काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिसम्बन्धी समस्या सदाका लागि अन्त्य गर्ने गरी कामलाई तीव्र बनाइएको बताएकी छिन् ।
धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं १९ साविकको वेगाशिपुर गाविसस्थित गाउँब्लकमा रहेका नागरिकलाई लालपूर्जा वितरण गर्दै उनले कोहीपनि वास्तविक भूमिविहिन भूमि पाउनबाट वञ्चित हुन नपरोस् भनेर अभियान नै सञ्चालन गरेर सरकारले लालपूर्जा वितरणको काम शुरु गरिएको बताइन् ।
उनले राष्ट्रिय भूमि आयोगले हालसम्म २८ जिल्लामा काम शुरु गरिसकेको र ६८ स्थानीय तहसँग सम्झौता गरेर काम भइरहेको पनि जानकारी दिइन् । यसअघि मन्त्री श्रेष्ठले महोत्तरीको रामगोपालपुुर, सप्तरीको अग्निसाइर कृष्णसवरण र तिरहुत गाउँपालिका, चितवनको इच्छाकामना गाउँपालिका र सिरहाको गाउँब्लकमा रहेकालाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेकी थिइन् ।

