतिक दल र प्रवृत्तिहरू जसरी आ–आफ्नो इन्ट्रेष्ट अनुसार चल्न खोजिराखेको स्थिति छ, ग्यारेन्टीका साथ गठबन्धन टुट्दैन भनेर शतप्रतिशत भन्न पनि मलाई अप्ठ्यारो छ ।’

    आगामी चुनावमा एमाले माओवादी मिल्ने सम्भावना छ कि छैन भन्ने अर्को प्रश्नमा प्रचण्डले भनेका छन्, ‘म केपी ओलीजस्तो ढोकाबन्दवादी होइन ! मैले केपी ओलीजस्तो सोच्दिनँ । कमरेडै होइन भनेर उहाँले भन्दिनुभो । कमरेडै होइनन् भनेपछि उहाँले सप्पै ढोका बन्द गरेजस्तो देख्छु ।’

    एमसीसीका नाममा दबाव दिएर नेपालीहरूको मन नदुखाउन प्रचण्डले अमेरिकी अधिकारीहरूलाई सुझावसमेत दिएका छन् । प्रचण्डले भनेका छन्, ‘अमेरिकी अधिकारीहरूले भन्न थालिसक्नुभयो कि तपाईंहरूले यदि यसलाई गर्नुभएन भने चीनको प्रभावमा परेर नगरेको ठान्छौँ र हामी यसलाई गम्भीर रुपले लिन्छौँ भनिदिएपछि त हामी नेपाली पनि गम्भीर हुनुपर्ने स्थिति त बन्यो नि त ।’

    माओवादी अध्यक्ष प्रचण्डले अगाडि भनेका छन्, ‘अमेरिकाले संवेदनशील भएर नेपालका राजनीतिक पार्टीहरू  र मुख्यतः नेपाली जनताको मन जित्ने ढंगले प्रस्तुत हुनुपर्ने हो । हिजोआज जसरी भाषाहरू आइराखेका छन्, अमेरिकाजस्तो शक्तिले त्यसो भन्नुचाहिँ उचित होइन भन्ने सुझाव मेरो रहन्छ ।’

    एमसीसी, अमेरिकालाई प्रधानमन्त्री देउवा र आफूले लेखेको पत्रलाई लिएर भएको आलोचनातर्फ संकेत गर्दै प्रचण्डले गुनासोसमेत पोखेका छन् । माओवादी अध्यक्ष प्रचण्डले भने, ‘राष्ट्रिय एकता, स्वाधीनता नेपाली जनताको एकता खल्बलिएला कि भन्ने चिन्ताले कहिलेकाहीँ भाषा अलिकति नरमै प्रयोग गरेर भए पनि वातावरण बिग्रन दिन्न भन्दा मैले गल्ती गरेको हुन्छ र ? योचाहिँ कुरा क्लियर होस् ।’  


    प्रकाशित : शनिबार, माघ २९ २०७८०८:३३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार